बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको गठबन्धनमा गडबड, काँग्रेस र माओवादीसँग समाजवादी आक्रोशित

नेमकिपासँग तालमेल गरेर पहिलो पार्टी बन्ने दाउमा एमाले
आइतबार, ०४ वैशाख २०७९, ११ : ४९
आइतबार, ०४ वैशाख २०७९

 कर्णाली प्रदेशको जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा चारवटा स्थानीय तहका नेपाली काँग्रेसले आफ्नो वर्चश्व जमाएको थियो । जिल्लामा दोस्रो स्थानमा माओवादी केन्द्र र तेस्रो स्थानमा नेकपा एमाले देखिन्छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नयाँ दलका रुपमा रहेको नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा आफ्नो जनाधार रहेको दाबी गरेको छ । स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्तारुढ गठबन्धनले पनि जिल्लाका स्थानीय तहमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल गरिरहेका छन् । यद्यपि, माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीबीच तालमेलको खाका बन्न सकिरहेको छैन ।
एकीकृत समाजवादीले माओवादी केन्द्र र काँग्रेसले हैसियत भन्दा बढी भाग माग गरेको भन्दै आक्रोश पोखेको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं नेकपा एकीकृत समाजवादीका जुम्ला सहइञ्चार्ज पदम रोकायाले माओवादी र काँग्रेसले हैसियतभन्दा बढ्ता माग गरेकाले कुरा नमिलेको बताए ।

उनले भने, ‘भागवण्डाको कुरामा हामीलाई एउटामा मात्र सीमित राख्ने उनीहरुको लक्ष्य छ । हामी त्यो मान्दैनौं, बरु सिङ्गल लड्ने हो ।’ उनले एक्लाएक्लै लडेको खण्डमा नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तह जित्ने दाबी गरे । हामीले काँग्रेस÷माओवादीले ३÷३ र हामीलाई दुई स्थानीय तह दिनुस् भन्दा उहाँहरुले मान्नुभएको छैन,’ उनले रातोपाटीसँग भने ।

नेपाली काँग्रेस जुम्लाका नेता एवं पूर्व मन्त्री दीनबन्धु श्रेष्ठले पनि गठबन्धनमा कुरा नमिलेको बताए । यता एमाले भने नेमकिपासँग तालमेल गरेर पहिलो पार्टी बन्ने रणनीति बनाएको छ । एमालेका जुम्ला अध्यक्ष शान्तिलाल शर्माले गठबन्धन बने पनि नबने पनि एमालेलाई कुनै असर नपर्ने बताए ।

उनले रातोपाटीसँग भने, ‘एमाले विभाजन हुँदा सिङ्गो कमिटी समाजवादीमा गएको थियो । हामी पुनर्गठन गरेर अहिले अझ शक्तिशाली भएका छौं । र, चुनावमा नेमकिपा लगायतका साना दलसँग मिलेर जाने कुरा भइरहेको छ ।’ जुम्लामा एमालेले अहिलेसम्म ५ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा कुन दलको अवस्था कस्तो ?

चन्दनाथ नगरपालिका

कर्णाली प्रदेशकै एकमात्र महिला मेयर हुन् कान्तिका सेजुवाल । नेपाली काँग्रेसबाट चन्दनाथ नगरपालिकामा मेयरको उम्मेदवार बनेकी उनले २ हजार ८०६ मत पाएकी थिइन् ।

यस्तै एमालेका शान्तिलाल महतले २ हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले २ हजार १५ मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने (महत) २ हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन् । यस्तै, नेपाली काँग्रेसका जगतबहादुर खत्रीले एक हजार ७७४, एमालेका मेनुका रेग्मी (चौलागाई) एक हजार ७१०, नेमकिपाका धनञ्जय फडेराले ५७४ मत प्राप्त गरेका थिए ।

कनकासुन्दरी गाउँपालिका

यहाँ काँग्रेसका नरवीर रावत २ हजार ११३ मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए । माओवादीका राजजङ्ग हमालले एक हजार ८०४ र एमालेका गोपाल रोकायाले एक हजार ३५० मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि काँग्रेसकै उर्मिला खत्रीले एक हजार ९४१ मत ल्याएर निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रकी मिमसरा रानाले एक हजार ४३१ मत र एमालेकी सुशीला बडुवालले एक हजार ७ मत ल्याएकी थिइन् । यहाँ नेपाल मजदुर किसान पार्टीले पनि राम्रो मत पाएको छ ।

गुठिचौर गाउँपालिका

यो पालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारीले एक हजार ५९६ मतसहित निर्वाचित हुँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ र काँग्रेसका दानबहादुर बुढाले ६७९ मत ल्याएका थिए ।

उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडीले  एक हजार ५८५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी धनरुपा बुढाले एक हजार ३६५ र काँग्रेसकी सुमन बुढा बस्नेतले ५३७ मत प्राप्त गरेकी थिइन् ।

तातोपानी गाउँपालिका

यो गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपाने २ हजार ३९१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरतबहादुर शाहीले २ हजार ७० मत पाएका थिए । उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले एक हजार ९६४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईले एक हजार ९०६, काँग्रेसका कर्ण कठायतले ८८१ मत ल्याएका थिए । यो पालिकामा तत्कालीन नयाँ शक्ति पार्टी र नेमकिपाको पनि केही प्रभाव छ ।

तीला गाउँपालिका

यो गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याएर निर्वाचित हुँदा माओवादीका जंगबहादुर बस्नेतले एक हजार ७४४ र  काँग्रेसका कल्से रावतले एक हजार ५५५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने माओवादीकी विष्णुमाया बुढाले एक हजार ७७४मत सहित निर्वाचित हुँदा एमालेकी विष्णुकली रावतले एक हजार ६१३ र काँग्रेसकी डिल्ली कुमारी हमालले एक हजार ६०३ मत ल्याएकी थिइन् । यहाँ नेमकिपा चौथो स्थानमा छ ।

पातारशी गाउँपालिका

यो पालिकाको अध्यक्षमा काँग्रेसका लक्षीमन बोहोरा २ हजार ३११ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले एक हजार ९२२ र एमालेका हंसबहादुर रोकायले ५७० मत मात्र प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पुन्नकली महतराले २ हजार ७ मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रकी जनमाया रोकायाले एक हजार ८५५ मत र एमालेकी रम्बा भण्डारीले ८६७ मत प्राप्त गरेकी थिइन् ।

सिञ्जा गाउँपालिका

यो पालिकाको अध्यक्षमा काँग्रेसका देवलसिंह रावल एक हजार ४३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार २०३, माओवादी केन्द्रका हिम्मत खत्रीले एक हजार १६३ र एमालेका नन्दराम रोकायाले एक हजार १४० मत ल्याएका थिए ।

उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले एक हजार ५०४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी रजकन्या शाहीले एक हजार १६५, माओवादीकी सितली रोकायाले एक हजार १४५, र नेमकिपाकी कृष्णमाया शाहीले ८७९ मत प्राप्त गरेका थिए ।

हिमा गाउँपालिका

यस गाउँपालिका अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा भएको थियो । माओवादीका रजबहादुर शाहीले तीन मतले एमालेका उम्मेदवारलाई हराएका थिए । शाहीले एक हजार ३१७ मत ल्याएर निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले एक हजार ३१४ मत ल्याएका थिए ।

अध्यक्षमै काँग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार २२२ मत पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकायाले एक हजार ३२७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी चुक्की शाही एक हजार एक हजार १८५, काँग्रेसकी सुर्पना शाहीले एक हजार १२५ र नेमकिपाका बिर्ष बहादुर रावतले २६६ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप