बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा एक पालिका जितेको काँग्रेसले ५० प्रतिशत भाग खोजेपछि तनाव

सोमबार, ०५ वैशाख २०७९, १६ : ४२
सोमबार, ०५ वैशाख २०७९

कालिकोट नेकपा माओवादी केन्द्रको वर्चश्व रहेको जिल्ला हो । यहाँ माओवादी केन्द्र सधैँजसो पहिलो शक्तिका रुपमा रहँदै आएको छ । कर्णालीका पूर्व मुख्यमन्त्री एवं माओवादीका इञ्चार्ज महेन्द्रबहादुर शाही ‘प्रज्वल’को गृहजिल्ला समेत भएकाले यहाँ माओवादी केन्द्र र व्यक्तिगत रुपमा उनको पनि राम्रो प्रभाव छ ।

मुख्यमन्त्री हुनभन्दा पहिला उनी संघीय सरकारको ऊर्जामन्त्री पनि भइसकेका व्यक्ति हुन् । उनको गृह पालिका पचाल झरनामा अन्य सबै दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादी नै भारी भएको विगतको तथ्याङ्कले देखाउँछ । ०७४ मा पचाल झरना गाउँपालिकामा माओवादीका खड्गराज सेजुवालले एक हजार ६२३ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भानुभक्त संज्यालले एक हजार २२४ मत ल्याएका थिए । उनै आचार्यलाई शाहीले अहिले माओवादीमा प्रवेश गराएका छन् ।

उसो त कालिकोटमा एमाले, काँग्रेस, नेमकिपा, राप्रपा र माओवादीबाटै खण्डित भएर जन्मेको विप्लव नेकपाको पनि बाहुल्यता छ । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले नौवटा स्थानीय तहमध्ये ५ स्थानीय तहमा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । यस्तै ३४ वडा वडामा माओवादीले वर्चश्व जमाएको छ ।

दोस्रो शक्ति एमालेले तीन पालिकाको प्रमुख÷उपप्रमुख र २६ वडामा जितेको थियो भने नेपाली काँग्रेसले जम्मा एउटा पालिका र १६ वटा वडामा जितेको थियो । ०७४ मा अन्य साना दलहरु नेपाल मजदुर किसान पार्टीले ५ र राप्रपाले एक वडामा जितेको छ ।

तर अहिले सत्तारुढ गठबन्धनको नाममा कालिकोटमा काँग्रेसले ५० प्रतिशत हिस्सा मागेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आश्चर्यमा छन् ।

माओवादीका कालिकोट संयोजक लक्ष्मीप्रसाद चौलागाईका अनुसार काँग्रेसले जम्मा १८ सीटमध्ये ९ सीटमा दाबी गरेको छ । उनले भने, ‘गठबन्धनको धेरै पटक बैठक बसिसक्दा पनि सहमति हुन सकेको छैन । काँग्रेसका कारण हामीलाई समस्या भएको छ । यद्यपि हामी निरन्तर छलफलमै छौं ।’ उनले काँग्रेसभित्रका दुईवटा गुटले पनि गठबन्धनमा समस्या दिएको बताए ।

काँग्रेस कालिकोटका नेता दमन शाहीले सांगठनिक अवस्था सुदृढ भएकाले आफ्नो पार्टीले ५० प्रतिशतमा दाबी गरेको स्वीकारे । उनले एक्लै चुनाव लड्दा पनि ५ देखि ६ पालिका जित्ने दाबी गरे ।

यता एमाले भने सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि नभए पनि आफूलाई खासै फरक नपर्ने बताउँछ । एमाले कालिकोटको अध्यक्ष जसी प्रसाद पाण्डेले भने, ‘हाम्रो पोजिशन दोस्रो हुने हो । अहिलेसम्म चार वटा स्थानीय तहको उम्मेदवार टुंगो लगाइसकेका छौं । हामीले राप्रपा, विप्लव नेकपासँग पनि लबिङ गरिरहेका छौं ।’

०७४ को निर्वाचनमा कुन दलको अवस्था कस्तो ?

खाँडाचक्र नगरपालिका

यो पालिकामा एमालेका जसीप्रसाद पाण्डेले दुई हजार २०५ मत पाएर मेयर बनेका थिए ।  माओवादीका लक्ष्मीप्रसाद चौलागाईले एक हजार ४६१ र काँग्रेसका पदमबहादुर शाहीले एक हजार ४२९ मत पाए । उपप्रमुखमा एमालेकै विजया विष्टले एक हजार ९४५ मत ल्याएर निर्वाचित हुँदा उपप्रमखुखमा दोस्रोमा माओवादी, तेस्रोमा काँग्रेसको मत छ । 

तिलागुफा नगरपालिका

यहाँ माओवादीका रत्नबहादुर शाही एक हजार ८५१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका शंकरप्रसाद उपाध्यायले एक हजार ६८७ र एमालेका कलबहादुर शाहीले एक हजार ४८० मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादीकै दन्ता नेपालीले  एक हजार ८४३ मत ल्याएर निर्वाचित भइन् । उपप्रमुखमा दोस्रोमा काँग्रेस र तेस्रोमा नेमकिपाको मत छ । 

रास्कोट नगरपालिका

यहाँ माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । एमालेका मनिराज बरालले एक हजार आठ सय ३० र काँग्रेसका दानबहादुर बमले एक हजार चार सय २७ मत पाए । उपप्रमुखमा माओवादीकै मिमसरा बम २ हजार २३५ मतका साथ निर्वाचित हुँदा एमालेको एक हजार ८६३ मत छ । 

शुभकालिका गाउँपालिका

एमालेका खडानन्द चौलागाईले दुई हजार २७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका गोविन्दप्रसाद आचार्यले एक हजार ५०२ र काँग्रेसका अभयराज शाहीले ४९६ मत पाए ।

उपाध्यक्षमा एमालेकै पम्फाकुमारी शाहीले एक हजार ९९० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका दिपेन्द्र बहादुर शाहीले एक हजार ३०३ मत ल्याए । उपाध्यक्षमा काँग्रेस तेस्रो स्थानमा छ ।

नरहरिनाथ गाउँपालिका

एमालेका धीरबहादुर विष्ट दुई हजार ४६० मत ल्याई निर्वाचित हुँदा माओवादीका अग्रबहादुर विष्टले दुई हजार १३७ मत ल्याए । यहाँ राप्रपाले तेस्रो लोकप्रिय मत पाएको थियो ।

उपाध्यक्षमा माओवादीकी मनशोभा बुढाले दुई हजार २४९ मत ल्याएर निर्वाचित हुँदा एमालेकी सुनीता बुढाले दुई हजार ६८, काँग्रेसकी सुशीला देवी शाहीले दुई हजार ४२ मत प्राप्त गरिन् ।

पचालझरना गाउँपालिका

यहाँ माओवादी केन्द्रका खड्गराज सेजुवालले एक हजार ६ सय २३ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका भानुभक्त संज्यालले एक हजार दुई सय २४ र एमालेका चन्द्रबहादुर शाहीले एक हजार १०४ मत पाए ।

उपाध्यक्षमा माओवादीकै तारा न्यौपानेले एक हजार ५६८ मत ल्याएर निर्वाचित हुँदा एमालेले एक हजार २४७, काँग्रेसले एक हजार २९ मत पाएको छ ।  

पलाता गाउँपालिका

यहाँ माओवादीका लक्ष्मणबहादुर बमले एक हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका केशरसिंह बमले एक हजार १८३ र एमालेका धिरबहादुर बमले ७२४ मत पाए । उपाध्यक्षमा माओवादीका दाना न्यौपाने एक हजार ३०२ मतसहित निर्वाचित भइन् भने काँग्रेसले एक हजार ६३,  एमालेले ८६९ मत प्राप्त गरेको छ ।

महावै गाउँपालिका

काँग्रेसका नन्दबहादुर सिंहले एक हजार ३४५ मत पाएर निर्वाचित हुँदा माओवादीका सर्पराज सिंहले एक हजार दुई सय ७६ मत पाएका थिए । यस्तै, एमालेले जम्मा ३१ मत पाएको छ । काँग्रेसले कालिकोटमा जितेको यही एक पालिका हो ।

उपाध्यक्षमा एमालेका मनराज शाहीले एक हजार ३२२ मतसहित विजयी हुँदा माओवादीले एक हजार १३० मत पाएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका

यहाँ माओवादीको वर्चश्व छ । माओवादीका डम्मरबहादुर शाहीले एक हजार सात सय ३१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा काँग्रेसका गोरखबहादुर खत्रीले एक हजार २५५ र एमालेका नवराज देवकोटाले एक हजार १२३ मत पाएका थिए । उपाध्यक्षमा माओवादीकी होइजा कुमारी बुढा एक हजार ५४९ मतसहित निर्वाचित हुँदा काँग्रेसले एक हजार ३९ र एमालेले एक हजार ३५० मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप