शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको गृहजिल्लामा यस्तो छ एमाले र राप्रपा नेपालबीच तालमेलको खाका

एक पालिका प्रमुख र चार पालिका उपप्रमुखमा राप्रपा नेपालको दाबी
बुधबार, ०७ वैशाख २०७९, १२ : ५०
बुधबार, ०७ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन आपसमा तालमेल गरेर जाने भएसँगै प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि साना दलसँग तालमेल गर्ने भएको छ । सोही क्रममा एमालेले राप्रपा नेपालसँग तालमेल गर्ने निर्णय गरिसकेको छ ।

सोही अनुसार मकवानपुरमा नेकपा एमाले र राप्रपा नेपालबीच भागबण्डा मिलाउन प्रयास भइरहेको छ । दुवै दलले पार्टीको आन्तरिक बैठकलाई तीव्रता दिनुका साथै जिल्लामा भागबण्डा मिलाउन संयुक्त बैठकसमेत गरेका छन् ।

राप्रपाबाट पूर्वअध्यक्ष कमल थापा अलग भइ राप्रपा नेपाल ब्युँताएपछि मकवानपुरमा राप्रपाको शक्ति विभाजित अवस्थामा छ । मकवानपुरमा राप्रपाको सिङ्गो जिल्ला कमिटी नै राप्रपा नेपालमा समाहित भए पनि केही नेता तथा कार्यकर्ता पुनः राप्रपामै फर्किएका छन् ।

राजसंस्थाको एजेण्डा त्यागेर हिन्दु राष्ट्रको वकालत गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन गरी सूर्य चिह्नबाट चुनाव लड्दै छ । मकवानपुर कमल थापाको गृहजिल्ला पनि हो । त्यसैले एमालेले यहाँ राप्रपा नेपाललाई सम्मानजनक भाग दिने प्रस्ताव गरिसकेको स्रोत बताउँछ ।

एमाले र राप्रपा नेपालले मकवानपुरको वडा र पालिका तहबाटै भागबण्डाका विषयमा निर्णय लिने उद्देश्य अनुसार छलफल सुरु गरेका छन् । भागबण्डाका बारेमा निर्णय लिन पालिकास्तरको जनमतलाई पनि आधार मान्ने जनाइएको छ ।

हेटौंडाको उपमेयरसहित एक पालिका प्रमुख र ४ उपप्रमुखमा राप्रपा नेपालको दावी

राप्रपा नेपालले आगामी निर्वाचनमा मकवानपुरको १० पालिकामध्ये एउटा पालिका प्रमुख र ५ वटा उपप्रमुख आफूलाई दिन एमालेसँग माग गरेको छ ।

राप्रपा नेपालले मंगलबार एमालेसँगको छलफलमा एउटा प्रमुख र ५ उपप्रमुखसहित विगतमा एमालेले हारेका वडामा राप्रपा नेपालका उम्मेदवारलाई टिकट दिन माग गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जनाए ।

‘हामीले बागमती गाउँपालिकाको अध्यक्ष, हेटौंडा उपमहानगरपालिकाको उपमेयर, मनहरी, मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको उपप्रमुख पद माग गरेका छौँ,’ उनले भने, ‘हामीले अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका वडाहरूमा पनि राप्रपा नेपालको तर्फबाट उम्मेदवार बनाउन प्रस्ताव गरेका छौँ ।’

एमालेसँगको छलफल अत्यन्तै सकारात्मक भएको उनले बताए । उनले भागबण्डाको विषय टुङ्ग्याउन दुवै दलबीच स्थानीयस्तरमा आवश्यक छलफल गरी उम्मेदवार सिफारिस गर्न निर्देशन गरिएको बताए ।

वैशाख ९ गतेसम्ममा निर्वाचनको तालमेल र उम्मेदवारको विषय टुङ्गो लाग्ने उनको भनाइ छ ।

‘राप्रपा नेपालको प्रस्ताव जायज’

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले आगामी निर्वाचनमा राप्रपा नेपाल पनि एमालेबाटै चुनाव लड्ने भएकाले भागबण्डाको विषयमा समस्या नहुने बताए । उनले मंगलबारको छलफल सकारात्मक रहेको उल्लेख गर्दै राप्रपा नेपालले माग गरे अनुसारको पालिका प्रमुख र उपप्रमुखसहित वडा तह दिन आफूलाई आपत्ति नरहेको जनाए ।

‘राप्रपा नेपाल र एमाले चुनावी तालमेल गरी एमालेबाटै चुनाव लड्ने हो । भागबण्डामा कुनै समस्या हुँदैन । हिजोको छलफल सकारात्मक भएको छ,’ उनले भने, ‘उहाँहरुले प्रस्ताव गरेअनुसार नै अघि बढ्न हामी तयार छौं ।’

भागबण्डा र उम्मेदवार छनौट स्थानीय तहमा छलफलबाटै टुङ्गो लाग्ने पनि उनले बताए । राप्रपाले मागेकै पालिका नै हुन्छ भन्ने अवस्था नरहेको भन्दै पालिकाहरु फेरबदल हुन सक्ने उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप