शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा स्थानीय चुनाव : सत्तारुढ गठबन्धनबीच तालमेलमा सकस

साना दललाई साथमा लिने एमालेको रणनीति
सोमबार, ०५ वैशाख २०७९, १५ : ४६
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तहको निर्वाचन मिति नजिकिइसकेको अवस्थामा कर्णाली प्रदेशमा सत्ता गठबन्धनभित्र रहेका दलहरुले आपसमा अझै भागबण्डा मिलाउन सकिरहेका छैनन् । केन्द्रबाट पाँच दलीय गठबन्धनबीच तालमेलका आधारमा चुनावमा जाने निर्णय भए पनि स्थानीय तहमा दलहरु आ–आफ्नै दाबी र अडानमा छन् । जसका कारण कर्णालीमा गठबन्धन नै धरापमा पर्ने संकेत देखिएको छ ।

केही जिल्लामा गठबन्धनभित्र रहेका दलहरुले सहमतिमै एक्ला–एक्लै चुनावी मैदानमा होमिने निर्णयसमेत गरिसकेका छन् । १० जिल्ला रहेको कर्णालीमा गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच विभिन्न पालिकाको नेतृत्वमा हानथाप भइरहेको छ ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनभित्र देखिएको खटपटले निराश हुन थालेको छ । सो पार्टीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा समेत गठबन्धन भाँडिएको छ । आइतबार बसेको गठबन्धन संयन्त्रको बैठकले पालिकास्तरको भागवण्डामा सहमति नजुटेपछि एक्ला–एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको हो ।

हिमाली जिल्लाहरुमा पनि गठबन्धनबीच तालमेल नहुने संकेत देखिएको छ । डोल्पा र मुगुमा सहमति नजुटेको भन्दै दलहरुले यसअघि नै एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेका छन् । नेपाली काँग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले डोल्पामा माओवादी र नेकपा एकीकृत समाजवादीले ठुलो भाग खोजेपछि कुरा नमिलेको बताए ।

यसअघि सुर्खेत, जाजरकोट, दैलेख लगायतका जिल्लामा गठबन्धन गरेर चुनावमा जाने भन्दै गठबन्धनमा आवद्ध दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका थिए । तर यी जिल्लामा समेत अहिले भागबण्डाको हिसाब–किताबमा गडबड छ । दैलेखमा सत्ता गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना भइसके पनि भागबण्डा मिल्न नसकेको नेताहरु बताउँछन् ।

माओवादी जनयुद्धको आधार इलाका मानिएका रुकुम पश्चिम र कालिकोटमा समेत भागबण्डामा कुरा मिल्न सकेको छैन । रुकुम पश्चिममा अहिलेसम्म गठबन्धनको एउटामात्र बैठक बसेको छ । ‘उक्त बैठकमा ०७४ को स्थानीय तहको निर्वाचनमा कुन दलको जनाधार के–कस्तो थियो भन्ने कुराको रिपोर्टिङ भएको थियो,’ माओवादी केन्द्रका नेता गोपाल शर्माले रातोपाटीसँग भने, ‘गठबन्धनमा अन्योल नै छ ।’

रुकुममा गठबन्धन गरेर चुनावमा गएको खण्डमा माओवादीलाई घाटा हुने उनको भनाइ छ । किनकि रकम माओवादीको आधार इलाका हो भने माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको गृह जिल्ला हो । यहाँ सबै राजनीतिक दल एकातिर र माओवादी अर्कोतिर एक्लै भए पनि माओवादीले जित्ने माओवादी केन्द्रका स्थानीय नेताहरुको दाबी छ । यहाँ नेपाली काँग्रेसले माओवादीसँग भन्दा पनि एमालेसँग तालमेल गर्न इच्छुक देखिएको स्रोतको भनाइ छ ।

प्रदेश सरकारमा गठबन्धन, स्थानीय तहमा अन्योल

मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धन सरकारको नेतृत्व गरेका छन् । उनको सरकारमा नेपाली काँग्रेसका अतिरिक्त माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सामेल छ । गत वर्ष वैशाख २ मा जीवनबहादुर शाही, माओवादीका प्रभावशाली नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाबीच गठबन्धनलाई चुनावसम्मै लैजाने गरी सहमति भएको थियो । तर अहिले मुख्यमन्त्री शाहीले माओवादी र समाजवादीलाई नै ‘बाइपास’ गरेर एकलौटी तरिकाले सरकार चलाउन खोजिरहेका गठबन्धन घटकको आरोप छ ।

मुख्यमन्त्री शाहीको गृह जिल्ला हुम्लामा समेत उनले गठबन्धनभित्रको समस्या हल गर्न सकिरहेका छैनन् । हुम्लामा शक्तिशाली नेताको छवि बनाएका उनले गठबन्धनभित्रको समस्याबारे कुनै चासो नदिएको नेताहरु बताउँछन् ।

हुम्लामा माओवादी र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो । तर अहिले एउटै गठबन्धनभित्र भएकाले दुवै दललाई समस्या भएको छ । गठबन्धनका पाँच वटा बैठक बस्दा पनि सहमति हुन सकेको छैन । हुम्लामा काँग्रेस–माओवादीका आ–आफ्नै दाबी छन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला कालिकोटमा पनि भागबण्डाको हिसाब–किताबमा समस्या भइरहेको छ । तर उनले पनि खासै चासो दिएका छैनन् । सल्यानमा प्रकाश ज्वालाहरुले जतिसुकै प्रयास गर्दा पनि गठबन्धन असफल भइसकेको छ । 

नेपाली काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले आफ्नो गृह जिल्ला जुम्लामा समेत गठबन्धनभित्रको समस्या समाधान गर्न सकिरहेका छैनन् । जुम्लामा एकीकृत समाजवादी पनि बलियो शक्तिका रुपमा छ । अहिलेसम्म माओवादी, काँग्रेस र एकीकृत समाजवादीकाबीच कुरा मिलिसकेको छैन । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री पदम रोकाया माओवादी र काँग्रेसले आ–आफ्नै दाबी गरेकाले कुरा नमिलेको बताउँछन् ।

काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धन संयन्त्रबीच छलफल जारी रहेको बताए । उनले भने, ‘छलफल चल्दै छ । समस्या यहाँमात्र होइन, ७७ जिल्लामै छ । भागबण्डामा कुरा मिलेको छैन ।’

उनले काँग्रेस बलियो भएकाले काँग्रेसको प्रमुख दाबी रहेको उल्लेख गरे । ‘म हालै चार÷पाँच वटा जिल्लामा गएको छु, त्यहाँ काँग्रेसको अवस्था सुध्रिएको छ,’ उनले भने, ‘गठबन्धनको सवालमा कतै छोड्नुपर्ने, कतै मिल्नुपर्ने अवस्था छ ।’

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले पनि गठबन्धनभित्र समस्या भएकाले छलफल जारी रहेको बताए ।

साना दलसँग तालमेल गर्ने रणनीतिमा एमाले

यहाँ सत्तारुढ गठबन्धनभित्र समस्या देखिएपछि एमाले भने खुशी छ । एमालेले आफू कमजोर रहेका पालिकामा साना दलहरूसँग तालमेल गर्ने रणनीति बनाएको छ । ‘यो गठबन्धन टिक्न मुस्किल छ,’ नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह भन्छन्, ‘गठबन्धन आफैमा असक्षम हो । यसको आयु खासै छैन ।’

उनले कर्णालीमा एमालेले साना दललाई साथमा लिएर जाने बताए । जुम्लामा एमालेले नेमकिपासँग तालमेल गरेर जाने तयारी गरेको छ ।  एमालेका जुम्ला अध्यक्ष शान्तिलाल शर्मा भन्छन्, ‘गठबन्धन बने पनि नबने पनि एमालेलाई कुनै असर पर्दैन । चुनावमा नेमकिपा लगायतका साना दलसँग मिलेर जाने कुरा भइरहेको छ ।’

जुम्लामा एमालेले अहिलेसम्म ५ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको छ । हुम्लामा भने एमालेले राप्रपालाई साथमा लिएर जाने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप