बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : दैलेखमा एमालेले जोगाउला वर्चश्व ?

बिहीबार, ०८ वैशाख २०७९, ०७ : २७
बिहीबार, ०८ वैशाख २०७९

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दैलेखका ११ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख जितेको थियो । ९० वटा वडामध्ये आधाभन्दा बढीमा एमाले हावी भएको थियो । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसले चारवटा पालिकामा प्रमुख/उपप्रमुख सहित ३० भन्दा बढी वडामा जितेको थियो भने नेकपा माओवादी जनमतका आधार तेस्रो शक्ति भए पनि कुनै पालिकामा जित हासिल गर्न सकेन । दैलेखमा नेपाल मजदुर किसान पार्टीले ३ र राप्रपाले एउटा वडा जितेका छन् ।

वैशाख ३० हुने निर्वाचन नजिकिएसँगै दलहरु उम्मेदवारको टुङ्गो लगाउने तयारीमा छन् । ०७४ मा बलियो शक्तिका रुपमा रहेको नेकपा एमाले अहिले विभाजन भइसकेको छ । एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएको छ भने दैलेख एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाको गृह जिल्ला हो । त्यो हिसाबले दैलेखमा नेकपा एमालेलाई कम चुनौती छैन ।

दैलेखमा एमालेभित्रै एकता छैन । कर्णालीका सभामुख राजबहादुर शाही र एमाले प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहको गृह नगर ठाटीकाँधका उम्मेदवार छनोटमा धौधौ भएको छ । त्यहाँ एमालेभित्रै तीनवटा समूह छन् । एमालेभित्र स्थानीय नेताहरु शीर्ष नेताहरुको दबावका कारण छायामा छन् । यद्यपि, एमाले दैलेखका इञ्चार्ज लक्ष्मी पोखरेल ०७४ मा ५२ प्रतिशत एमालेले जितेकोमा अहिले त्योभन्दा बढी सीट ल्याउने दाबी गर्छन् ।

अर्कोतिर, सत्तारुढ गठबन्धनका अहिलेसम्म १२ वट बैठक बसिसकेका छन् भने गठबन्धनको सम्पर्क कार्यालय समेत स्थापना भइसकेको छ । एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुनाथ योगी गठबन्धनभित्र भागबण्डामा समस्या भएकाले समाधानका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको बताउँछन् ।

गठबन्धनभित्र भागबण्डामा समस्या

दैलेखमा गठबन्धनभित्र काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा छन् । माओवादीले तीन गाउँपालिका (ठाटीकाँध, नौमुले, भगवतीमाई) र एउटा नगरपालिकामा दाबी गरेको छ भने त्यही संख्यामा समाजवादीले पनि माग गरेको छ । तर काँग्रेसले दुबै दलले हैसियतभन्दा माथि उठेर भाग खोजेको बताएको छ ।

०७४ मा कुन दलको अवस्था कस्तो ?

आठबीस नगरपालिका

प्रमुखमा एमालेका खड्गराज उपाध्यायले ३ हजार ९२७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका प्रेमप्रकाश शाहीले ३ हजार ८८० र नेमकिपाका तर्कबहादुर बडुवालले दुई हजार १०४ मत पाएका थिए । उपप्रमुखका काँग्रेसकी दीपा बोहोराले सबैभन्दा धेरै मत ४ हजार १८७  पाएकी थिइन् । एमालेकी गमता विकले ३ हजार ९९०, माओवादीका झरना माझीले एक हजार ७९५ मत पाएकी थिइन् ।

चामुन्डाविन्द्रासैनी नगरपालिका

यहाँ एमालेका सूर्यबहादुर शाहीले २ हजार ७७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा काँग्रेसका गणेशकुमार शाहीले २ हजार ६७० र माओवादीका रणबहादुर खड्काले ८१३ मत मात्र पाए । यहाँ माओवादी भन्दा नेपाल मजदूर किसान पार्टीको मत धेरै छ । उपप्रमुखमा एमालेकै ताराकुमारी (खत्री)ले २ हजार नौ सय ५४ मत ल्याएर निर्वाचित हुँदा नेमकिपाको दोस्रो मत (१२१३) छ ।  यो नगरपालिकामा नेमकिपा निर्णायक शक्ति हो ।

दुल्लू नगरपालिका

काँग्रेसका घनश्याम भण्डारीले ६ हजार ३४९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बरुनाथ योगीले ६ हजार २८० र माओवादीका ढकेन्द्रबहादुर शाहीले एक हजार ९२३ मत पाएका छन् । अहिले एमालेका योगी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बनेका छन् । 

उपप्रमुखमा एमालेका विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी कृष्ण कुमारी शाहीले ६ हजार १०९ र तेस्रो स्थानमा माओवादीले मत पाएको छ ।

नारायण नगरपालिका

सदरमुकामसमेत रहेको यहाँ प्रमुख/उपप्रमुख नै एमालेले जितेको छ । एमालेका रत्नबहादुर खड्काले चार हजार ७२५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मणिराम रेग्मीले चार हजार ४५१, माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेका सावित्री मल्ल (४८६६) निर्वाचित भएकी थिइन् । उनी अहिले एकीकृत समाजवादीमा लागेकी छन् । उपप्रमुखमा काँग्रेसले दोस्रो र राप्रपाले तेस्रो स्थान लिएका छन् ।

नौमुल गाउँपालिका

यहाँ अध्यक्ष उपाध्यक्ष नै काँग्रेसले जितेको छ । काँग्रेसका भदे बुढा मगरले ३ हजार १५२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लिलबहादुर राम्जालीले दुई हजार ६४४ र माओवादीका छविराम सुवेदीले एक हजार ६२८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा काँग्रेसकी अमृता सिंहले ३ हजार २८० मत ल्याएर निर्वाचित हुँदा एमालेकी झरना चन्दले २ हजार ७३४ मत र माओवादीकी चन्द्रा थापा मगरले एक हजार ४१९ मत प्राप्त गरेकी छन्  ।

भगवतीमाई गाउँपालिका

यहाँ एमालेका दानबहादुर थापाले दुई हजार ३२९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दशरथ खड्काले एक हजार ८८९, माओवादीका गणेशबहादुर थापाले एक हजार ६७२ र राप्रपाका कमलबहादुर शाहीले ६५६ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा रेग्मीले २ हजार ४२१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मिना कुमारी खड्काले १ हजार ८८९, माओवादी केन्द्रकी डिल कुमारी विकले एक हजार ३७८ पाइन् ।

भैरवी गाउँपालिका

यहाँ पनि अध्यक्ष उपाध्यक्षमा एमालेले वर्चश्व जमाएको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बुढाले तीन हजार पाँच सय ८४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका जनार्दन ज्ञवालीले तीन हजार ७७ र माओवादीका मणिराम विष्टले ३०१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेका पदमकुमारी विष्टले ३ हजार ४८३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी वसन्ता थापाले २ हजार  ९८२ र तेस्रो स्थानमा माओवादीले मत प्राप्त गरेको छ ।

महावु गाउँपालिका

यहाँ पनि अध्यक्ष/उपाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भए । पार्टी विभाजनपछि भने दुवै नेकपा एकीकृत समाजवादीमा छन् । एमालेबाट जंगबहादुर शाहीले ३ हजार ५२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९००, माओवादीका जंगबहादुर बरालले ७३३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेबाट प्रेमकुमारी बुढाले ३ हजार ५०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी मञ्जुर कुमारी शर्माले २ हजार ८८७ र माओवादीकी रुपकला रावतले ८३८ मत ल्याएकी छन् ।

गुराँस गाउँपालिका

यहाँ प्रमुख/उपप्रमुख काँग्रेसले जितेको छ । अध्यक्षमा काँग्रेसका खेमराज ओलीले ४ हजार १६४ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रेमबहादुर खड्काले ३ हजार ४२३, माओवादीका कृष्णप्रसाद पाण्डेले ४९९, नेमकिपाका उदयजंग शाहीले ३०६, राप्रपाका रतिमान खड्काले २२२ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकै दीपाकुमारी बिसीले ४ हजार ३७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी प्रभादेवी गुरुङले ३ हजार ५६९ र माओवादीकी निर्मा शाहीले ४७२ मत प्राप्त गरेकी छन् ।

ठाटीकाँध गाउँपालिका

यहाँ अध्यक्ष/उपाध्यक्ष दुवैमा एमालेले जितेको छ । अध्यक्षमा धीरबहादुर शाहीले १ हजार ९२४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका रक्षबहादुर शाहीले १ हजार ५६२, माओवादीका योगेन्द्रविक्रमराज थापाले १ हजार ३०६ मत ल्याएका थिए । नेमकिपाका जयबहादुर थापाले ८५८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेबाट सुस्मिता सिंहले १ हजार ९७८ मत ल्याएर निर्वाचित भएकी थिइन् । अहिले उनी एकीकृत समाजवादीमा लागेकी छन् । उपाध्यक्षमा काँग्रेसले दोस्रो र माओवादीले तेस्रो मत स्थानमा जनाधार पाएका छन् ।

डुंगेश्वर गाउँपालिका

यहाँ अध्यक्ष उपाध्यक्ष काँग्रेसले जितेको छ । काँग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका मानबहादुर विष्टले दुई हजार ४६९ र माओवादीका खगेन्द्रबहादुर पुन मगरले ४२३  मत पाए ।

उपाध्यक्षमा काँग्रेसकी सीता ज्ञवालीले २ हजार ६२८ मत प्राप्त गरेर निर्वाचित भएकी थिइन् । एमालेकी कलावती न्यौपानेले २ हजार ६१८ र माओवादी तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप