मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा काँग्रेस र जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल

आइतबार, ०४ वैशाख २०७९, १६ : ३९
आइतबार, ०४ वैशाख २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ । काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए । तर त्यो विज्ञप्ति उनीहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु बताउँछन् । ती दलका नेताहरुले आफू गठबन्धनकै पक्षमा रहेको र यो गठबन्धन कुनै पनि हालतमा भत्किन नहुने बताए ।

काँग्रेसका नेता अजय द्विवेदी भने काँग्रेसले जारी गरेको विज्ञप्ति आधिकारिक रहेको बताउँछन् । पर्सामा गठबन्धन नगर्ने कुराको जानकारी आफूहरुले केन्द्रलाई समेत गराइसकेको भन्दै उनले त्यसलाई प्रष्ट पार्न जिल्ला तहबाट त्यस्तो निर्णय सार्वजनिक गरेको बताए । यद्यपि गठबन्धनको केन्द्रीय निर्णय अझै आइ नसकेको बताउँदै उनले केन्द्रको निर्णय कस्तो आउँछ भन्ने प्रतीक्षामा आफूहरु रहेको बताए ।

यता, जसपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जसपा र काँग्रेसका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्ति गठबन्धनको नीति विपरीत रहेको बताए । ‘वीरगञ्ज महनगरपालिका लगायत अन्य पालिकामा के गर्ने, नगर्ने विषयमा अहिले केन्द्रले कुनै कुनै निर्देशन दिएको छैन,’ उनले भने, ‘उनीहरुले आफ्नै तरिकाले विज्ञप्ति जारी गरी जनतालाई भ्रममा पारेका छन् ।’

हालसम्म गठबन्धन बनाएरै चुनाव जाने तयारी रहेको भन्दै उनले  त्यसका लागि केन्द्रले के निर्णय गर्छ, त्यसमा भर पर्ने बताए । ‘महानगरपालिकाको विषयमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने भनेको छ, त्यसको बारेमा कुनै निर्णय नआउँदै बीचमै यस्तो विज्ञप्ति जारी गर्नु गठबन्धन तथा पार्टीको अनुशासन विपरीत हो ।’

त्यस्तै, माओवादी केन्द्रका नेता रोहवर अन्सारीले काँग्रेस र जसपाबाट आएको विज्ञप्ति नेताहरुको व्यक्तिगत रहेको बताए । जसपा र काँग्रेसले जिल्ला नेतृत्व तहबाट विज्ञप्ति जारी गरे पनि केन्द्रको निर्णय नआएका कारण पर्सामा पाँच दलीय गठबन्धन कायम रहेको उनको भनाइ छ ।

उनले भने, ‘हिजो जुन विज्ञप्ति आयो, त्यो जसपा र काँग्रेसको आधिकारीक हो जस्तो लाग्दैन, यदि काँग्रेस र जसपा गठबन्धनबाट बाहिरिए चुनावमा गएको अवस्थामा पनि हामी बाँकी दल गठबन्धन बनाएर चुनावमा जान्छौं ।’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र चौधरीले पनि काँग्रेस र जसपाका जिल्ला अध्यक्ष दुई जनामात्र बसेर गरेको निर्णयमा गठबन्धन दलको सहमति नरहेको बताउँछन् । उनले भने, जसपा र काँग्रेसका जिल्ला अध्यक्ष दुई जना बस्नुभयो, दुई जनाको बीचमा कुरा नमिलेपछि यस्तो विज्ञप्ति आएको हो, त्यो विज्ञप्तिको कुनै अर्थ छैन, हामी गठबन्धनकै पक्षमा छौं, केन्द्रको निर्णयलाई कुरेर बसेका छौं ।’

सोही पार्टीका अर्का नेता बालगोपाल थापाले पनि महानगरपालिकाको बारेमा केन्द्रले जे निर्णय गर्छ, त्यही हुने बताए । दुई जनाले व्यक्तिगत रुपमा विज्ञप्ति जारी गरेर केही नहुने उनको भनाइ छ ।

उनले पनि जसपा र काँग्रेस छुट्टा छुट्टै चुनावमा जाने निर्णय गरे पनि आफूहरु अन्य दलसँग गठबन्धन गरेर अगाडि बढ्ने बताए ।

वीरगञ्ज महानगरपालिकामाथि नजर

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज अहिले चर्चामा छ । सो महानगरपालिकामा मेयर हात पार्न काँग्रेस र जसपाबीच प्रतिस्पर्धा चलिरहेको छ । जसपाले यसअघि आफूले महानगरपालिका जितेको कारण अब पनि आफूले नेतृत्व पाउनुपर्ने भन्दै आएको छ । काँग्रेसले पनि यस पटक वीरगञ्ज महानगरपालिका नछाड्ने अडान राखेको छ ।

मेयर पद पाउनकै लागि आकांक्षीहरु पार्टी फेरबदल गरिरहेका छन् । आफू कहाँ सुरक्षित भइन्छ, टिकट कहाँबाट पाइन्छ भनेर आकांक्षीहरु पार्टी चहार्दै हिँडेका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका राजेशमान सिंह त्यहाँबाट मेयरको टिकट नपाउने भएपछि जसपामा प्रवेश गरिसकेका छन् । वीरगञ्जको मेयरमा उनले जसपाबाट उम्मेदवारी दिने लगभग निश्चित छ ।

वीरगञ्ज महानगरपालिकाको टिकट पाउने भएपछि उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट एमालेमा प्रवेश गरेका थिए । तर एमालेले नवप्रवेशी विजय सरावगीलाई मेयरको टिकट दिने तय गरेपछि राजेशमान सिंह सो पार्टी छाडेर जसपामा आएका हुन् ।

जसपाबाट राजेशमान सिंह, एमालेबाट विजय सरावगी, काँग्रेसबाट अजय द्विवेदी, माओवादी केन्द्रबाट रोहबर अन्सारी, लोसपाबाट पुरुषोतम झा महानगरपालिकाको मेयरका दावेदार हुन् । तर गठबन्धनभित्र महानगरको मेयर पद कसको भागमा पर्छ भन्ने अहिलेसम्म तय भएको छैन । केन्द्रीय गठबन्धनको बालुवाटारमा आज विहान बसेको बैठकले महानगरपालिकाबारे सोमबार टुङ्गो लगाउने निर्णय गरेको छ ।

काँग्रेसबाट श्याम पोखरेल, विजय सर्राफ, ओमप्रकाश सर्राफ, नरेन्द्र साहलगायत पनि मेयरका आकांक्षी छन् । तर, अजय यसअघि चुनाव लडिसकेको र दोस्रो स्थान हासिल गरेका कारण पार्टीले उनलाई नै फेरि उम्मेदवार बनाउने सम्भावना देखिन्छ ।

महानगरको मेयरमा यसअघि काँग्रेस पराजित भए पनि उपमेयरमा शान्ति कार्कीले जितेकी थिइन् । तत्कालीन फोरमका विजय सरावगीले १९ हजार ३९३ मत ल्याएर मेयरमा जित हासिल गर्दा उपमेयरमा काँग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएर जित हासिल गरेकी थिइन् ।

यसअघि एमालेबाट बसरुद्दीन अन्सारी महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । यसपाली उनी संसदमा चुनाव लड्ने तयारी गरिरहेका छन् । एमालेले विजय सरावगीलाई महानगरको मेयरमा उठाउने तयारी गरेको छ । यता, माओवादी केन्द्रबाट रोहवर अन्सारीको चर्चा अझै कामय छ । अहिलेसम्म सो पार्टीबाट वीरगञ्जको मेयरमा अरु कसैले इच्छा देखाएका छैनन् । यसअघि पनि माओवादीबाट अन्सारी नै मेयरमा उम्मेदवार थिए ।

रातोपाटीसँग कुरा गर्दै अन्सारीले भने, ‘महानगरपालिका लागि मेयरको उम्मेदवार छु, तर भोलि गएर गठबन्धन बन्यो र यो सीट अरुको भागमा गयो भने भन्न सकिँदैन तर अहिलेसम्म म मेयरको दाबेदार छु, पार्टीबाट अरु कसैले दाबी गर्नुभएको छैन ।’​ लोसपाबाट पुरुषोतम झा र सुरेन्द्र कुर्मीको चर्चा छ । उनीहरुको नाम सिफारिस पनि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप