बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा भागबण्डा : अन्य दल उत्साहित, काँग्रेसमा विद्रोहको सङ्केत

बिहीबार, ०८ वैशाख २०७९, २० : ५०
बिहीबार, ०८ वैशाख २०७९

सत्तारुढ ५ दलीय गठबन्धनले महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा गरेपछि दलहरूभित्र मिश्रित प्रतिक्रिया देखिएको छ ।  गठबन्धनबीच उपमहानगर र महानगरको भागबण्डा टुङ्गएपछि अन्य दलले स्वागत गरिरहँदा जनकपुर उपमहानगरपालिका आफ्नो भागमा नपरेको भन्दै काँग्रेस नेताहरु आक्रोशित बनेका हुन् ।

नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला अध्यक्ष दीपक यादवले गठबन्धनले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए । उनले गठबन्धनको निर्णयलाई स्वागत गर्दै व्यवहारिकरुपमै कार्यान्वयन गर्ने बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले गठबन्धनको निर्णय आएपछि यसको आन्तरिक तयारीमा जुटेको जानकारी दिए । उनले जनकपुरधाम उपमहानगरका लागि मेयर पद भागबण्डा परेपछि उम्मेदवार छनोटका लागि शुक्रबार पार्टीको बैठक बसेर टुङ्गो लगाउने बताए । योसँगै प्रचारप्रसार समिति, बुथ परिचालन समिति, गठबन्धनसँग समन्वय सहकार्यका लागि पालिकास्तरीयसम्म समिति निर्माण र कार्यकर्ता परिचालन तथा व्यवस्थापन समितिलगायत विभिन्न वडा कमिटीसम्म निर्माण तथा विस्तार गर्नका लागि गृहकार्य थालिसकेको जानकारी दिए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी धनुषाका अध्यक्ष रामचन्द्र पण्डितले केन्द्रीय गठबन्धनको निर्णयलाई मानेर अघि बढ्नुपर्नेको विकल्प नरहेको प्रतिक्रिया दिए । उनले महानगर र उपमहानगरका लागि माथिल्लो स्तरबाटै निर्णय भएकाले छिट्टै नै प्रदेश तथा जिल्लास्तरबाट पनि पालिकाका लागि बाँडफाँडका लागि लागि परेको बताए ।

तर काँग्रेस धनुषाका सहसचिव विजय यादवले भने केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई मान्नुपर्ने बाध्यता रहे पनि तल्लो कमिटीको निर्णय अनुसार नभएकाले यसप्रति जिल्ला पार्टीमा छलफल हुने जानकारी दिए । काँग्रेस जनकपुरधाम उपमहानगर कमिटीका नगर सभापति मनोजकुमार साहले भने केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई नमान्ने बताउँदै आएका छन् । उनी गठबन्धन विरुद्ध उम्मेदवारी दिने आन्तरिक तयारीमा समेत लागिपरेका छन् । जनकपुरधाम उपमहानगरमा काँग्रेसबाट विद्रोह गर्ने तयारी थालेको उनले जानकारी दिए ।

सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गर्दा यसको फाइदा अन्य राजनीतिक दलले उठाउने सम्भावना प्रबल रहेको देखिन्छ । गठबन्धनभित्र अन्तर्घात नभए काँग्रेस र जसपा फेरि पनि मधेसमा थप सशक्त हुने आङ्कलन राजनीतिक विश्लेषकहरूले गरेका छन् । तर स्थानीय स्तरमा चुलिएको विवादले गठबन्धनभित्र अन्तर्घात हुने खतरा देखिएको छ ।  पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह मेयरमा निर्वाचित भएका थिए । मेयर साहले २१ हजार ९ सय ३ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनोजकुमार साहले ११ हजार १ सय ६४ मत ल्याएका थिए । नेकपा एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५, तत्कालीन सङ्घीय समाजवादी फोरमले ३ हजार ६ सय १२ र माओवादी केन्द्रका उम्मेदवारले २ हजार १ सय २८ मत ल्याएका थिए ।

अहिले जनकपुरधामका नगरप्रमुख लालकिशोर साह जसपामा छन् । तत्कालीन राजपा र तत्कालीन सङ्घीय समाजवादी पार्टी मिलेर बनेको जसपा विभाजनपछि लालकिशोर जसपातर्फ लागे । जनकपुरधाम उपमहानगरपालिका सत्तारुढ गठबन्धनको भागबण्डामा जसपालाई परेपछि फिर लालकिशोर नै जसपाबाट उम्मेदवारमा बन्ने सम्भावना रहे पनि उनको विकल्पको पनि खोजी भइरहेको जसपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप