शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा काँग्रेस–माओवादी हानथापले गठबन्धन नै धरापमा

सहमति जुट्नेमा नेकपा एकीकृत समाजवादी विश्वस्त
आइतबार, ०४ वैशाख २०७९, १५ : ५३
आइतबार, ०४ वैशाख २०७९

। चितवनको भरतपुर महानगरपालिकाको नेतृत्वका लागि सत्तारुढ गठबन्धनका ठुला दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच हानथाप सुरु भएको छ । दुवै दलले आ–आफ्नो दाबी कस्दै भरतपुर महानगरपालिकाको मेयर पद आफूले पाउनुपर्ने अडान राखेका छन् ।

जिल्लामा गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेस आफूले भरतपुरको मेयर नपाए गठबन्धन तोड्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र पनि भरतपुरको मेयरमा आफ्नो अडान छोड्ने पक्षमा देखिँदैन । काँग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडा समितिका सभापतिले संयुक्त बैठक बसेर भरतपुरको मेयर नपाए गठबन्धनलाई निरन्तरता दिन नसकिने निर्णय गर्दै जिल्ला सभापति राजेश्वर खनालमार्फत केन्द्रमा ध्यानकर्षण पत्र पठाइसकेको छ ।

उता माओवादी केन्द्र भने गठबन्धनका शीर्ष नेताहरुको बैठकले गरेको निर्णय अनुसार भरतपुर आफ्नो पोल्टामा पर्ने र काँग्रेसले त्यसलाई स्वीकार्नु पर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले भरतपुरको विकासमा उल्लेख्य काम गरेको भन्दै आगामी निर्वाचनमा पुनः मेयर पद आफूले पाउने बताउँदै आएको छ ।

२०७४ सालको निर्वाचनमा भरतपुरको मेयरमा काँग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् । एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

उपमेयरमा पनि गठबन्धनबाट उम्मेदवार रहेकी काँग्रेसकी पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गरिन् ।

भरतपुरको कुल २७ वटा वडामध्ये माओवादी केन्द्रको पक्षमा ३ वटा वडाको अध्यक्ष पद जितेको थियो भने काँग्रेसले १३ र एमालेले १३ वटा जितेका थियो ।

भरतपुरमा ८८ हजार ८८४ पुरुष, ९६ हजार ८६७ महिला र एक जना तेस्रो लिङ्गी गरी एक लाख ८५ हजार ७५२ जना मतदाता छन् भने ६५ वटा मतदानस्थल र २०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।

काँग्रेस भन्छ– अन्तिम बटम लाइन भरतपुरको मेयर हो

नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले गठबन्धनका लागि काँग्रेसको अन्तिम बटम लाइन नै भरतपुर महानगरपालिकाको मेयर पद भएको बताए । केन्द्रले दिएको परिपत्रका आधारमा जिल्लामा गठबन्धन गर्न काँग्रेस तयार रहेको तर, भरतपुर महानगरपालिका छोड्न तयार नहुने उनको भनाइ छ ।

केन्द्रको परिपत्रले पनि भरतपुरको मेयर काँग्रेसले नै पाउनुपर्ने देखाउने भएकाले आगामी निर्वाचनमा भरतपुरमा माओवादी केन्द्रले आफूहरुलाई सहयोग गर्नुपर्ने उनले बताए ।

‘हामी केन्द्रीय परिपत्रका आधारमा भागबण्डामा जान तयार छौं तर, हाम्रो गठबन्धनमा अन्तिम बटम लाइन भनेको भरतपुर महानगरपालिका हो । भरतपुरको मेयर नपाउने हो भने गठबन्धन हुँदैन,’ उनले भने, ‘केन्द्रको परिपत्र अनुसार पनि भरतपुर हाम्रो भागमा छ । परिपत्रमा भनिएको छ, एकल रुपमा जसले जितेको हो त्यहाँ त्यसलाई छोड्ने निर्देशन छ । तर, भरतपुरमा विगतमा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन थियो । माओवादी केन्द्रलाई मेयरमा हामीले सघाएका हौं । माओवादी केन्द्र एक्लैले जितेको त होइन । त्यसैले त्यहाँ अब माओवादी केन्द्रले हामीलाई सघाउनु पर्छ ।’

उनले वडागत रुपमा पनि भरतपुरमा काँग्रेसले नै नेतृत्व पाउनु पर्ने बताए । ‘वडा तहको मत हेर्ने हो भने हामीले १३ वटा वडा जित्दा माओवादी केन्द्र ३ वटामा सीमित भएको छ ।’ उनले भने ।

५ वर्षको कार्यकाल चलाएर काम गरेको छु भन्ने आधारमा भरतपुरको मेयरमा दाबी गर्ने हो भने एक्लै गएर चुनाव जितेर देखाउन उनले माओवादी केन्द्रलाई चुनौती दिए ।

उनले भने, ‘अब काम गरेको छु भनेर दाबी गर्दै मेयरमा अडान लिने हो भने एक्लै गएर जिते भो नि ।’

माओवादी भन्छ– महानगरको विषय केन्द्रले टुङ्ग्याउँछ, निर्देशन मान्नुपर्छ

नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले केन्द्रले दिएको निर्देशन अनुसार नै जिल्ला तहमा आगामी निर्वाचनमा गठबन्धन हुने भएकाले त्यसैलाई सबैले स्वीकार गरेर जानु पर्ने बताए ।

उनले जिल्ला तहमा बनेको गठबन्धनको संयन्त्रले भागबण्डा लगायतका विषयमा छलफललाई तीव्रता दिएकाले जिल्लाका ७ पालिकामध्ये भरतपुर महानगरपालिकाबाहेक अन्य ६ वटा पालिकासहित ९७ वटा वडाको विषयमा दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्ने क्रम जारी रहेको बताए ।

भरतपुर महानगरपालिकाको विषय केन्द्रीय स्तरबाट टुङ्ग्याउने विषय भएको र त्यहाँबाट प्राप्त निर्देशनलाई नै स्वीकार गर्नुको विकल्प आफूहरुसँग नरहेको उनको भनाइ छ ।

‘गठबन्धनका दलहरूको आन्तरिक छलफल जारी छ । जिल्ला र पालिका तहमा बनेका गठबन्धनका संयन्त्रहरु पनि सक्रिय छन् । जिल्लाका ७ पालिकामध्ये भरतपुर महानगरपालिका केन्द्रबाटै टुङ्गिने भएकाले हामी ६ पालिका र ९७ वडाको भागबण्डामा जुटेका छौं,’ उनले भने, ‘जसपा र जनमोर्चासहितको उपस्थितिमा तीन ठुला शक्तिले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । त्यसमा बसेर तथ्यगत रुपमा छलफल हुन बाँकी छ ।’

पार्टीसँगको आन्तरिक छलफलपछि त्यो विषय टुङ्गिने उनले प्रस्ट पारे । अब भरतपुरमा काँग्रेस र माओवादी केन्द्रबीचको कुरा रहेकाले केन्द्रको संयन्त्रले नै यो विषयलाई टुङ्ग्याउने उनले बताए । त्यसका लागि तथ्याङ्क र अवस्थासहित आफूहरुले केन्द्रमा पठाउने र केन्द्रबाट आउने निर्देशन सबैले मान्नुको विकल्प नरहेको उनको भनाइ छ ।

उनका अनुसार भरतपुर महानगरपालिकामा काँग्रेसले दाबी गर्नु स्वाभाविक प्रक्रिया हो । ‘काँग्रेसले विगतमा हामीलाई सहयोग गरेकाले अब हामीलाई गर्नुहोस् भनेको हो । त्यो स्वाभाविक पनि छ,’ उनले भने, ‘अब केन्द्रले जसको भागमा पारिदिन्छ, त्यहाँ त्यसैको उम्मेदवार उठाउने हो । काँग्रेसले पनि केन्द्रको निर्देशन मान्नु पर्छ ।’

उनले केन्द्रबाट माओवादीलाई भरतपुर महानगरपालिका छोड्न निर्देशन आयो भने आफूहरु सहर्ष रुपमा छोड्न तयार हुनुपर्ने बताए । यदि माओवादी केन्द्रको भागमा भरतपुर परेको खण्डमा काँग्रेस पनि छोड्न तयार हुनुपर्ने उनी बताउँछन् ।

समस्या सुल्झिनेमा आशावादी छ एकीकृत समाजवादी

यता गठबन्धनको अर्को ठुलो दल नेकपा एकीकृत समाजवादी भने काँग्रेस–माओवादी केन्द्रबीच भरतपुर महानगरको मेयरमा भइरहेको हानथाप मिल्नेमा आशावादी देखिन्छ । एकीकृत समाजवादी पार्टीका चितवनका अध्यक्ष कृष्णराज पन्तका अनुसार माओवादी केन्द्र र काँग्रेसबीचको विवाद अन्त्यमा समाधान भएर एक अर्कालाई सहयोग गरेर जाने वातावरण बन्नेछ ।

‘चुनावको समयमा कुनै एउटा दलभित्रै त ठुलो संघर्ष चल्छ, यो त ५ दलको गठबन्धन हो । यो स्वाभाविक कुरा हो । काँग्रेस र माओवादी केन्द्रको यो विवाद अन्तिममा मिल्छ,’ उनले भने, ‘अन्तिममा दुवै दलले एक अर्कालाई सहयोग गरेर जाने वातावरण बन्छ ।’

भागबण्डा नटुङ्गिदासम्म दलहरूबाट आ–आफ्नो दाबी आउनु स्वाभाविक भएको र पार्टीमा दबाब दिनु पनि सामान्य कुरा भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप