शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कूल मृत्युदरको ५० प्रतिशत नसर्ने रोगबाट

शनिबार, १० वैशाख २०७९, ०६ : १३
शनिबार, १० वैशाख २०७९

नेपालमा सबैभन्दा बढी नसर्ने रोगमा खर्च भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नसर्ने रोगमा भएको खर्च सबै रोग र स्वास्थ्य समस्यामा भएको कुल खर्चको झन्डै आधा हो । यति मात्रै होइन, नसर्ने रोगको उपचारमा व्यक्तिगत खर्च पनि उच्च भएको अध्ययनले देखाएको छ । यस्तै, नसर्ने रोगमा ५६.७ प्रतिशतसम्म खर्च घरपरिवारले गरेको पाइएको छ । 

नसर्ने रोगहरूमा मुटु तथा रक्त नलीसम्बन्धी रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग मृत्यु र अपाङ्गता गराउने प्रमुख कारक तत्त्व  बनेको छ । राष्ट्रिय स्वास्थ्य लेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२÷७३ मा नसर्ने रोगको स्वास्थ्य उपचारमा सबैभन्दा उच्च ३८.७ अर्ब रुपैयाँ खर्च (रोगअनुसारको वर्गीकरण) भएको थियो, जुन चालु स्वास्थ्य खर्चको ३०.८ प्रतिशत हो । यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा चालु स्वास्थ्य खर्च करिब १४५.३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । यसमा नसर्ने रोगहरूका लागि ४३.८ अर्ब खर्च भएको थियो, जुन चालु स्वास्थ्य खर्चको ३०.२ प्रतिशत बजेट हो ।

नसर्ने रोगबाट ग्रसित परिवार र समुदायको सङ्ख्या निरन्तर बढ्दै गइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । जनसङ्ख्याको बनावटमा आएको परिवर्तन, रोगको फैलावट, पोषण स्तरको गुणस्तरमा आएको परिवर्तनका कारण पनि नसर्ने रोग सहज रूपमा बढ्ने अनुमान लगाउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । 

यस्तै, तीव्र गतिमा भइरहेको शहरीकरणले नसर्ने रोग बढ्ने आङ्कलन सहजै गर्न सकिने डा अधिकारीले बताए । बढ्दो क्रममा रहेको नसर्ने रोगले दिगो विकास लक्ष्य हासिल गर्न समेत चुनौती थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नसर्ने रोगहरू स्वास्थ्य सवाल मात्र नभएर राष्ट्रिय विकास योजनाका लागि चुनौती समेत बन्न पुगेको छ ।   

यस्तो छ नसर्ने रोगबाट हुने मृत्यु दर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल मृत्युको ७१ प्रतिशत भार नसर्ने रोगहरूको रहेको छ  । करिब २२ प्रतिशत नेपाली नसर्ने रोगका कारण ३० देखि ७० वर्ष बीचको अल्पायुमा मृत्यु हुने जोखिममा रहेको पाइएको छ । यद्यपि नेपालमा व्यक्तिगत घटना दर्ता प्रणालीबाट नसर्ने रोगसम्बन्धी राष्ट्रिय मृत्युदरको कारण प्राप्त गर्न सहज नभएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । हालसम्म करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने गरेको छ । 

उता विश्व स्वास्थ्य संगठनको नसर्ने रोगहरू बारेको देशगत विवरण, अनुसार मुटु तथा रक्तनली सम्बन्धी रोग ३० प्रतिशत, क्यान्सर ९ प्रतिशत, मधुमेह ४ प्रतिशत, दीर्घ श्वासप्रश्वास रोग १० प्रतिशत र अन्य नसर्ने रोगहरू १३ प्रतिशतको मृत्यु भएको पाइएको छ ।  

उता अस्पतालमा आधारित राष्ट्रिय क्यान्सर अभिलेखले भने महिला र पुरुष दुवैमा सबैभन्दा बढी श्वास नली तथा फोक्सोको क्यान्सर रहेको देखाउँछ । त्यसपछि महिलामा पाठेघर र स्तनको क्यान्सर तथा पुरुषमा पेट र घाँटीको क्यान्सर हुने गरेको पाइएको छ । शहरी क्षेत्रमा स्तनको क्यान्सर उच्च मात्रामा हुने गरेको पाइएको छ भने पाठेघरको क्यान्सर ग्रामीण क्षेत्रमा बढी हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आङ्कलन अनुसार हरेक वर्ष विश्वभरि ४.१ करोड मानिसको नसर्ने रोगबाट ज्यान जाने गर्छ । मुख्य नसर्ने रोगहरूले अल्पायुमा नै हुने मृत्युहरूको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । मुटु तथा रक्त नलीसम्बन्धी रोग विश्वभरि नै मृत्युको पहिलो प्रमुख कारक हो । विश्वमा क्यान्सरले ९६ लाख, श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी दीर्घ रोगले ३० लाख र मधुमेहले १६ लाख मृत्यु हुने गरेको छ । नसर्ने रोगहरूको जोखिम तत्त्वमध्ये सुर्तीजन्य पदार्थले हरेक वर्ष ८० लाख मानिसको ज्यान जाने गरेको छ । जसमध्ये १६ लाख मृत्यु दक्षिणपूर्वी एशिया क्षेत्रमा हुन्छ ।  

नसर्ने रोगका कारण अपाङ्ग कति ?

नेपालमा नसर्ने रोगकै कारण ठुलो सङ्ख्यामा अपाङ्ग हुने गर्छन् ।  नेपाल एनसीडीआई पोभर्टी कमिसनको प्रतिवेदनअनुसार नसर्ने रोगहरूले ५१ प्रतिशत  नेपालमा हुने कुल मृत्यु तथा अपाङ्गता हुने गरेको पाइएको छ ।   विगत २५ वर्षको अवधिमा मात्र अपाङ्गता र मृत्युको हिसाबले नसर्ने रोग र चोटपटकको भार दुई गुणा भन्दा बढीले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आगामी लक्ष्य

नेपालले नसर्ने रोगहरूबाट अल्पायुमै हुने मृत्युलाई सन् २०२५ सम्ममा एक चौथाइ र सन् २०३० सम्ममा एक तिहाइले कम गर्ने लक्ष्य निर्धारण गरेको छ । मुटु रोग, क्यान्सर, मधुमेह वा श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशत र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ ।

नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण सम्बन्धी विश्वव्यापी  प्रगतिको अनुगमन प्रतिवेदन २०२० अनुसार नेपालले १९ सूचकहरूमध्ये ८ वटा सूचकहरू पूर्ण रूपमा हासिल गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप