शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारले नक्कली जन्मदिनमा भोज गर्न लागेको भन्दै आयोगमा उजुरी

प्रमुख निर्वाचन आयुक्त भन्छन्– अब शंकालाई संग्रहालयमा थन्काइदिनुस्
आइतबार, ११ वैशाख २०७९, १८ : १४
आइतबार, ११ वैशाख २०७९

निर्वाचन आयोगले चुनाव हुँदैन कि भन्ने शंका नगर्न आग्रह गरेको छ । आइतबार आयोगले टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकहरूसँगको भेटमा निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब शंका गरिरहनु पर्ने अवस्था नरहेको बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अब पनि चुनाव हुँदैन कि भन्ने शंका गर्ने ठाउँ छैन । शंका भन्ने शब्दलाई संग्रहालयमा थन्काइदिनुस् ।’ आयोग चुनावी प्रक्रिया अघि बढिसकेको सन्दर्भमा आचारसंहिता पालना, सामाजिक सञ्जालमा आउने सामग्री र केही क्षेत्रमा सुरक्षा चुनौती समेत रहेको औंल्याएको छ । यस्तै तराईका क्षेत्रमा पालिकास्तरीय मिडिया र भारतबाट सञ्चालन हुने रेडियोलाई आचारसंहिता पालना गराउन पनि अर्को चुनौती रहेको आयोगले औंल्याएको छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘तराईका जिल्लाहरुमा मिडियालाई आचारसंहिता पालना गराउनका लागि अर्को चुनौती छ । पालिकास्तरीय मिडिया र छिमेकी देशबाट सञ्चालन हुने मिडियालाई आचारसंहिता कार्यान्वयन गराउन समस्या छ । नेपालको मिडियालाई आचारसंहिता लाग्ने भए पनि भारतीय मिडियालाई आचारसंहिता लगाउन नमिल्ने भएकाले त्यसका लागि भारत सरकारसँग आग्रह गर्ने तयारी समेत छ ।’

उम्मेदवारले हुँदै नभएको ‘बर्थ डे’ मनाउन लागेको भन्दै उजुरी 

आयोगले उम्मेदवारलाई आचारसंहिता पालना गराउन पनि चुनौती देखेको छ । तराईका जिल्लाबाट यसअघि नै जन्मदिन मनाएका उम्मेदवारले चुनावको बेलामा फेरि जन्मदिन मनाएर भोज खुवाउन लागेको भन्दै आयोगमा उजुरी परेको छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘तराईका जिल्लाबाट आयोगमा पाँच÷सात सूचना आएको छ । वैशाख ६ गते बर्थडे मनाएका व्यक्तिले फेरि वैशाख १७ गते बर्थडे भोज गर्न लागे भन्ने सूचना आएको छ । यस अगाडि नै जन्मदिन भए पनि हुँदै नभएको दिनमा भोज खुवाएर जन्मदिन मनाउने हो कि भन्ने चिन्ता थपिएको छ ।’

उम्मेदवारले गर्ने यस्ता काम रोक्न पनि आयोगलाई चुनौती रहेको उनले बताए । शनिबार काठमाडौंको चन्द्रागिरी नगरपालिकाका एक वडाध्यक्षले सारी वितरण गर्न लागेकोमा आयोगले रोकेको उनले बताए ।

यस्तै वैशाख २७ गतेदेखि ३० गतेसम्मको मौन अवधिको समय पनि आयोगका लागि चुनौतीपूर्ण रहेको उनले बताए । उम्मेदवार मनोनयनका क्रममा व्यापक मात्रामा झण्डा र ब्यानर प्रयोग गर्ने चलन रहेकाले यो वर्ष आयोगले कडाई गरेको छ । सम्बन्धित प्रमुख अधिकारीलाई एउटा झण्डा र ब्यानरभन्दा बढी लगेमा थुत्न निर्देशन दिएको थपलियाले बताए ।

आयोगको अर्को चुनौती सुरक्षा र सामाजिक सञ्जाल

निर्वाचन आयोगले सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट हुने मिथ्या सूचना प्रचारलाई अर्को चुनौती मानेको छ । सामाजिक सञ्जाल नियमनका लागि आयोगले दुई वटा टिम बनाएको छ ।

सामाजिक सञ्जाल नियमनका लागि आयोगले आफ्नै  आईटी टिम बनाएको छ भने अर्को साइबर ब्यूरो, गृह मन्त्रालयका प्रतिनिधि र आयोगका कर्मचारी रहेको अर्को टिम पनि बनाएको छ । यी टिमले सामाजिक सञ्जाल अनुगमनको काम गर्नेछन् ।

२०७० र २०७४ सालको चुनावमा सामाजिक सञ्जालको त्यति धेरै चुनौती नभए पनि अहिले चुनौती बढेर गएको आयोगका आयुक्त ईश्वरी पौड्यालले बताए ।

यस्तै आयोगले कहीँकतै अप्रत्याशित घटना हुन्छ कि भन्ने सूचना आएको र त्यसबारेमा सुरक्षा अधिकारीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले सुरक्षा निकायलाई कम बजेट दिइएकोमा असन्तुष्टि समेत पोखे ।

उनले भने, ‘सुरक्षा निकायलाई बजेट कम भयो भन्ने कुरा आईरहेको छ । यो पटकको स्थानीय चुनावका लागि ८ अर्ब ११ करोड बजेट रहेकोमा सुरक्षाका लागि ५० करोड बजेट अपुग भएमा थप २५ करोड दिउँ भनेर आफूले सरकारलाई आग्रह गरेको उनले बताए ।

चुनावका लागि ९ अर्ब रुपैयाँ प्रस्ताव गरे पनि सरकारले कम बजेट दिएको भन्दै आयोगले गुनासो गरेको छ ।

यसैबीच आयोगले मिडियाहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्दा आचारसंहिता विपरीत हुने गतिविधि नगर्न र कुनै उम्मेदवारलाई फाईदा पुग्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

साथै आयोगले उम्मेदवारको अन्तिम नामावली आएपछि मात्रै भक्तपुर जिल्लाका नगरपालिका र देशका ६ महानगरका लागि मतपत्र छाप्ने तयारी गरेको छ । काठमाडौं महानगरमा ४८ जनासम्म उम्मेदवार हुन सक्छन् भन्ने आयोगको अनुमान छ । यी पालिकाका लागि मतपत्र डिजाइन गर्न बाँकी रहेको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप