बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३४ भोट ल्याउनेले मेयर दाबी गर्दैछन् : माधव नेपाल

शनिबार, ०३ वैशाख २०७९, १८ : २७
शनिबार, ०३ वैशाख २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा चुनावी तालमेल र सिट बाँडफाँडमा वास्तविकता नबुझी तलका कार्यकर्ताको मात्रै कुरा सुनेर निर्णय गरिए अप्ठेरो अवस्था आउन सक्ने बताएका छन् ।  शनिबार काठमाडौँमा पार्टी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनभित्रकै दलहरूबीच वास्तविकताभन्दा बाहिर गएर दाबी गर्ने गरेकाले गाह्रो भएको बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धनभित्र २०७४ मा एमालेले जितेका स्थानमा पहिलो हक लाग्ने पनि बताए । ‘२०७४ मा एमालेले जितेका स्थानमा हाम्रो पहिलो हक लाग्छ’नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले दावी गर्दैछ भनेपछि नकारात्मक टिप्पणी भएको भन्दै गठबन्धनको बैठकमा आफूले पोखराको तथ्य अघि सारेको बताए । उनले पोखरमा महानगरमा मात्रै आठ हजार सङ्गठित र क्रियाशील सदस्यहरू रहेको बताए । ‘अझै जनवर्गीय संगठनका सदस्य जोड्ने हो भने १२ हजार पुग्छ । अनि एकीकृत समाजवादीको केही अर्थ छैन भन्ने ?’, गठबन्धनका नेताहरूबाटै हुने टिप्पणीबारे नेपालले कटाक्ष गरे । 

अध्यक्ष नेपालले गत चुनावमा हालको गठबन्धनमा रहेको एउटा पार्टीले एउटा पालिकामा १३४ भोट पाएको तर अहिले सो पार्टीले पालिका प्रमुख दाबी गरेको चर्चा गरे । ‘एउटा सिङ्गो पालिकामा १३४ मत ल्याउनेले अहिले हाम्रो मेयर हुनुपर्छ भन्दो रहेछ । त्यसैले अलि गाहे छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धनभित्र सिट तालमेल गर्ने कुरा गरिरहेको भन्दै वास्तविकता भन्दा पनि तलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति भयो भने अप्ठेरो हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप