बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी फुटको असर छैन, गठबन्धनबिनै जित्छु : विजय सुवेदी

‘आर्थिक क्रान्तिको सुरुवात भरतपुरबाट गर्छु’
आइतबार, ०४ वैशाख २०७९, ०८ : ४१
आइतबार, ०४ वैशाख २०७९

आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ । एमालेको तर्फबाट हाल बागमती प्रदेश सभा सदस्य रहेका विजय सुवेदी भरतपुर महानगर प्रमुखका लागि एमालेबाट उम्मेदवार हुने पक्का भएको छ । 

भरतपुर महानगर प्रमुखको उम्मेदवारीका लागि सत्ता गठबन्धन दलबाट भने माओवादी केन्द्र र काँग्रेस दुवै दलले आकांक्षा देखाएका छन् । हाल महानगर प्रमुख रहेकी रेनु दाहालले फेरि सोही पदमा दोहोरिने इच्छा व्यक्त गरेकी छिन् भने अघिल्लो पटकको चुनावमा पनि उनलाई जिताउन सहयोग गरेको काँग्रेसले यसपटक महानगर प्रमुखको उम्मेदवार आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । 

एमालेका प्रस्तावित उम्मेदवार सुवेदीले चितवनका जनता सचेत नागरिक भएकोले गठबन्धन नभए पनि आफूले चुनाव जित्नेमा विश्वस्त रहेको दाबी गरिरहेका छन् । प्रस्तुत छ एमालेका प्रस्तावित उम्मेदवार सुवेदीसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको यो कुराकानी : 

बागमती प्रदेश सभा सदस्य रहँदैको अवस्थामा किन मेयर हुने चाहना राख्नुभयो ? 

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पनि मेरो चाहना भरतपुर मेयरको नै थियो । त्यतिबेला म भन्दा पनि अग्रजले पनि इच्छा राख्नुभयो । पार्टी र मेरोबीचमा कुरा हुँदा उहाँलाई नै त्यतिबेला मेयरमा उम्मेदवार बनाउने सहमति भएको थियो । त्यसकारण त्यो बेला मेरो उम्मेदवारी दिने कुरा भएन । त्यसपछि त्यतिकै किन बस्ने भनेर मैले प्रदेश सभामा उम्मेदवारी दिएको थिएँ । यस क्षेत्रका जनताले मलाई विश्वास गरेर प्रदेश सभामा पठाउनुभयो । खासगरी परिवर्तनका लागि म केन्द्र, प्रदेश र स्थानीय सरकारमा नजिक रहेर जनताको दैन्दनिक समस्या समाधान गर्न तयार छु । भरतपुर महानगरपालिका देशको केन्द्र भागमा पर्छ । विभिन्न स्रोत साधनले सम्पन्न छ । यहाँ एकदमै जागरूक र सचेत नागरिक हुनुहुन्छ । यो ठाउँबाट सिङ्गो प्रदेशलाई नै सन्देश दिने गरी अथवा नेपाललाई नै सन्देश दिने गरी विकासको एउटा नयाँ मोडल सिर्जना गर्न सकिन्छ, केही काम गर्न सकिन्छ र यस क्षेत्रका जनताको सेवा पनि गर्न सकिन्छ भनेर मैले प्रदेश सभा सदस्य भन्दा महानगरको नगरप्रमुखको रूपमा जिम्मेवारी लिएर काम गर्न साथीभाइ, यस क्षेत्रका प्रबुद्ध व्यक्तिले यो जिम्मेवारी लिँदा राम्रो हुन्छ भनेर सल्लाह सुझाव पनि दिनुभयो । त्यसै अनुसार मैले उम्मेदवारी दिएको हुँ ।

भरतपुर महानगरमा एमालेबाट मेयरका लागि थुप्रै आकाङ्क्षी थिए, मेयरका लागि तपाईंले नै कसरी समर्थन पाउनुभयो ? 

औपचारिक रूपमा त्यस्तो धेरै आकाङ्क्षी थिएनन् । यसअघि यहाँको उम्मेदवार रहनुभएका देवी ज्ञवालीजी यहाँको इन्चार्ज एवं जिम्मेवार नेता हुनुहुन्छ । पार्टीमा पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँले सबैसँग सल्लाह गर्नुभयो । इच्छा राख्ने अरू आकाङ्क्षी साथीहरूको पनि इच्छा बुझ्नुभयो र अहिलेको सन्दर्भमा मलाई नै अगाडि बढाउँदा राम्रो हुन्छ भनेर उम्मेदवारमा मलाई नै प्रस्ताव गर्नुभयो । यस्तै यस क्षेत्रबाट संघीय संसद्मा लोकप्रिय मत पाएर जाने सांसद कृष्णभक्त पोखरेलले पनि प्रस्ताव गर्नुभयो । अरू सबै साथीहरूले समर्थन गरेर मेरो उम्मेदवारी प्राप्त भयो । मेरो विषयमा उम्मेदवारी छान्ने काम त्यस्तो जटिल थिएन । हलमा छलफल गएर कोही इच्छुक हुनुहुन्छ भने नाम दर्ता गर्नुस् छलफल गरौँ भन्दा अरू कसैले आफ्नो नाम अगाडि ल्याउनु भएन । उम्मेदवारका रूपमा मेरो नाम नै सर्वसम्मतिमा अनुमोदन भएको हो । 

भरतपुरमा सत्तापक्ष गठबन्धन दल तपाईंलाई कत्तिको भारी पर्ने अनुमान गर्नुभएको छ ? चुनौती कत्तिको महसुस छ ? 

चुनावको इतिहास हेर्दा २०४८ सालमा जस्तो परिवेश थियो, २०५१ सालमा त्यो परिवर्तन भयो । २०५१ को परिवेश २०५६ मा फरक थियो । २०५६ सालभन्दा २०६४ को फरक थियो । २०६४ भन्दा २०७० को फरक थियो भने २०७४ को चुनावी नतिजा त्योभन्दा फरक थियो । भरतपुरको चुनावको नतिजा हेर्दा पनि समय क्रममा कहिले कसले कहिले कसले जित्ने क्रम हुँदै आएको छ । हिजो कसको के थियो भन्ने आधारमा आज त्यही हुँदैन । यहाँ अहिले ठूलो सङ्ख्यामा युवा मतदाता आउनुभएको छ । अर्कोतिर चितवनमा सचेत र जागरूक मतदाता हुनुहुन्छ । कस्तो किसिमको नेतृत्व, कस्तो किसिमको शासन पद्धतिलाई अगाडि बढाउने, के गर्दा राम्रो हुन्छ भनेर चितवनवासीले दाज्नुहुन्छ । यस हिसाबले पनि सबै पार्टी एक्ला एक्लै वा कोही कसैसँग मिलेर चुनावमा जाँदा त्यसले खास फरक पर्दैन । सबै सार्वभौम सम्पन्न नागरिक हुन्, सबैले आफ्नो विवेक अनुसार मत हाल्नुहुन्छ । गठबन्धन बनाउने र नबनाउने कुराले फरक पार्दैन । गठबन्धन दल हुँदा सजिलो र एक्लै चुनाव लड्दा अप्ठेरो भन्ने हुँदैन । फेरि हाम्रो यहाँ के छ भने मिल्नेलाई गाह्रो पर्ने र नमिल्दा खेरी जितिने अवस्था छ । 

अघिल्लो पटक महानगरको चुनाव भयो, काँग्रेस माओवादीको गठबन्धन थियो, यता एमालेबाट देवी ज्ञवाली एक्लै चुनाव लड्नुभएको थियो । पहिलो राउण्डमा त देवीजीले जित्नु नै भएको थियो । पछि १६ नम्बर वडामा चुनाव भयो । एमाले र माओवादी एकातिर, काँग्रेस अर्कोतिर भयो । तर काँग्रेसले जित्यो । भरतपुरमा गठबन्धन त्यति फापेको छैन । गठबन्धन हुँदैमा चुनाव जितिन्छ भन्ने छैन, चितवनका जनताले विवेकको मत हाल्छन् ।  

तर अर्कोतिर तपाईंहरूलाई पार्टी फुटको पनि असर पर्ला नि ? 

मुख्य रूपमा पार्टी तलबाट फुटेको हैन, बिचार सिद्धान्त नमिलेर फुटेको पनि हैन, अनि फुटबाट फरक पर्ने कारण के रह्यो र ? आफ्नो स्वविवेकको मत हाल्न सबै स्वतन्त्र छन् । मत हाल्न कसैले कसैलाई बाध्यता बनाउँदैन । सबैले आफ्नो स्वविवेकको प्रयोग गर्नुहुन्छ । त्यसकारण चितवनमा पार्टी विभाजनको कुनै असर पर्दैन । म सबैलाई सम्मान गर्छु । सबैले आफ्नो पार्टीमा आस्था विश्वास राखौँ र भरतपुर महानगर बनाउनका लागि स्वविवेक प्रयोग गरौँ भन्न चाहन्छु ।

भरतपुरमा राप्रपा वा अन्य कुनै दलसँग तपाईंहरूको चुनावी तालमेलको सम्भावना, अवस्था कस्तो छ ? त्यसका लागि गृहकार्य भइरहेको छ कि ? 

अहिलेसम्म त खास केही छलफल भएको छैन, पछि घटनाक्रमहरू बढ्दै जाँदा के हुन्छ, अहिलेसम्म छलफल भएको छैन । 

यदि तपाई भरतपुरमा निर्वाचित हुनुभयो भने तपाईंले गर्ने मुख्य काम के के हुन् ?

भरतपुर नेपालको केन्द्र भागमा छ । नारायणी, राप्ती नदी र विश्व सम्पदा सूचीमा सुचीकृत राष्ट्रिय निकुञ्ज छ । उर्वरा भूमि छ । प्राकृतिक स्रोत साधनहरूले भरिपूर्ण छ । यो ठाउँलाई एउटा अन्तर्राष्ट्रिय मापदण्डको सहरको परिकल्पना गरेर त्यस अनुसारको सबै विद्वान बुद्धिजीवीहरू, जसले भरतपुर महानगरलाई माया गर्नुहुन्छ, उहाँहरू सबैको साथ लिएर भरतपुर महानगरको एउटा व्यवस्थित गुरुयोजना बनाउँछौँ । जुन गुरुयोजना अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । महानगरपालिका भित्र निर्माणका जति पनि संरचना हुन्छन्, त्यसलाई हामी भरतपुर मापदण्ड बनाउँछौँ । चाहे सडक हुन, चाहे विद्यालय हुन्, चाहे अस्पतालहरू हुन, पाटी, पौवा, पुल जे जे संरचना हुन्छन्, त्यसलाई हामी भरतपुर मापदण्ड अनुसार निर्माण गर्छौँ । 

हामीले विकासका मुख्य कामहरू जे जे गर्छौँ त्यो भरतपुरवासीहरूका लागि हो । ३ लाख ६९ हजार ३ सय ७७ नागरिक यहाँ बस्नुहुन्छ । सबैभन्दा पहिला उहाँहरूको अभिलेख राखिनेछ । गरिबीको रेखामुनि रहेका जति पनि नागरिक हुनुहुन्छ, भरतपुरवासीहरू कोही पनि लगाउन नपाउने, खान नपाउने, स्वास्थ्य उपचार नपाउने अवस्था हुँदैन । उनीहरूका लागि हामी न्यूनतम व्यवस्था गर्नेछौँ । 

सुरक्षाको प्रबन्ध गर्नेछौँ । गरिबीको रेखामुनि रहेका मानिसहरूको हामी गणना गर्नेछौँ र त्यसपछि उहाँहरूलाई व्यवस्थापन गर्नेछौँ । व्यापक रोजगारी सिर्जना गर्ने गरी हामी योजनाहरू बनाउनेछौँ । वातावरण प्रदूषण नगर्ने खालका उद्योग व्यवसायहरू सञ्चालन गर्नेछौँ । विश्वभर रहेका नेपाली महानुभावहरूलाई भरतपुर आउने वातावरण सिर्जना गर्नेछौँ । अहिलेसम्म एक हिसाबले राजनीतिक क्रान्ति भयो, तर आर्थिक क्रान्ति भएको छैन । मानिसहरूको जीवनमा परिवर्तन आएको छैन । त्यसकारण आर्थिक क्रान्तिको सुरुवात हामी भरतपुरबाट गर्छौँ । मानिसहरूको जीवनस्तरमा परिवर्तन गर्नका लागि हामी जसले जे गर्न चाहन्छन्, त्यस किसिमको तालिम प्रदान गर्छौँ । त्यसपछि हामी रोजगारीहरूको सिर्जना गर्छौँ । उहाँहरूले गर्ने व्यवसाय हामी गर्न लगाउँछौँ । त्यसका लागि ऋण धन, सामग्रीको उपलब्ध गराएर एउटा लोककल्याणकारी नागरिक अधिकार भएको व्यवस्थित राज्यको परिकल्पना गरेर त्यो प्रकारको अनुभूति दिने गरेर हामी काम गर्छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप