बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साना तथा मझौला उद्यमका लागि कोरियन एजेन्सी कोस्मीले महासंघसँग सहकार्य गर्ने

शुक्रबार, ०९ वैशाख २०७९, १८ : २८
शुक्रबार, ०९ वैशाख २०७९

साना तथा मझौला उद्यमका लागि कोरिएन एसएमइजस् एण्ड स्टार्टअप्स एजेन्सी–कोस्मीले सहयोग गर्ने भएको छ । शुक्रबार एक भर्चुअल कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरियन कोस्मी बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यसहित सहमतिपत्रम हस्ताक्षर भएको हो । 
सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । 
दुई संस्थाबीच विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारी भएको छ ।

साना तथा मझौला व्यवसायलाई युग सुहाउंदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ ।  
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्दै सोको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता रहेको बताए । 
सो अवसरमा अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिँदै नेपालमा थप स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न समेत कोरियन लगानीकर्तालाई आग्रह गरे । 
कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदान प्रदान गर्न र महासंघसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप