बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा गठबन्धन दलको बैठक : राजपा र एमालेले जितेका पालिका बाँडफाँड गरिँदै

मङ्गलबार, ०६ वैशाख २०७९, ०९ : ४६
मङ्गलबार, ०६ वैशाख २०७९

मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा दाबी गरेपछि गठबन्धनको बैठक लम्बिएको हो ।

 सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारिक सहमति भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिव योगकुमार बरबरिया जीवनले बताए । उनले तत्कालीन राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच छलफल हुनेछ भने त्यसका लागि कसरी जाने भनी मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य आजको बैठकमा हुने बताए । उनले भने, ‘३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्नुपर्ने हुन्छ ।’

आइतबारदेखि निरन्तररुपमा जारी रहेको गठबन्धनको बैठकमा सोमबार पाँच वटै दलका जिल्ला अध्यक्षहरूसँग जिल्लागत र पालिकाको वस्तु अवस्था तथा विपक्षी दलको वस्तु अवस्था बुझ्ने काम भएको र आज पनि केही जिल्लाका अध्यक्षहरूसँग छलफल हुनेछ। जिल्ला अध्यक्षहरूसँग बैठक सकिएपछि आज दिउँसोसम्म मधेस प्रदेशको गठबन्धनको बैठकबाट मोडालिटीसहितको निष्कर्ष सम्भावना छ । गठबन्धन आबद्ध घटक दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा तालमेलको मोडालिटी टुङ्गो लगाउनु अघि जिल्ला अध्यक्षहरू पालिकास्तरीय रिपोर्टिङसहित समीक्षा गर्ने गरी दुई वा तीन चरण गरी जिल्ला अध्यक्षहरूसँग बैठक बस्न लागेको जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले बताए ।

उनले भने, ‘जिल्लागत रूपमा पालिकाको रिपोर्टिङपछि सोमबार बसेको बैठकबाट पालिकाको सिट बाँडफाँटका लागि मोडालिटी तयार पार्नका लागि छलफल भएको थियो । सो भन्दा पहिला पाँच वटै पार्टीका ८ वटै जिल्लाका अध्यक्षहरूसँग कुराकानी गरेर आज निष्कर्षका लागि सकारात्मक छलफल भइरहेको छ ।’

एमालेले जितेको पालिकामा नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । तर सो पालिकाहरूमा भने काँग्रेस र जसपाले पनि दाबी गरेपछि टुङ्गोमा पुग्न समय लागेको हो । यस बैठकमा काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साह र गठबन्धन घटक दलका प्रदेश तथा जिल्ला अध्यक्षहरू एवं नेताहरूको समेत सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप