शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा काँग्रेसको आन्तरिक द्वन्द्वका कारण माओवादी र समाजवादीलाई प्रेसर

गठबन्धन टुटाउने रणनीतिमा एमाले
शनिबार, ०३ वैशाख २०७९, ०९ : ३१
शनिबार, ०३ वैशाख २०७९

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा भएको सल्यानमा कसरी तालमेल गर्ने भन्नेबारे सत्तारुढ गठबन्धनले छलफल नै सुरु गरेको छैन । सत्तारुढ गठबन्धनको केन्द्रीय बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय भए पनि सल्यानमा भने गठबन्धनको जिल्लास्तरीय बैठकसमेत बस्न सकेको छैन ।

नेपाली काँग्रेसको आन्तरिक द्वन्द्वका कारण गठबन्धनभित्रका दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई प्रेसर भइरहेको छ । १० वटा स्थानीय तह रहेको सल्यानमा ०७४ को निर्वाचनमा एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडामा आफ्नो वर्चश्व जमाएको थियो ।

यस्तै, काँग्रेसले तीन प्रमुख, तीन उपप्रमुख र २३ वडामा जित हासिल गर्दा माओवादी केन्द्रले प्रमुख/उपप्रमुखमा ३/३ र वडामा काँग्रेसभन्दा केही धेरै स्थानमा जितेको छ । यस जिल्लामा काँग्रेसका दुई समूहबीच लडाइँ छ । गठबन्धनभित्र तालमेल नभएको अवस्थामा एमालेलाई फाइदा पुग्ने देखिन्छ । त्यसैले गठबन्धनलाई टुटाउने रणनीतिमा एमाले देखिन्छ । नेपाली काँग्रेस सल्यानका एक नेताले भने, ‘हाम्रो पार्टीभित्रकै एउटा पक्ष एमालेसँग नजिक छ । अर्को कुरा, यहाँ एमालेको रणनीति कति जित्नेभन्दा पनि गठबन्धनलाई कसरी टुटाउने भन्ने छ ।’

नेकपा एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र एमालेका सह–इञ्चार्ज गुलाबजङ्ग शाहले आ–आफ्नै दाबी गरिरहेका छन् । शाहले ज्वालालाई सल्यानमा एक सीट जितेर देखाउन चुनौती दिएका छन् । माओवादीका प्रदेश उपाध्यक्ष एवं सल्यानका नेता कर्ण बहादुर बुढाथोकी नेकपा एकीकृत समाजवादी–माओवादी केन्द्रबीच केही अनौपचारिक छलफल भए पनि काँग्रेसका कारण गठबन्धनको बैठक बस्न नसकेको बताउँछन् । उनले भने, ‘माओवादी र नेकपा एकीकृत समाजवादी मिलेर अघि बढ्दा काँग्रेसले एमालेसँग तालमेल गर्न सक्ने देखिन्छ । एमालेले काँग्रेसका केही स्थानीय नेतासँग लबिङ थालिसकेको छ ।’

नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति निमबहादुर ओली एक्लाएक्लै चुनावमा जाँदा पनि काँग्रेसले धेरै ठाउँमा जित्ने दाबी गर्छन् । ‘तीन वटा दल मिल्दा एमाले नराम्रोसँग पराजित हुन्छ,’ उनले भने, ‘तर पार्टीभित्रै द्वन्द्व छ । केही साथीहरू गठबन्धन गर्ने र कोही नगर्ने पक्षमा आवाज उठाइरहेका छन् ।’

यस्तो छ ०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलहरुको अवस्थाः

शारदा नगरपालिका

यो नगरपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा मेयर/उपमेयरमा नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसका सुरेश अधिकारीले ४ हजार २१८ मत ल्याएर मेयरमा जित हासिल गर्दा एमालेका रामकुमार खड्गीले ३ हजार ३४४ र माओवादी केन्द्रका प्रमोदकुमार श्रेष्ठले २ हजार ५७९ मत प्राप्त गरेका थिए ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै मत पाएको छ । राप्रपाका मनोजकुमार प्रधानले २ हजार ४०० मत ल्याएका थिए ।

उपप्रमुखमा काँग्रेसकै सावित्रा बस्नेतले ४ हजार १८० मत ल्याउँदा एमालेकी सरिता हमाल मल्लले ४ हजार ३७, माओवादीकी झरना बुढाथोकीले २ हजार ५०५ मत ल्याएकी थिइन् ।

१५ वटा वडा रहेको यो पालिकामा काँग्रेसले ९, एमालेले ४, माओवादी र राप्रपाले १/१ वडा जितेका छन् ।

बागचौर नगरपालिका

यो नगरपालिकामा माओवादीको वर्चश्व छ । मेयरमा माओवादीका लोकमान बुढा ५ हजार १२१ मत पाएर निर्वाचित हुँदा एमालेका लोकप्रसाद डाँगीले ३ हजार ६८० र काँग्रेसका गोरखबहादुर खत्रीले ३ हजार ५६५ मत पाएका थिए ।

उपप्रमुखमा माओवादीकै कल्पना पुन ५ हजार २१५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी ओकादेवी खत्रीले ३ हजार ५९० र काँग्रेसकी मेनका चन्दले ३ हजार ४९६ मत ल्याएकी थिइन् ।

१२ वडा वडा रहेको यस नगरपालिकामा ८ वटा माओवादीले जितेको छ भने काँग्रेस र एमालेले २/२ वटामा जितेका छन् ।

बनगाड कुपिन्डे नगरपालिका

यो नगरपालिकामा एमालेका गोविन्दबहादुर पुन ५ हजार ७७ मत पाएर मेयरमा निर्वाचित भएका थिए । यस्तै, माओवादीका कर्णबहादुर बुढाथोकीले ४ हजार ९८४ ल्याएका थिए ।

उपमेयरमा माओवादीका मञ्जु यरी ४ हजार ८६२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दीपेन्द्र विष्टले ४ हजार ४५५ मत ल्याएका थिए । यहाँका ७ वडामा माओवादी, ४ वडामा एमाले र एउटामा काँग्रेसले जितेको छ ।

ढोरचौर गाउँपालिका

यो पालिकामा एमालेको वर्चश्व देखिन्छ । पालिकाको अध्यक्षमा एमालेका चित्रबहादुर चलाउनेले एक हजार ९२५ मत पाएर निर्वाचित हुँदा माओवादीका नरवीर चलाउनेले एक हजार ५३८ मत र काँग्रेसका नरवीर चलाउनेले एक हजार ३१३ मत पाएका थिए ।

उपाध्यक्षमा एमालेकै पुष्पाकुमारी बोहोराले एक हजार ९४६ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी भूमी बुढाथोकीले एक हजार ५९९ र काँग्रेसकी विमला रेउलेले एक हजार २७८ मत ल्याएकी थिइन् । यहाँ एमाले र माओवादीले २/२ र काँग्रेसले एउटा वडामा जितेको छ ।

त्रिवेणी गाउँपालिका

अघिल्लो निर्वाचनमा यो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार भुवबहादुर डाँगीले अध्यक्षमा जितेका थिए । उनले २ हजार ७६५ मत ल्याउँदा एमालेका लोकेन्द्र सिंहले २ हजार ३१७, काँग्रेसका मानबहादुर डाँगीले २०१ र नेकपा मालेका उषा वलीले ६७८ मत ल्याएका थिए ।

उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले २ हजार ६४५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी पवित्रा केसीले २ हजार ३७७ र माओवादी केन्द्रकी लिलावती बुढाले ७६० मत पाइन् ।

यहाँ ४ वटा वडामा काँग्रेस र २ वटामा एमालेले जितेको थियो ।

कुमाख गाउँपालिका

यो पालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिलमाया बुढामगरले ३ हजार ६७३ मत पाएर निर्वाचित हुँदा एमालेका भैरव शाहले दुई हजार १२८ र काँग्रेसका विवेकसिंह राठौरले एक हजार ९३९ मत पाए ।

उपाध्यक्षमा माओवादीकै डिल्लीराज जैसी ३ हजार ८१८ मतसहित विजयी भए । उपाध्यक्षमा एमालेका शान्ति चन्दले २ हजार ७५ र काँग्रेसकी उर्मिला रानाले १८३ मत ल्याएकी थिइन् ।

पाँच वडाध्यक्ष माओवादीले जित्दा एमाले र काँग्रेसले १/१ वडामा जित हासिल गरेका थिए ।

कपुरकोट गाउँपालिका

यो पालिकामा एमालेका भिमबहादुर सेन तीन हजार १५२ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका दुर्गाबहादुर गिरीले एक हजार ४६७ र माओवादीका प्रकाश भरारीले दुई हजार १३५ मत पाएका थिए ।

उपाध्यक्षमा पनि एमालेका तिला बुढा ३ हजार १७९ मतका साथ निर्वाचित हुँदा माओवादीकी एलिना रानाले एक हजार ८६८ र काँग्रेसकी ओकी महताराले एक हजार ६७४ मत ल्याइन् ।

यहाँ ३ वडाध्यक्ष एमाले, दुई माओवादी र एउटा काँग्रेसले जितेका छन् ।

कालिमाटी गाउँपालिका

यो पालिकामा एमालेका दानबहादुर खत्रीले दुई हजार ९१२ मत पाउँदा माओवादीका पुरुषोत्तम भट्टराईले दुई हजार ३६३ र काँग्रेसका भरत पुनले एक हजार ९२९ मत पाएका थिए ।

उपाध्यक्षमा एमालेका सनसिल्ता वली (डिसी) ले२ हजार ८४४ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी प्रीति जिसी (डिसी)ले  २ हजार ३६६ र काँग्रेसकी कमला अधिकारीले १९१७ मत ल्याएकी थिइन् । यहाँ ५ वडामा  एमालेले जित्दा माओवादी र काँग्रेसले १/१ मा जितेका छन् ।

दार्मा गाउँपालिका

यस गाउँपालिकाको अध्यक्षमा माओवादीका निमबहादुर केसीले ३ हजार ६९४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका  रामचन्द्र केसीले दुई हजार ७७१ मत पाए ।

उपाध्यक्षमा माओवादीकै टीका शर्मा ओलीले ३ हजार ६९५ मत ल्याएर निर्वाचित हुँदा एमालेका दलबहादुर केसीले २ हजार ६१९ मत ल्याएका थिए । यहाँ ५ वडामा माओवादी र एउटामा एमालेले जितेको हो ।

छत्रेश्वरी गाउँपालिका

यो पालिकाको अध्यक्षमा काँग्रेसका सन्तोष केसी दुई हजार ९२२ मत पाएर निर्वाचित हुँदा एमालेका ओजबहादुर बुढाथोकीले दुई हजार ७०२ र माओवादीका चित्रबहादुर केसीले दुई हजार १७२ मत पाएका थिए ।

उपाध्यक्षमा काँग्रेसकी सीता केसीले २ हजार ८१४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी बुद्ध कुमारी खत्रीले २ हजार ६६९, राप्रपाकी शिला बुढाथोकीले २ हजार १०७, माओवादीकी राधा कुमारी घर्तीले २ हजार १०७ मत पाएकी थिइन् ।

यहाँका ३/३ वडामा काँग्रेस र एमालेले जितेका छन् भने एउटामा माओवादीले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप