शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलहरूको उम्मेदवार सिफारिस मोडल थरिथरिका

स्थानीय चुनावमा केन्द्रको निर्णय हाबी
बिहीबार, ०८ वैशाख २०७९, ०६ : १७
बिहीबार, ०८ वैशाख २०७९

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटका लागि राजनीतिक दलहरूले थरिथरिका मोडल अपनाएका छन् । कुनै दलले सर्वसम्मतिबाट उम्मेदवारको टुङ्गो लगाएका छन् भने कुनै दलमा विवाद उत्पन्न हुँदा चुनावी प्रक्रिया अपनाएर उम्मेदवार छनौट गरिएको छ । निर्वाचन आयोगले बनाएको चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम नजिकै आइसक्दा दलहरूलाई उम्मेदवार छान्न सकस परिरहेको छ । उम्मेदवारका आकाङ्क्षी धेरै भएका कारण तथा गठबन्धन दलहरूबीच भागबण्डा नमिलेका कारण पनि उम्मेदवार छनौटमा समस्या भएको हो । 

ललितपुरको कोन्ञ्जोसोम गाउँपालिकामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका दाबेदार ५ जना देखिए । सहमतिमा उम्मेदवार छान्न समस्या भएपछि दाबेदारहरूको नाम प्रदेश कमिटीमा पठाइयो । त्यस मध्येबाट प्रदेश कमिटीले जसलाई छनौट गर्छ, उही उम्मेदवार हुने माओवादी केन्द्रका बागमती प्रदेश सदस्य एवं सो गाउँपालिका अध्यक्ष गोपीलाल स्याङ्तानले रातोपाटीलाई बताए । 

उनले गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि स्थानीयले माग गरेकाले आफू पनि दाबेदार रहेको बताए । उम्मेदवार छनौटका लागि मतदान गर्ने भन्ने कुरा नरहेको र प्रदेश कमिटीमा छिट्टै छलफल भएर उम्मेदवार छानिने उनले जनाए । 

उता नुवाकोटको ककनी गाउँपालिकामा भने माओवादी केन्द्रबाट उम्मेदवारका प्रत्याशी धेरै भएपछि मतदानबाट २ जनाको नाम सिफारिस भएको छ । गाउँपालिका अध्यक्षको उम्मेदवारीका लागि आकाङ्क्षी रहेका १० जनामध्ये सुमन तामाङ र मानबहादुर लामा बहुमतबाट सिफारिस भएको माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले जानकारी दिए ।  

लामिछानेले भने, ‘उम्मेदवार छान्ने हाम्रो पार्टीको कार्यविधिअनुसार सर्वसम्मत रूपमा एकजना मात्र उम्मेदवार छान्नु भन्ने छ । सर्वसम्मत भएन भने बहुमतले निर्णय गर्नु भन्ने छ । बहुमतले छान्नु भनेको त मतदान प्रक्रियाबाट नै छान्नु हो, आकाङ्क्षी धेरै भएको र सर्वसम्मत नभएको ठाउँमा त्यसरी पनि उम्मेदवारको सिफारिस भएको छ ।’

उनले वडाध्यक्ष र वडा सदस्य सर्वसम्मत भएमा पालिका समितिले नै निर्णय गर्ने, पालिकाको अध्यक्ष–उपाध्यक्षको उम्मेदवारबारे निर्णय गर्न प्रदेश समिति समक्ष सिफारिस गर्ने र प्रदेश समितिले टुङ्गो लगाउने पार्टीको विधि रहेको बताए । ककनीबाहेक जिल्लाको अरु पालिकामा सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने काम भइरहेको उनको भनाई छ । 

यसरी उम्मेदवार छान्दैछन् दलहरू 

नेपाली काँग्रेसले महानगरपालिकाका लागि केन्द्रीय समितिबाट उम्मेदवार छान्ने नीति बनाएको छ । काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार काँग्रेसले  इमान्दार, आवश्यकता र पार्टीमा लामो समयदेखि काम गरेको व्यक्तिलाई उम्मेदवार  बनाउने नीति रहेको बताए । यस्तै पार्टीको तल्लो तहमा भने त्यहाँ जे सहमति हुन्छ, त्यसलाई पार्टीले मान्ने उनले बताए । 

वडा तहको उम्मेदवार वडामै सहमति गर्नुपर्ने र सहमति नजुटेमा क्षेत्रीय समितिले टुङ्गो लगाउने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटे जिल्ला समितिले टुङ्गो लगाउने, नगरपालिकाको उम्मेदवारमा सहमति नजुटे प्रदेश समितिले टुङ्गो लगाउने, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीमा सहमति नजुटे केन्द्रीय समितिले टुङ्गो लगाउने नीति रहेको प्रवक्ता महतले रातोपाटीलाई जानकारी दिए ।

यस्तै नेकपा एमालेले हाल जनप्रतिनिधि रहेका र राम्रो काम गरिरहेकाहरूलाई पुनः सोही पदका लागि उम्मेदवार बनाउने गरी काम गरिरहेको छ । अघिल्लो चुनावमा एमालेले ४५ प्रतिशत स्थानीय तहमा चुनाव जितेको र ती स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिहरू पुनः दोहोरिन सक्ने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

यता माओवादी केन्द्रले भने स्थानीय तहमा उम्मेदवार सिफारिस गर्दा सर्वसम्मत ढङ्गले उम्मेदवार तय गर्ने नीति लिएको छ । यस्तै महिला उम्मेदवारलाई प्राथमिकता दिने माओवादी केन्द्रको नीति छ । 

यस्तै जनता समाजवादी पार्टीले महानगरपालिकाको उम्मेदवारको तय केन्द्रले गर्ने र अन्य पालिका तथा वडाका लागि स्थानीय कमिटीबाटै सहमति जुटाउने गरी उम्मेदवार छनौटको काम गरिरहेको छ । पार्टीको स्थानीय स्तरको कमिटीलाई नै उम्मेदवार छनौटको अधिकार दिइए पनि सो क्रममा विवाद भएमा माथिल्लो कमिटीमा विवाद समाधान समिति बनाएर उम्मेदवार छनौटको अधिकार दिइएको पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तिायाक राईले जानकारी दिए । 

पालिका प्रमुखका लागि पालिकामै रहेको कमिटीले सिफारिस गर्ने, महानगर र उपमहानगरपालिका उम्मेदवारको पनि जिल्ला तहले निर्णय गर्ने, विवाद भएको अवस्थामा मात्रै प्रदेश कमिटीको भूमिका हुने राईको भनाई छ  । 

यता राप्रपाले पनि स्थानीय तहको उम्मेदवार छनौटको जिम्मा पार्टीको तल्ला तहको कमिटीलाई दिएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार योग्य, स्वच्छ छविको, स्थानीय तहमा प्रभाव भएको मान्छेलाई उम्मेदवार बनाउने पार्टीको नीति रहेको छ । पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध र चुनाव जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने उनले बताए । 

यस्तै नेपाल मजदुर किसान पार्टीले पनि स्थानीय तहमै सल्लाह गरेर उम्मेदवार तय गर्दैछ । स्थानीय तहमा छलफल गरेर केन्द्रमा केन्द्रमा पठाउने नीतिअनुसार काम गरिरहेको नेता प्रेम सुवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप