शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

बिहीबार, ०८ वैशाख २०७९, २२ : ४४
बिहीबार, ०८ वैशाख २०७९

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।

जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्चा गरिएको छ ।

निलकाजी शाक्य

काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा एक नम्बरमा सिफारिस शाक्य २०३६ सालको विद्यार्थी आन्दोलनबाट काँग्रेस राजनीतिमा प्रवेश भएका थिए । २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा शाक्यको सक्रिय सहभागिता थियो ।

उनी २०४३ सालमा पब्लिक युथ क्याम्पसमा स्ववियु सभापति बनेका थिए । शाक्य तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष छन् । १४ औं महाधिवेशन अन्तरगत उनी काँग्रेस काठमाडौं महानगरपालिका सभापति निर्वाचित भएका थिए । उनी काठमाडौ महानगरपालिका विपत्त व्यवस्थापन समितिको संयोजक, जेष्ठ नागरिक हिमालय बूढापाका समाज नेपालको अध्यक्ष र मछिन्द्र क्लबको संस्थापक सदस्य बनेका थिए ।

उनी हारती माता सामाजिक सेवा संघका प्रमुख सल्लाहकार र नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुन् । उनले विभिन्न चलचित्र टेलिभिजन सिरियलमा पनि अभिनय गरेका थिए ।

सिर्जना सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी छन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ । सिर्जनाले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।

०३६ सालदेखि ३८ सालसम्म  उनी नेविसंघको क्याम्पस  इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।

०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि सिर्जना राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन् । १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

गत मंसिरमा महाधिवेशन प्रतिनिधि बनेकी सिर्जना वैशाखमा काठमाडौं मेयरको उम्मेदवारका रुपमा सिफारिस भएकी छन् ।

हरिप्रभा खड्गी

काठमाडौं महानगरकी वर्तमान उपमेयर खड्गीलाई काँग्रेसले मेयरका लागि सिफारिस गरेको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट काठमाडौं महानगरको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । खड्गी काँग्रेसको भ्रातृ संस्थाबाट उदाएकी नेतृ हुन् ।  काँग्रेसका भ्रातृ संस्थाका इकाइ, क्षेत्र, जिल्ला हुँदै उनी केन्द्रको राजनीतिमा आएकी थिइन् ।

खड्गी काँग्रेस निकट नेपाल महिला संघको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्य बनिन् । हाल उनी काँग्रेस महाधिवेशन प्रतिनिधि समेत छिन् । काँग्रेसको १४ औं महाधिवेशनमा खड्गी आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यको प्रत्यासी थिइन् । तर उनी पराजित हुन पुगिन् ।

सुसन वैद्य

संस्कृति र सम्पदा अभियन्ताका रुपमा परिचित युवा सुसन वैद्यलाई पनि काँग्रेसले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । हाल उनी काँग्रेस काठमाडौं महानगर समितिका सचिव छन् । पार्टीले उनलाई महानगर समितिको  प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।   वैद्यले काँग्रेसको भ्रातृ संस्था नेविसंघमा लामो समय राजनीतिमा गरेका थिए ।  उनी नेपाल इन्जिनियर संघका पदाधिकारी भएका थिए । वैद्यले राष्ट्रिय योजनाका परामर्श दाताको समेत काम गरेका थिए ।

वैद्य ‘लिवएभल काठमाडौं’ (बाँच्न योग्य काठमाडौं) संस्थामार्फत यहाँको संस्कृति र सम्पदा क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट इन्जिनियर हुन् ।

प्रगतिमान रञ्जित

प्रगतिमान रञ्जित काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलबाट उदाएका काठमाडौंका चर्चित युवा नेता हुन् । उनी २०५६ सालमा तरुणको काठमाडौं महानगर अध्यक्ष भएका थिए । २०५९ सालमा सम्पन्न अधिवेशनबाट रञ्जित फेरि तरुण दलको अध्यक्षमा निर्वाचित भएका थिए।

उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव पनि भइसकेका व्यक्ति हुन्।  गोपालमान श्रेष्ठ संयोजकत्वमा संगठन विभागका सदस्य भएका थिए । उनी १४ औं महाधिवेशन अन्तरगत काठमाडौं महानगरपालिकाको सभापतिमा उम्मेदवार बनेका थिए । उनी निलकाजी शाक्यसँग पराजित भए । अहिले शाक्यसँग उनी पनि मेयरको उम्मेदवारका रुपमा अन्तिम नम्बरमा सिफारिस भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप