शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर नेपालमा भिड्न ऋण काढेर आउनु पर्‍यो’

सोमबार, ०५ वैशाख २०७९, १६ : ०२
सोमबार, ०५ वैशाख २०७९

शनिबार साँझ हायात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै नुतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि चुमे । निम्न वर्गीय परिवारमा जन्मिएका २६ वर्षीय श्रेष्ठले प्रतियोगिताकै लागि काठमाडौं बस्न साथीहरुसँग ऋण समेत काढ्नु पर्यो । मिस्टर नेपालको उपाधिसँगै ‘मिस्टर वर्ल्ड’को ताज नेपाल भित्र्याउने सोच बनाएका उनी त्यहीअनुसार तयारी पनि गर्दैछन् । प्रस्तुत छ, मिस्टर नेपाल बन्दाको खुशी र आगामी दिनको योजनाको विषयमा रातोपाटीले श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः

‘मिस्टर नेपाल २०२२’ को विजेता घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ ?

सुरुमा त विश्वास नै लागेन । किनभने ३६ जना हामी प्रतियोगी, सबै एकसे एक ट्यालेन्ट थियौं । यो पटकको प्रतियोगितामा टफ कम्पिटिसन थियो । टप १२ भित्र परेपछि त झन् कसले जित्छ भन्ने सक्ने स्थिति थिएन । राम्रो गरौं, रिजल्ट जे होला भनेर मैले आफ्नो तर्फबाट मिहिनेत जारी राखे । अन्ततः जित हासिल भयो । जितले एकदमै खुशी लाग्यो । घोषणा भएको एकछिन सम्म त विश्वास नै लागेको थिएन । किनभने अन्य सहभागी साथीहरु म भन्दा पनि अब्बल नै थिए । उहाँहरुले नजितेकोमा दुःख लाग्यो । मैले जित्नुमा केही हदसम्म म सबैभन्दा राम्रो भएकोले होला भन्ने मेरो बुझाइ रह्यो ।

प्रतियोगितामा भाग लिँदै गर्दा जित्छु भन्ने लागेको थियो ?

स्थानीयको विश्वास जित्ने र चर्चा कमाउने उद्देश्य थियो । यदि मिस्टर नेपालको उपाधि जितेँ भने सबैले मलाई अझ विश्वास गर्छन् भन्ने थियो । पहिलो अडिसन दिएपछि तीन दिनसम्म रिजल्ट नआउँदा अवसर मिल्दैन कि भन्ने लागेको थियो । तैपनि केही दिन काठमाडौं घुमेर फर्किनु पर्यो भन्ने सोचले यही बसेको थिएँ । प्रारम्भिक चरणमा छनौट भएँ, पछि उपाधि पनि हात पर्यो । मिस्टर नेपाल पुरुष सहभागी रहने देशकै ठुलो प्रतियोगिता मानिन्छ । यसमा १८ दिनको प्रशिक्षण एकदमै प्रेसरमा गर्नुपरेको थियो । त्यसैले दिन रात केही नभनेर मिहिनेत गरेर अगाडि बढेको थिएँ । सोही  अनुसारको परिणाम समेत हात पर्यो ।

‘मिस्टर नेपाल’ उपाधिका लागि पूर्व अभ्यास कति गर्नु भयो ?

करिव दुई वर्षदेखि म अभ्यासमै थिएँ । शरीर व्यक्तित्वसँग जोडिएको कुरो हो । व्यक्तित्व विकास भयो भने जुनै कुरोमा पनि अगाडि बढ्न सहज हुने मेरो बुझाइ थियो । म पढेको पनि छु, बोल्न पनि सक्छु र शारीरिक रुपले फिट पनि छु । त्यसैले मिस्टर नेपालमा किन नजाने भन्ने सोचले डोर्यायो । मिहिनेत त धेरै गर्नुपर्यो । मिस्टर नेपालको प्रशिक्षण क्रमको १८ दिनको कोरियोग्राफी मेरा लागि निकै लाभदायक सिद्ध भयो ।

तपाईंको यो उपाधि पहिलो हो ?

हो, मेरो जीवनकै पहिलो उपाधि नै ‘मिस्टर नेपाल’को ताज हो । यही प्रतियोगिता प्रशिक्षणको क्रममा भने दुईवटा सिल्भर मेडल जितेको थिएँ ।

अबको चुनौती केलाई मान्नु हुन्छ ?

अब अगाडि बढ्दा पहिले भन्दा बुझेर, संयम भएर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ । हिजोसम्म म आफ्नो लागि केही गर्थे, अहिले अरुको लागि पनि दायित्व बोध भएको छ । मप्रति धेरैको अहिले भरोसा छ । त्यो भरोसा कायम राख्न सक्छु कि सक्दिन भन्ने कुराले सचेत गराएको छ । ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्दैछु । सबैभन्दा ठुलो चुनौती यही हो । ‘मिस्टर वल्र्ड’मा म भन्दा धेरै अब्बलहरुको प्रतिनिधित्व रहन्छ । त्यही अनुसार बाँकी समय आफूलाई तयार गर्दैछु । अहिले मेरो पुरै फोकस ‘मिस्टर वल्र्ड’को ताजमा छ । अवसरसँगै आएको चुनौती आत्मसात गरेर अगाडि बढ्छु ।

‘मिस्टर वर्ल्ड’मा नेपाल कसरी चिनाउने सोच राख्नु भएको छ ?

नेपाली कला, संस्कृति, पर्यटन प्रवद्र्धन हुने कुरा लिएर जाँदैछु । आफूलाई उपाधि जित्न योग्य बनाएर जानेछु ।

यस्ता प्रतियोगिता कतिको महत्त्वपूर्ण छ ?

व्यक्तित्व विकासमा प्रतियोगिता अपरिहार्य छ । आफूलाई राम्रो बनाउन र अरूसँग बोल्ने तरिकालगायत धेरै कुरो सिक्न र क्षमता विकास यसबाट गर्न सकिन्छ ।

भविष्यको योजना ?

सौन्दर्य प्रतियोगितामा रहेर अगाडि बढ्ने योजना छ । नेपाललाई यसैका माध्यमले विश्वमा चिनाउने सपना पनि हो ।

अनि बुबाआमालाई खुशी राख्नु छ । म निम्नवर्गीय परिवारको सदस्य, मिस्टर नेपालमा सहभागीको क्रममा काठमाडौं बस्न पनि मैले धेरै संघर्ष गरेर साथीहरुसँग ऋण काढेर आएँ । आफ्ना लागि एउटा राम्रो घर बनाउनु छ । यो क्षेत्रमा धेरै अगाडि बढ्नु छ ।

अभिनयमा आउने सोच्नु पनि छ कि ?

सौन्दर्य प्रतियोगिताका धेरै विजेता फिल्म तथा ग्ल्यामर क्षेत्रमा छन् । तर फिल्ममा मेरो धेरै रुचि छैन । त्यसैले त्यसमा यसै भन्न सक्दिन । प्रतियोगिताको क्षेत्रमा भने रहिरहन्छु ।

अन्य रुचिको बिषय ?

कविता लेख्न, नाच्न, किताब पढ्न र साथीभाइसँग समय बिताउन मनपर्छ ।

प्रतियोगितामा आउने सोच भएकालाई के सुझाउनु हुन्छ ?

सिधै मिस्टर नेपाल बन्नु भन्ने सोचले भन्दा पनि आफू राम्रो गर्छु, मिहिनेत गर्छु र निखारिन्छु भनेर आउन अनुरोध गर्छु । यो प्रतियोगिताका लागि सानोतिनो मिहिनेतले पुग्दैन । शारीरिक, मानसिक रुपमा पनि आफूलाई तयार गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप