शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

असन्तुष्टिको स्वर लोकतन्त्रको सुन्दर पक्ष, केही दिनमा साम्य हुन्छ : प्रचण्ड

बिहीबार, ०८ वैशाख २०७९, ०९ : १८
बिहीबार, ०८ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको जिकिर गरे । उनले भने, ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन् । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले ८ दल कहिले ९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्छ ।’

उनले केन्द्रमा भएको सहमतिसँगै अन्य ठाउँमा पनि गठबन्धनबीच तालमेल हुन्छ भन्ने विश्वास आफूले लिएको सुनाए । ‘हामीले हिजोको वक्तव्यमा पनि गठबन्धनमा अधिकतम जोड गर्ने भनेका छौँ । तलका साथीहरूले पनि त्यही भावना र मर्मलाई आत्मसात् गर्ने अपेक्षा छ । कहीँ कतै समस्या भयो भने स्वस्थ प्रतिस्पर्धाको ठाउँ बाँकी राखेका छौँ । तर आ–आफै प्रतिस्पर्धालाई प्राथमिकता दिने चाहिँ भनिएको होइन ।’

अध्यक्ष प्रचण्डले सुरुदेखि गठबन्धनले चुनाव सार्छ भन्ने कन्फ्युजन पार्न खोजिए पनि त्यो गलत भएको बताए । ‘मैले सुरुदेखि नै निर्वाचन सर्दैन भन्दै आएको थिएँ । गठबन्धन दृढतापूर्वक निर्वाचनमा गइसकेको छ । अब केही कन्फ्युजन छैन होला । अब यो निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउनुपर्छ र व्यापक जनसहभागिता सुनिश्चित गर्नुपर्छ । सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढ र विस्तारको क्रम राम्रोसँग अघि बढेको प्रचण्डले सुनाए । विभाजित भएकाहरू पनि माओवादी केन्द्रसँग जोडिने प्रक्रिया राम्रो देखिएको उनको भनाई थियो ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले गभर्नर प्रकरणमा के हुन्छ भन्ने चैत १३ गतेपछि मात्र थाहा हुने बताए । उनले गभर्नर र सरकारको बीचमा समस्या देखिएपछि अर्थमन्त्री र प्रधानमन्त्रीको सल्लाहमा नै सो निर्णय गरिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप