शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी–कमल सहकार्य, एकतासम्म पुग्ला ?

आइतबार, ०४ वैशाख २०७९, १२ : ३३
आइतबार, ०४ वैशाख २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति  भएको छ । दुई नेताबीचको ‘राजनीतिक सहकार्य’ नयाँ भने होइन । तत्कालीन राप्रपामा हुँदा कट्टर हिन्दुवादी र राजावादी भएर पनि थापाले ओलीसँग सुमधुर सम्बन्ध राखेका थिए ।

२०६२–०६३ सालको जनआन्दोलनपछि राजावादी पार्टी गठन गरेका थापा २०७० को चुनावबाट राजनीतिमा शक्तिशाली भएर उदाए । दोस्रो संविधानसभामार्फत उनको तत्कालीन पार्टी राप्रपाले समानुपातिकमा २४ सिट ल्याएसँगै उनले पटक–पटक सत्ताको स्वाद पनि चाखे । तर यसले थापामाथि हिन्दुत्व र राजसंस्थाको एजेण्डा बोकेर गणतान्त्रिक सरकारमा सहभागी भएको आरोप मात्रै लागेन, त्यही ‘लफडा’ले उनको पार्टीमा विग्रहसम्म आयो । तत्कालीन राप्रपासँग एकतापछि २७ सिटसम्म भएको त्यो बेलाको राप्रपा आन्तरिक विवादकै कारण विभाजित मात्रै बनेन, थापाको सत्तालिप्साका कारण ‘बदनाम’ भएर २०७४ को संघीय निर्वाचनमा नराम्ररी पराजित बन्न पुग्यो । एमालेसँगको तालमेलकै कारण झापामा राजेन्द्र लिङ्देनले एक सिट जित्नुबाहेक कुनै उपलब्धि हात लागेन । ‘थ्रेस होल्ड’ समेत कटाउन नसकेका कारण पार्टीले राष्ट्रिय हैसियत पनि प्राप्त गर्न सकेन । 

०७४ सम्म आइपुग्दा ओली र कमल थापाको सम्बन्ध सुमधुर भइसकेको थियो । ओलीसँगको निकटताकै कारण २०७२ साउनमै थापा उपप्रधानसहित परराष्ट्र र संघीय मामिलामन्त्री बनेका थिए । २०६२–०६३ को जनआन्दोलनपछिको प्रतिकुल अवस्थामा थापालाई सरकारमा पहिलो ब्रेक ओलीले नै दिएका थिए । त्यसपछि पनि थापा ०७३ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि सहभागी भए । लगत्तै २०७४ असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी सहभागी भए । तीन पटक फरक तीन पार्टी नेतृत्वको सरकारमा सहभागी भए पनि थापाको निकटता भने ओलीतिरै ढल्कियो ।

दुई फरक राजनीतिक एजेण्डा बोकेको पार्टी भए पनि थापा र ओलीबीच २०७४ को स्थानीय र संघीय तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको थियो । चुनावी तालमेलअनुसार केही स्थानमा राप्रपालाई छाडेर देशभर राप्रपाको मत एमालेले पाएको थियो ।

प्रतिनिधिसभा चुनावअघिको समय र त्यसपछिको विभिन्न कालखण्डमा थापाले ओलीको प्रशंसासमेत गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली–थापाबीच थप निकटता बढेको थियो । थापाले ओलीको कदमको बलियो रूपमा समर्थन गरेका थिए । थापाले त्यतिबेला ओली नेतृत्वको सरकारमा सहभागीसमेत हुन खोजेका थिए । तर, पार्टीभित्र तीव्र अन्तरविरोध र बाहिरबाट समेत थापाको ‘सत्तालिप्सा’ माथि प्रश्न उठाउँदै आलोचना भएपछि उनी ‘ब्याक’ भएका थिए ।

थापाले सार्वजनिक रूपमा समेत ओलीको प्रशंसा गर्ने थिए । चितवनमा गत मङ्सिरमा सम्पन्न एमालेको महाधिवेशनमा थापाले ओलीलाई राष्ट्रवादी नेता भन्दै प्रशंसा गरेका थिए । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए । उनले ओली दृढ अडानका साथै राष्ट्रवादी सोच भएको व्यक्ति रहेको बताएका थिए ।

उता ओलीले पनि कमल थापाको पक्ष लिएर अभिव्यक्ति दिँदै आएका छन् । नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन कार्यक्रममा ओलीले राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिँदै उनी राप्रपाको नेतृत्वमा फिट नभएको सन्देश दिन खोजेका थिए । उसो त ओलीले प्रतिनिधिसभा विघटनको समय नारायणहिटीको आँगन दरबारमार्गमा आमसभा गरेर ‘अर्थपूर्ण’ सन्देश दिन खोजेका थिए । कमल थापाको राजावादी एजेण्डा ट्रयाकबाहिर जाँदै गर्दा ओलीले पनि नारायणहिटीको आँगनमा कार्यक्रम गरेर त्यस्तै सन्देश दिन खोजेको कतिपयको टिप्पणी थियो । तर, ओलीले त्यसको खण्डन गर्दै आफू गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्टीकरण दिएका थिए ।

यसबीचमा कमल थापा भने आफूले लामो समयदेखि नेतृत्व गर्दै आएको पार्टीको बागडोर गुमाए । महाधिवेशनमा पराजित भएपछि थापाले दरबारले आफूलाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाएका थिए । यो विषयमा राप्रपाको नयाँ नेतृत्वले छानबिन गर्नुपर्ने माग थापाले गरे पनि राजेन्द्र लिङ्देनले त्यसलाई ठाडै अस्वीकार गरिदिए । त्यसपछि पार्टीमा बस्ने ठाउँ नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थापाले फागुन ७ गते लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपाललाई पुनर्गठन गरेका थिए । त्यसयता सांगठनिक कार्यहरुमा सक्रिय थापाले ओलीसँग वार्ता गरेर चैत ३० मा सूर्य चिह्नमै चुनाव लड्ने सहमति गरेका हुन् ।

के थापाले एमालेमा पार्टी मिलाउलान् ?

हाल चुनावी तालमेल गर्ने निर्णय लिएका थापाले निकट भविष्यमा पार्टी नै एमालेमा विलय गराउने गरी छलफल अघि बढाएको एमाले स्रोतको भनाइ छ । तर, यो प्रक्रियाले पूर्णता पाउन लामो समय लाग्नसक्ने बताइएको छ । ‘स्थानीय तह निर्वाचनमा राप्रपा र एमाले मिलेर लड्नेछन् । त्यसपछि एकता प्रक्रियाले गति लेला’, ती नेताको भनाइ छ ।

कमल थापा निकटस्थहरूले पनि पूर्वपार्टी राप्रपाका नेता कार्यकर्ता तान्नका लागि भविष्यमा एमालेसँग एकता गर्ने भएकाले बेलैमा पार्टीमा आउन भन्ने गरेका छन् । राप्रपाका महामन्त्री सुशील कुमार श्रेष्ठ भने तत्काल पार्टी एकताबारे केही नसोचिएको बताउँछन् । उनले एमालेको चुनाव चिह्नबाट लड्दा मत बदर नहुने र मतदाता पनि भ्रममा नपर्ने भएकाले साझा चिह्न रोजिएको बताए । श्रेष्ठका अनुसार २०७४ को चुनावमा तालमेल गर्दा फरक फरक चुनाव चिह्न हुँदा धेरै मत बदर भएको थियो । अब त्यस्तो नहोस् भनेर समान चुनाव चिह्नबाट लड्ने समझदारी भएको हो । ‘आफ्नो आफ्नो चुनाव चिह्न लिएर जाँदा एमालेको चिह्न माथि १ नम्बरमा नै छ । तर  हाम्रो चिह्नचाहिँ धेरै तल छ’, श्रेष्ठले भने, ‘जस्तो कि ४ वटा वडामा समझदारी गर्दा दुईटा चिह्न माथि र दुई वटा खोज्न तल जानुपर्ने हुँदा मतदाता अलमलमा पर्ने देखियो त्यसमाथि क्लस्टरको सन्तुलन पनि हुन्छ र, मत पनि बदर हुने देखेर हामीले यस्तो सहमति गरेका हौँ ।’

राप्रपा नेपालले चुनावअघि सहमति गरी साझा चिन्ह लिन सकिने र जितेपछि ‌आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेको जिकिर गरेको छ । स्वयम् कमल थापालेसमेत यस्तो जिकिर गरे पनि निर्वाचन आयोगले राप्रपाका उम्मेदवार सूर्य चिह्नबाट लडेर राप्रपाको हैसियतमा जनिन नसक्ने स्पष्ट पारिसकेको छ । यो भनेको राप्रपाका उम्मेदवार भए पनि कानुनी रूपमा उनीहरु एमालेप्रति नै प्रतिबद्ध रहन्छन् । राप्रपा नेपालले देशभर ३० स्थानमा आफ्नो उम्मेदवार हुनुपर्ने माग एमालेसँग राखेको भए पनि यस विषयले अन्तिम रुप लिएको छ । जेजति दाबी भए पनि अन्तिममा सम्भवतः केही गाउँपालिका र वडामा राप्रपाले भाग पाउन सक्ने एमाले स्रोतको भनाइ छ ।

राप्रपाका नेताहरु तान्दै कमल थापा

थापाले पार्टी पुनर्गठन गरेपछि एकपछि अर्को गर्दै केन्द्रीय तहकै नेताहरु थापाले तानिरहेका छन् । पार्टी फुटाए गीताको कसम तोडेको आरोप लाग्ने भएपछि उनले एकपछि अर्को गर्दै आफू निकटका नेताहरुलाई राप्रपाबाट राजीनामा गराएर राप्रपा नेपालमा प्रवेश गराइरहेका छन् । फागुनयता उनले दुई दर्जन हाराहारीका नेतालाई पार्टीमा भित्र्याइसकेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाबाट केही मान्छे कमल थापातिर गए पनि थापाको मिसन सबैले बुझिसकेको जिकिर गर्छन् । गइसकेका कतिपय नेताहरु फेरि राप्रपातिर फर्किन चाहेको उनको भनाइ छ । ‘अब कमल थापातिर लाग्नेभन्दा पनि कमल थापालाई मान्छेले चिने’, उनले भने, ‘हिजो कमल थापाको पछि लागेका मान्छेहरु बरु राप्रपातिर फर्किन लागेका छन् । किन जाने उनको पछि ? एमाले हुन जाने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप