शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धन इमानदारिताका साथ निर्वाचनको तयारीमा जुटेको छ

सोमबार, ०५ वैशाख २०७९, १८ : १४
सोमबार, ०५ वैशाख २०७९

देश निर्वाचन प्रक्रियामा होमि नै सकेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापूर्वक आ–आफ्नो स्थिति सुदृढ गर्न देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बीच बीचमा विभिन्न व्यक्ति र समूहहरूका साथै आम जनताले पनि निर्वाचन के हुन्छ ? भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको पाइन्छ । म चाहिँ बडो स्पष्टसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैशाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताका साथ निर्वाचनको तयारीमा जुटिरहेको छ ।

त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर, नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन बिहान पनि होइन ! निर्वाचन सर्छ रे नी भन्ने चर्चा र हल्ला हुने बडो विचित्रको संस्कार देखिने गरेको छ । म पत्रकार मित्रहरु मार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु– निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमानदारिताका साथ लागेको छ ।

आज हामी देशका ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटी निष्कर्षमा पुर्याउँछौँ । महानगरको विषयमा झण्डै झण्डै टुंगिने बेलामा म यहाँ आएको हो । हामीले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका छौं । त्यसैले निर्वाचन सर्दैन र सर्न दिइन्न । मिडियामा निर्वाचन सर्ने विषयमा जति कुरा आएका छन्, ती सबै अनुमानकै भरमा आएका छन्, त्यसमा कुनै सत्यता छैन ।
दुई तीन महिना अगाडि संविधान र कानुनको बारेमा केही अन्तरविरोधको विषयमा छलफल अवश्य नै गरेका थियौं, तर त्यसमा निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समझदारीले अब निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने निष्कर्ष आएपछि हामी सबै निर्वाचनको तयारीमा गम्भीर ढंगले लागेका  हौं ।

म सबै राजनीतिक दल र आम जनतामा अपील गर्न चाहन्छु कि यो निर्वाचनलाई सफलताका साथ सम्पन्न गरौं र सक्रियतापूर्वक सहभागी बनौँ । निर्वाचन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग र योगदान गरौं ।

तेश्रो कुरा तपाई हामी सबैलाई थाहा छ कि एक वर्ष अगाडि नेपालको राजनीतिक दल र राजनीतिमा एउटा गम्भीर खालको पेचिलो अन्तरविरोध देखापर्यो । एउटा संविधानलाई कुनै न कुनै तवरले घात गर्ने र परिवर्तनलाई उल्ट्याउन खोज्ने, अराजकतावादी प्रवृत्ति देखापर्यो, हामीले त्यसलाई प्रतिगमन पनि भन्यौं । त्यसको विरुद्ध संघर्ष गर्ने स्थिति बन्यो । संघर्षको क्रममा गठबन्धन तयार भयो । त्यही संघर्षको क्रममा सडक संघर्ष हुँदै गठबन्धन हुँदै, अदालत र राष्ट्रपति कार्यालयसम्म गइसकेपछि नयाँ सरकार बन्ने स्थिति पनि बन्यो । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता आदि विषयलाई उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि देखापरेको छ ।

हिजोका सामन्त, दलाल, राजा महाराजा राजतन्त्रवादी, परिवर्तन विरोधीहरुसँग गठबन्धन गर्न खोज्ने, वाम लोकतान्त्रिक शक्तिभन्दा अतिवादीसँग नजिक हुन खोज्ने प्रवृत्ति एउटा छ । अर्को अहिलेको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्ने धर्म निरपेक्षता, समावेशी समानुपातिक सामाजिक मूल्य मान्यतासहितको लोकतन्त्रको पक्षधरहरु बीचको गठबन्धन छ । तपाईँहरुले हेर्नुभयो भने कुन गठबन्धन परिवर्तनको पक्षधर हो र कुन प्रतिगामी परिवर्तन विरोधी गठबन्धन हो भन्ने प्रष्टै देखिन्छ ।

एकपटक फेरि प्रतिगमन विरोधी आन्दोलनको रुपमा आगामी निर्वाचनलाई हेरिनुपर्दछ भन्ने लाग्छ । हिजोको त्यो आन्दोलन जसमा करिब सबै पत्रकार, नागरिक समाज, सामाजिक अगुवाहरु, न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, बुद्धिजीवी र समाजका आम समुदायहरुको एकताबद्ध आन्दोलन र शक्तिले प्रतिगमनलाई परास्त गरिएको थियो ।

हिजो पटक–पटक असंवैधानिक र निरंकुश तबरले संविधान मिच्ने प्रवृत्ति देखा परेको थियो, जसका विरुद्ध नेपालका सबै जातजाति लिंग, वर्ग क्षेत्र र समुदायले निरन्तर खबरदारी र आन्दोलन गरेर त्यो हर्कतलाई परास्त गरिएको थियो । अहिले पनि आगामी स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संघीय निर्वाचनमा त्यो परिवर्तन विरोधी शक्ति र दललाई त्यसरी नै निर्वाचनको माध्यमबाट परास्त गर्नु जरुरी छ । र, परिवर्तनका पक्षधर, संविधानको पक्षधर जसले संविधानको मर्म र भावना अनुसार समाजवाद उन्मुख राज्य निर्माणको कुरा गरेको छ र तलै देखि जनताका आधारभूत तहका समस्याहरु हल गर्न प्रतिबद्ध छ, त्यसका उम्मेदवारलाई विजय गराउनु जरुरी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधानसभाबाट संविधान निर्माण गर्नु आफैंमा एउटा प्रगतिशील कदम भएतापनि जबसम्म नेपाली जनताको घरदैलोमा समृद्धिको उज्यालो छाउँदैन, तबसम्म जनता सन्तुष्ट हुँदैनन् । त्यसकारण स्थानीय स्तरदेखि नीजि सहकारी र सार्वजनिक क्षेत्रको साझेदारीबाट समाजवादका भ्रूणहरू कसरी रोप्ने ? उत्पादन वृद्धिलाई कसरी अगाडि बढाउने, शिक्षा स्वास्थ्य रोजगारीको विषयलाई कसरी सम्बोधन गर्ने, विज्ञान प्रविधिको विकास र प्रयोगबाट कसरी उत्पादन वृद्धि गर्ने, नेपालबाट लाखौंको संख्यामा नेपालका युवाहरु विदेशिने स्थितिलाई रोकेर कसरी लाखौं युवालाई रोजगारी सिर्जना गर्ने, नेपालभित्रै उद्योग धन्दा र कल कारखाना खोलेर रोजगारीको सिर्जना गर्ने, देशभित्रै रहेका बेरोजगार युवालाई कसरी रोजगारी प्रदान गर्ने, आम नेपाली जनतालाई शिक्षा स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने र त्यसको लागि राज्यको पहल र तबरबाट कसरी कानुनहरु निर्माण गरेर अगाडि बढ्ने भन्ने आगामी निर्वाचनका प्रमुख एजेण्डा हुँदैछन् ।

यहाँहरु सबैलाई थाहा छ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा मैले आजको विश्व परिस्थिति, आजको विज्ञान प्रविधिको विकासको स्थिति, नेपालको समाजवादको बाटो कस्तो हुन्छ भन्ने क्रममा सापेक्षतावादको सिद्धान्त, क्वान्टम सिद्धान्त, आइन्सटाइनको सिद्धान्त, ग्लोबलाईजेसन र डिजिटलाइजेसनको विकाससम्म आउँदा मानिस मानिसको सम्बन्धमा, देश देशको सम्वन्धमा र आम जनताको जीवनमा कस्तो प्रभाव परेको छ भन्दै स्थानीय तहदेखि नै जनताको जीवनस्तर वृद्धि गर्ने र स्थानीय साधन श्रोत र विशेष गरेर प्राकृतिक श्रोत साधनको रक्षा र प्रयोग गर्ने विज्ञान प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने र स्थानीय तहको विकास गर्ने भन्ने विषयमा दस्तावेज प्रस्तुत गरेर सर्वसम्मतिले पारित पनि गरिसकेको छ । जुन कुरा आगामी निर्वाचनमा पनि जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्नेछ ।

यो परिवर्तन सजिलै आएको होइन । दशकौंको नेपाली जनताको सशस्त्र र शान्तिपूर्ण संघर्ष र पछिल्लो पटक जनयुद्ध र जनआन्दोलनको बलमा यो परिवर्तन आएको हो । हजारौं जनताका कुशल छोराछोरीको बलिदान र वेपत्ता, त्याग सौर्य आदिको बलमा परिवर्तन भएको हो । तर लडाई लड्ने एकातिर भएर परिवर्तन विरोधीको हातमा सत्ता वा डाडु पन्यु पर्ने जस्तो भएको छ, जसले गर्दा परिवर्तनका एजेण्डाहरु कता–कता छायाँमा परेजस्तो देखिन पुगेका छन् ।

परिवर्तनका विरोधीहरूको हातमा सत्ता जाँदा वा नेतृत्व जाँदा के हुँदोरहेछ भन्ने त देखिइसकेको छ । अब त्यसो हुन नदिनका लागि हामीले भनेका छौं– जसको नीति उसैको नेतृत्व । त्यो ऐतिहासिक विरासतबाट आएको परिवर्तनलाई संस्थागत गर्न तपाईहरुले पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा र विश्वास गर्न चाहन्छु ।

(अध्यक्ष प्रचण्डद्वारा वैशाख ५ मा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त विचार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लेखकबाट थप