शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिन स्विप’ गर्छ : इन्द्र बानियाँ

'सिट बाँडफाँटमा काँग्रेस लचक छ, समाजवादी संवेदनशील बन्नुपर्छ'
शुक्रबार, ०९ वैशाख २०७९, ०६ : ०२
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती प्रदेशका सबै पालिका जित्ने गरी गृहकार्य भइरहेको बताए ।

रातोपाटीसँगको कुराकानीमा उनले पाँच दलीय गठबन्धनभित्र मन र मत मिलाएर सबै पालिका जित्ने दाबी गरे । शुक्रबारसम्म बागमतीका १३ जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँट भइसक्ने बानियाँको भनाइ छ ।

काँग्रेस र माओवादीबीच सिट बाँडफाँटमा खासै समस्या नभएको भन्दै उनले एकीकृत समाजवादीसँग मन र मत मिलाउन समय लागेको बताए । स्थानीय तहको निर्वाचनकै सन्दर्भमा रातोपाटीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ प्रदेश सभापति बानियाँसँग गरिएको कुराकानीको सम्पादित अंश–

बागमती प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेलको गृहकार्य कहाँ पुग्यो ?

सत्ता गठबन्धनको बागमती प्रदेश संयन्त्रमा निरन्तर संवाद र छलफल भइरहेको छ । प्रदेशका १३ जिल्लामा सिट बाँडफाँटको सहमति नजिक पुगेका छौं । आज–भोलिसम्म हामी टुंगोमा पुग्छौं । बागमती प्रदेशमा ११९ स्थानीय तहमा सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ ।

गठबन्धनको जिल्ला संयन्त्रले टुङ्ग्याउन नसकेका गाउँ र नगरपालिकाको भागबण्डा प्रदेश संयन्त्रले कसरी टुङ्ग्याउँदै छ ? केन्द्रले बनाइदिएको मापदण्डअनुसार हो कि कुनै अन्य ढङ्गले छलफल अगाडि बढेको छ ?

नगरपालिका र गाउँपालिकाको सम्बन्धित जिल्लाको गठबन्धन संयन्त्रले सकेसम्म टुङ्ग्याउन र नसके प्रदेशमा पठाउने काम भएको छ । जिल्लाबाट आएको रिपोर्टलाई प्रदेशको गठबन्धन संयन्त्रको बैठक बसेर त्यसको अन्तिम निष्कर्षमा पुर्‍याउने भन्ने छ । हामीले केन्द्रले पठाएको मापदण्डलाई नै आधार बनाएका छौं । काँग्रेस र माओवादीले जितेको स्थानीय तह उसलाई छोड्ने गरी छलफल अगाडि बढेको छ । एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादी रोजेका जनप्रतिनिधिलाई प्राथमिकता दिइने छ । नगरपालिका र गाउँपालिकामा एमालेसँग दोस्रो मत पाएकोलाई मेयर तथा अध्यक्ष दिइने छ । यस्तै तेस्रो हुनेलाई उपमेयर र उपाध्यक्ष दिएर जानुपर्छ भन्ने छ । एकीकृत समाजवादीलाई पनि उपमेयर र उपाध्यक्ष दिएर जानुपर्ने देखिएको छ ।

मन र मत जोडेर जानुपर्छ भन्ने हाम्रो साझा धारणा छ । काँग्रेसले बागमती प्रदेशका ३५ पालिका प्रमुख जितेको छ भने ५० ठाउँमा दोस्रो भएको छ । ११९ पालिकामध्ये काँग्रेसले ८५ ठाउँमा प्रमुख पाउने अवस्था छ । बाँकी ३४ पालिकामध्ये माओवादीले १६ ठाउँमा मात्र प्रमुख जितेको छ । त्यसकारण मत पनि हेर्नुपर्ने छ, मन पनि मिलाउनुपर्ने छ । गठबन्धनको भावना र मर्मलाई बुझ्नुपर्ने छ । वर्तमान व्यवस्थाको रक्षा, विकास, एमसीसीमा आउँदै गर्दाको सहमतिलाई मध्यनजर गरी काँग्रेस पहिलो र दोस्रो भएको धेरै स्थान भए पनि मत र मन मिलाउन काँग्रेस केही लचिलो भएर अगाडि बढ्न तयार छ । यसमा माओवादी पनि समझदारीमा आउन तयार छ ।

त्यसो भए समस्या एकीकृत समाजवादीमा हो ?

समाजवादीको व्यवस्थापकीय समस्या छ । एमालेबाट छुट्टिएर आएकाले मतलाई मिलाउने अवस्था छैन । अहिले आएको संख्यालाई दिने कुरा भयो । अर्को कुरा व्यवहारिक समझदारी गरेर उहाँहरुले दिएको साथलाई महत्वपूर्ण रुपमा हामी सँगै जानुपर्ने भएको छ । उहाँहरुले पनि आफ्नो मतलाई हेर्नुपर्‍यो । भोलि उहाँहरुलाई दिएको सिट ‘लुज’ भएर एमाले जित्ने अवस्था भयो भने गठबन्धनमा समस्या आउँछ । त्यसैले उहाँहरु संवेदनशील भइदिनुभयो भने अगाडि बढ्न सजिलो हुन्छ । बरु भोलि प्रदेश र प्रतिनिधिसभाको सांसदमा उहाँहरुलाई प्राथमिकता दिन सकिन्छ । स्थानीय तहमा उपस्थिति जनाएर प्रमुख पदमा धेरै दाबी नगर्दा गठबन्धनलाई अगाडि बढाउन अलि राम्रो हुन्छ कि भन्ने हाम्रो धारणा हो ।

तपाईले भने अनुसार केन्द्रले बनाएको मापदण्ड अनुसार बागमतीका ८५ पालिकामा काँग्रेसले प्रमुख पाउने अवस्था छ । तर तालमेल गरेर जाँदा काँग्रेसले ८५ पालिका प्रमुख पाउने अवस्था देखिँदैन । कार्यकर्तालाई कसरी मनाउनुहुन्छ ?

गणेशमान सिंहले प्रधानमन्त्री त्यागेको पार्टीको कार्यकर्ता हुँ भनेर पार्टीका सबै तहका नेता कार्यकर्ताले मान्नुपर्छ । हामी पद्धतिका लागि लडाइँ लडेका हौं, पदका लागि होइन भनेर पहिला मनमा राख्यो भने पीडा हुँदैन । गठबन्धन यो व्यवस्थाको रक्षाका लागि निर्माण गरेको हो । त्यो मर्म र भावना बुझ्ने साथीले पदलाई प्राथमिकता दिँदैन ।

नेपाली काँग्रेसका सबै तहका कमिटीले अहिलेको परिस्थिति र गठबन्धनको भावना बुझ्नुपर्छ । नेपाली काँग्रेसमा मेयर, उपमेयरको टिकट पाउनुपर्ने एकदम राम्रो र लोकप्रिय साथीहरू छन् । तर ती साथीहरूले गठबन्धनको कारणले टिकट नपाउँदैमा उनीहरूको राजनीति सकिँदैन । यो कुरा नेतृत्वले तलसम्म बुझाउन सक्नुपर्छ ।

पार्टीको एउटा पङ्क्ति केन्द्रदेखि जिल्ला तहसम्म गठबन्धनको विपक्षमा उभिएको छ । महानगर र उप–महानगरपालिकामा गठबन्धनबीच भएको सिट बाँडफाँटले असन्तुष्टि छताछुल्ल भएको छ । यसलाई कसरी सम्हाल्नु हुन्छ ?

पार्टीमा पद्धतिलाई बलियो बनाउन खोज्दा समयअनुसार गरेको निर्णयलाई आत्मसात् गर्न नसक्ने हरेक पार्टीमा समूह छ । पदका लागि मात्र सङ्घर्ष गरेको ठान्नेहरूले यस्तो गर्छन् । आफ्नो पार्टीले प्रमुख पाओस् र आफ्नो पार्टी संगठन तल पर्ला कि भनेर चिन्ता गर्नु राम्रो कुरा हो । पार्टीले जित्दाजित्दै छोड्नुपर्दा अलिकति तनाव त हुन्छ । केही दिनमा त्यो तनाव पनि व्यवस्थापन हुन्छ ।

काँग्रेसको संस्थापन पक्षले पार्टीभित्र निषेधको राजनीति गर्नुभयो । आन्तरिक एकताभन्दा गठबन्धनमा बढी केन्द्रित हुनुभयो । यस्तो अवस्थामा चुनावमा जाँदा कस्तो परिणाम आउला ?

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले सर्वसम्मत गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको हो । पार्टीका प्रदेश सभापतिलाई पनि राखेर निर्णय भएको छ । त्यो निर्णयको बर्खिलापमा जानु राम्रो होइन । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताको कुरा एउटा ठाउँमा छ । तर पार्टीले सबै कुरा टुङ्ग्याइसकेपछि धेरै टीकाटिप्पणी नगर्दा राम्रो हुन्छ । पार्टीभित्र न्याय हुन्छ । लोकप्रिय मान्छेले टिकट पाउँछ । पुरानो भनेर कुनै लबिङ गरेर पाउँदैन । चुनाव जित्न सक्ने पार्टीको क्रियाशील सदस्यले पनि टिकट पाउँछ । पार्टीका पुराना नेता कार्यकर्तालाई सम्मान गरिन्छ । पुरानो छ, लोकप्रिय छ, पार्टीमा क्रियाशील छ भने उसले टिकट पाउँछ ।

तर महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताएँ, मैले इन्द्रबहादुर बानियाँलाई जिताएँ, मैले वीरबहादुर बलायरलाई जिताएँ भनेकै कारणले टिकट पाइँदैन । आफ्नो लोकप्रियता, पार्टीभित्रको सक्रियता, निरन्तरताभित्र गरेको धैर्यताको पनि मूल्याङ्कन हुन्छ । उसले टिकट पाउँछ ।

बागमती प्रदेशमा गठबन्धनले चुनावी तालमेलबाट कस्तो परिणाम निकाल्ने अपेक्षा गर्नुभएको छ ? ११९ पालिकामध्ये गठबन्धनले कति जित्छ ?

गठबन्धनले बागमती प्रदेश ‘क्लिन स्वीप’ गर्छ । गठबन्धनभित्र सबै कुरा मिलाएर जाँदा ‘क्लिन स्वीप’ गर्न गाह्रो पनि छैन । पाँच दलीय गठबन्धनभित्रबाटै सबै पालिका जित्छौं भन्ने हामीमा विश्वास छ ।

त्यही अनुसार जिल्ला तहमा पनि गृहकार्य भइरहेको छ ? जिल्ला जिल्लाबाट कस्तो रिपोर्ट पाउनुभयो ?

केही ठाउँमा सिट बाँडफाँटले गर्दा अलि–अलि मन मिलेको छैन । हामी मन मिलाएर शतप्रतिशत परिणाम ल्याउने लक्ष्यका साथ गृहकार्य गरिरहेका छौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन बाँकी छ । जिल्ला समन्वय पनि बाँकी छ । साथीहरुको व्यवस्थापन हुन्छ । सबैले सधैँभरि टिकट पाउँछ भन्ने छैन ।

टिकट नपाउँदैमा पार्टीमा आक्रोश र पीडा केही साथीहरूले देखाउनुहुन्छ । त्यो स्वभावजन्य कुरा हो । गठबन्धनको मर्मलाई जिल्ला, क्षेत्र, पालिका र वडामा भएका पार्टीका सभापतिले ध्यान दिनुहुन्छ । नमिलेको मन मिलाउँदै जानुपर्छ । मन र मत मिलाउनुपर्ने अवस्थामा साथीहरूले सबै बाध्यता बुझ्नुहुन्छ ।

सत्ता गठबन्धनले एमाले नेतृत्वको विपक्षी गठबन्धनको चुनावी रणनीतिलाई कसरी हेरेको छ ?

केपी ओलीले हामी एक्लै एक क्विन्टल ढकको पार्टी हो भन्नुहुन्थ्यो । पाँच दलीय गठबन्धनलाई किलो किलोको ढक भन्नुभएको थियो । उहाँ अहिले सय ग्राम, ५० ग्रामको ढक खोज्दै हिँड्नु भएको छ । आफैले बनाएको पार्टी सिध्याएको कमल थापा, परिवार दल, देश विखण्डन गर्छु भन्ने सीके राउतसँग गठबन्धन गरेर हिँड्नुभएको छ । उहाँको राजनीति के हो ? उहाँको पार्टीको भविष्य के हो ? उहाँको पार्टीले गर्न खोजेको को हो ? जनतालाई थाहा नै छ । उहाँले बोल्ने एउटा, गर्ने अर्को हो ।

त्यसो भए बागमती प्रदेशमा पाँच दलीय गठबन्धनका लागि एमालेसहितको गठबन्धन कुनै चुनौती होइन ?

केपी ओलीको नेतृत्व टिकटकको हुइयाँ मात्र हो । उहाँको गठबन्धन हाम्रा लागि कुनै चुनौती होइन । हामी त्यसलाई कुनै चुनौती मान्दा पनि मान्दैनौं । बागमती प्रदेशमा पाँच दलीय गठबन्धनको पक्षमा परिणाम आउँछ ।

सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा भएको  भागबण्डाप्रति तपाईंको धारणा के हो ?

नेतृत्वले गरेको निर्णयलाई मान्नुपर्छ । स्वीकार गर्नुपर्छ । मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाज्यूले मलाई र चितवनको जिल्ला सभापतिलाई बालुवाटार बोलाउनु भएको थियो । बालुवाटारमा सभापतिज्यू, उपसभापतिज्यू र हामी बसेर कुराकानी गरेका थियौँ । सभापतिज्यूले ‘गठबन्धनलाई राम्ररी अगाडि बढाउनुपर्‍यो । प्रदेश र जिल्ला सभापतिले नमिलेको मन मिलाउनु होला । त्यो जिम्मेवारी तपाईंहरुको काँधमा छ । गठबन्धनकै सहयोगमा सरकार बनेको हो । यसलाई मनन गरिदिनुपर्‍यो’ भन्नुभयो ।

त्यसो भए केन्द्रमा भएको सिट बाँडफाँटमा तपाई सन्तुष्ट नै हुनुहुन्छ ?

असन्तुष्टिमा बीचमा सन्तुष्टि दिनुपर्छ । कहिले काहीँ प्रतिकुल परिस्थितिलाई अनुकूल बनाउने हो । आफूलाई चित्त नबुझे पनि स्वीकार गरेर जानुपर्छ । अरूको कुरा सुन्न सक्नुपर्छ । ग्रहण गर्न सक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप