शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलहरूको चुनावी प्रचारमा सामाजिक सञ्जाल रङ्गिँदै

म्युजिक भिडियोदेखि टिकटकसम्मका प्रचार सामग्री तयार
शुक्रबार, ०९ वैशाख २०७९, ०६ : ३९
शुक्रबार, ०९ वैशाख २०७९

३० वैशाखको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरूले मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न सामाजिक सञ्जाललाई व्यापक उपयोग गर्न थालेका छन् । यसका लागि भिडियो सहितको गीत, वृत्तचित्र, छोटा फिल्म लगायतका प्रचार सामग्रीले फेसबुक, युट्युब, टिकटकसम्म रङ्ग्याउन लागि परेका छन् । 

निर्वाचन आयोगले चुनाव  प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला प्रयोग गर्न नहुने जस्ता अनेक आचारसंहिता लागु गरेको छ । त्यसैले फेसबुक, युट्युब, टिकटक जस्ता डिजिटल प्लेटफर्म प्रयोग हुन थालेका छन् ।

गीतसंगीत मार्फत् प्रचार 

विगतको निर्वाचन झैं यो वर्ष पनि चुनाव प्रचारका लागि विभिन्न गीतसंगीत तयार भइरहेका छन् । ती गीतसंगीत आ–आफ्ना राजनीतिक दलका नेता, आफूले गरेको विकासको बखान, दलका योजना लगायत विषयवस्तु  समेटिएका छन् । यसरी तयार भएका गीतसंगीत सामाजिक सञ्जाल मार्फत् शेयर गर्न थालिएको छ ।

चुनावलाई नै लक्षित गरेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हालै एक गीत ल्याएकी छन् । माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार रहेकी उनको गीतमा आफ्नो अग्रसरतामा भएका विकास निर्माणबारे विषयवस्तु समेटिएको छ । जसमा विशेष गरी हिल्लामे सडक, निर्माणाधीन सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्ड लगायतका नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन भएको भिडियो छ ।

भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी पनि देखिएका छन् । रवि अधिकारीले भिडियो निर्देशन गरेको गीतमा सन्तोष देउजाको शब्द, विष्णु खत्री र टीका पुनको स्वर छ ।

यो गीतको अलावा विगतमा तयार भएका गीतसंगीले समेत प्राथमिकता पाइरहेको छ भने नयाँ गीतसंगीत पनि आउने तरखरमा छ । हिजोका दिनमा माओवादीले उठाएका विभिन्न सामाजिक मुद्दा र परिवर्तनका बिषयमा पनि गीत आउने तरखरमा रहेको अखिल नेपाल जनसाँस्कृतिक महासंघका (माओवादी केन्द्र) का उपाध्यक्ष चेतन सापकोटाले बताए । 

त्यस्तै नेपाली काँग्रेसले पनि चुनाव केन्द्रीत नयाँ तथा पुराना गीतसंगीतले बजार तताउन थालेको छ । केही अगाडि गीतकार गायत्री थापाले ‘चार तारे झण्डा’ बोलको गीत ल्याएकी छन् । नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेको गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचीदेखि महाकालीसम्म सबै मिलेर वीपीको समाजवादको नारा साकार पार्नु पर्नेमा जोड दिइएको छ । 

गरिबको दुःख हेर्ने, मजदुरको साथ दिने, विकासको आधार, राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत थापाको गीतमा उल्लेख छ । साथ दिने, शितल दिने सबैको प्यारो रुख, काँग्रेस नै हो सबैको बुझ्ने पीर दुःख जस्ता शब्दले पनि गीतमा प्राथमिकता पाएको छ । कृष्ण काफ्ले र रीता केसीको स्वर रहेको गीतको भिडियोमा विजय पुन, ऋचा थापा, आरुसी मगर, जनार्दन आचार्य लगायतको अभिनय रहेको छ । 

त्यस्तै काँग्रेसको भातृसंस्था नेपाली सांँस्कृतिक संघले ‘घर घर जाऊँ काँग्रेस जिताऊँ’, ‘काँग्रेसलाई भोट किन’ जस्ता गीत भिडियोसहित केही दिनमै ल्याउने संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले जानकारी दिए ।

यस्तै २०७४ को चुनावमा ‘सैं पनि एमाले, मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्यमा एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ ल्याएका छन् । यस गीतमा बद्रीको अलावा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् । 

ब्यक्तिगत पहलबाट एमालेका विभिन्न गीत सार्वजनिक भएपनि आफूले संस्थागत रुपमा कुनै गीत नल्याएको जनपक्षीय चलचित्रकर्मी संघका संयोजक दिनेश डिसीले बताए । ‘हामी पार्टीले जे लगायो, त्यो गर्ने तयारीमा छौं । त्यसैले अहिले युवा संघले संचालनमा ल्याएको टिकटक कम्पिटिसनमा सहभागी भएका छौं,’ डिसीले थपे ।

माओवादी, काँग्रेस, एमाले मात्र होइन, राप्रपालगायत दलहरुको चुनावी प्रचारप्रसारको गीतसंगीत पनि अहिले सामाजिक सञ्जालमा देख्न र सुन्न सकिन्छ ।

टिकटकमा प्रचार

पछिल्लो समयको लोकप्रिय सामाजिक सञ्जाल हो टिकटक । टिकटक पछिल्लो समय गीतसंगीतको प्रचार गर्ने र  चर्चा दिलाउने राम्रो माध्यम भएको छ । नजिकिदै गरेको स्थानीय निर्वाचनमा आफ्नो प्रचारका लागि राजनीतिक दलहरूले टिकटकको समेत प्रयोग गरिरहेका छन् ।

एमालेको राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कलले करिव ४ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगिताको आह्वान गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्ने र स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यले साइबर सर्कलले टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । 

एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टी सिद्धान्तलाई टिकटकमार्फत् नविनता र सिर्जनशीलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आह्वान गर्दै प्रतियोगीतामा प्रथमलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ पच्चीस हजार नगद पुरस्कार समेत राखेको छ । चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने साइबर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।

त्यस्तै नेपाली काँगेसका चुनावी गीतका फुटेज टिकटकमा आउन थालिसकेका छन् । आधिकारिक रुपमा टिकटकमा कसरी चुनाव प्रचार गर्ने भन्ने बिषयमा छलफल हुन बाँकी रहेको नेपाली काँग्रेस निकट सांस्कृतिक संघका महासचिव शिव शंकर रिजालले बताए । चुनाव प्रचारका लागि ल्याइने गीत तथा अन्य सामग्रीका टिकटकमा फुटेज राख्ने योजना भने आफ्नो रहेको उनले सुनाए ।

टिकटकमा राजनीतिक पार्टी निकटका कार्यकर्ताले आफू नजिकका पार्टीलाई भोट मागेको, यो पार्टी राम्रो भनेको जस्ता विभिन्न भिडियो अपलोड भइरहेका छन् ।

सर्ट फिल्म तथा डकुमेन्ट्री निर्माण

चुनाव प्रचारका लागि राजनीतिक दलले गीतको अलावा सर्ट फिल्म र डकुमेन्ट्री जस्ता माध्यम समेत प्रयोग गरेका छन् । नेपाली काँग्रेसका लागि सांस्कृतिक संघले ५ छोटा चलचित्र, केही डकुमेन्ट्री र १० लघुचलचित्र तयार गरिरहेको छ । लघुचलचित्रमा नेपाली काँग्रेसका नेता तथा विज्ञ लगायतका अभिव्यक्तिले भरिएका ‘किन काँग्रेस जिताउने भन्ने ?’ थिममा रहनेछन् । सर्ट फिल्म तथा डकुमेन्ट्री पनि काँग्रेसका गतिविधि र बिषय नै समेटिने शिवशंकर रिजालले बताए ।

माओवादीले पनि छोटो फिल्म, डकुमेन्ट्री र गीति नाटक समेत ल्याउने अखिल नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष चेतन सापकोटाले जानकारी दिए । ‘हिजोको दिनमा परिवर्तन ल्याउने माओवादी हो, सामाजिक विभेदको अन्त्य गर्ने माओवादी हो । गरिब, दुःखी, पिछडिएका सबैको हित गर्ने माओवादी हो भन्ने बिषयमा राष्ट्रिय कलाकार सहितको गीति नाटक, फिल्म, डकुमेन्ट्री तयार हुँदैछ,’ सापकोटाले थपे, ‘यी प्रचार सामग्री फेसबुक, युट्युब लगायतमा राखिने छ ।’

कमेडीको पनि सहारा

राजनीतिक दलहरु मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न र आफ्नो पार्टीलाई जनताका अगाडि राम्रो रूपमा प्रस्तुत नाटक र कमेडीको माध्यम समेत अपनाउने भएका छन् । नाटक र कमेडी सामाजिक सञ्जालमा मात्रै होइन, घरदैलो कार्यक्रम पनि राख्दैछन् । नेपाली काँग्रेसले दुई नाटक र एउटा कमेडीसमेत तयार गर्दैछ । काँग्रेसलाई भोट किन ?, घोषणापत्र लगायतका बिषय कमेडीमा समेटिन लागेको रिजालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप