शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘व्यवस्थित रूपमा घर सम्हालेँ, अब काठमाडौँ सम्हाल्छु’

म कुरा हैन काम गर्छु : सिर्जना सिंह
सोमबार, १२ वैशाख २०७९, ११ : ५५
सोमबार, १२ वैशाख २०७९

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका प्रमुखका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनी काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

संघीय राजधानीस्थित काठमाडौँ महानगरपालिकाको मेयरमा गठबन्धनले महिला उम्मेदवार खडा गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा एमाले र उपमेयरमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सिर्जनालाई एमालेको विरासत भत्काउन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको मन र मत जोड्नुपर्ने चुनौती छ । उनलाई उम्मेदवार बनाउन पार्टीका शीर्ष नेताहरुबीच सर्वसम्मत निर्णय भए पनि कार्यकर्ता तहमा विद्यमान गुटबन्दी तथा सम्भावित अन्तरघात रोक्न पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ सिर्जनालाई ।

त्यसो त, उनलाई कतिपयले परिवारवादका कारण टिकट पाएको आरोप पनि लगाएका छन् । लामो समय काँग्रेस राजनीति निष्क्रिय भएकी उनले प्रकाशमान सिंहको बलमा टिकट पाएको आरोप छ । यी र यस्तै विषयमा रातोपाटीले काठमाडौँ महानगरमा सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, सिर्जनासँग गरिएको कुराकानीको सम्पादित अंश –

नेपाली काँग्रेसले तपाईंलाई काठमाडौँ महानरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । कस्तो अनुभव भइरहेको छ ?

काठमाडौँ महिला संघ, नेविसंघ र तरुण दलले मलाई  मेयरको उम्मेदवार बनाउन दबाब दिएको थियो । त्यो समाचार भाइरल पनि भयो । नेविसंघ, त्यसपछि मेयरमा उठ्ने समकालीन साथीहरूको पनि प्रेसर आयो । सबैले मलाई ‘तिमी अगाडि बढ, पहिला तिमीले गरेको कामको अहिले पार्टीले मूल्याङ्कन गर्छ, पछाडि नहट’ भन्नुभयो । त्यसपछि मलाई पनि प्रेसर पर्‍यो । म पनि बिस्तारै मेयरका लागि तयार हुन लागेँ ।

त्यसअघि मैले पनि उम्मेदवारीबारे सोचेको थिइनँ । सबै ठाउँबाट दबाब आएपछि मैले मेयरमा लड्ने मनस्थिति बनाएँ । सबैले मलाई योग्य ठानेर मेयरको उम्मेदवार बनाउनु भएको छ । जिल्लामा मात्र होइन, केन्द्रीय नेतृत्व तहमा पनि मेरो नाममा सर्वसम्मत भएको छ । महानगर कमिटीबाट मेरो नाम सिफारिस भएपछि उहाँहरू खुसी हुनुभयो । अहिले केन्द्रमा बसिराख्नुभएका सबै नेतालाई मेरो योगदानबारे एकदमै राम्रोसँग थाहा छ । त्यसको मूल्याङ्कन पनि गर्नुभयो । म अगाडि बढ्छु । पार्टीले दिएको जिम्मेवारीबाट म पछाडि हट्नुहुन्न । काठमाडौँ महानगरपालिकालाई मैले राम्रो बनाउनुपर्छ ।

टिकट त पाउनु भयो तर चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदम विश्वस्त छु । मैले नेपाली काँग्रेसलाई नजिकबाट चिनेको छु । म काठमाडौँको हावा, पानी र माटोसँग एकदम परिचित महिला हुँ । म काठमाडौँको बुहारी पनि हुँ । बिहे गरेर ३६ वर्षदेखि म काठमाडौँमा छु ।  म पढ्न आएदेखिको कुरा गर्दा काठमाडौँ बसेको ४५ वर्ष भइसक्यो । यहाँको रहन सहन, संस्कृति, सम्पदा सबैसँग म परिचित छु । मेरो घर राजनीतिक वातावरण भएको घर हो । मेरो घरको सम्पूर्ण परिवार राजनीतिमा होमिनु भएको छ । लोकतन्त्र, प्रजातन्त्र ल्याउनका लागि मेरो सासु–ससुरा, मेरो श्रीमान्, जेठाजु पिएल सिंह सबै राजनीतिमा होमिनु भयो । म काठमाडौँको दुःख सुखसँग एकदम परिचित छु । काठमाडौँलाई जनताले चाहेजस्तो बनाउन सक्छु ।

तपाईंले कस्तो घोषणा पत्र तयार गर्दै हुनुहुन्छ ?

मैले घोषणा पत्र बनाउने तयारी गरिरहेकी छु । पार्टीको घोषणापत्रमा टेकेर महानगरपालिकाको छुट्टै घोषणापत्र पनि बनाउँछौँ । पार्टी कमिटीले काम गरिराखेको छ । काठमाडौँको शिक्षा, स्वास्थ्य, महिला, बालबालिकाको क्षेत्रमा विशेष योजना ल्याउँछु । युवाका लागि म आमा, बीचका उमेर समूहका लागि भाउजू, दिदीजस्तो र वृद्धहरूका लागि एउटा बुहारी हुँ । जसरी मैले घरलाई व्यवस्थित गरेको छु, काठमाडौँलाई पनि त्यसरी व्यवस्थित गर्छु । मलाई सबैको साथ, सहयोग चाहिन्छ ।

उम्मेदवारी दर्तापछि मैले घोषणापत्र पनि निकाल्छु । म झूटा नारा दिन्नँ । आफूले गर्न नसक्ने काम गर्छु भनेर पनि बोल्दिनँ । काठमाडौँलाई व्यवस्थित बनाउन आफूले सक्ने जति सबै गर्छु । जनजीविकाको विषयमा मेरो पहिलो प्राथमिकता हुन्छ । म ठूलाठूला भाषण गर्दिनँ ।

काठमाडौँको मेयरमा पार्टीले महिलालाई स्थान दिएको छ, यसलाई कसरी हेर्नु भएको छ ?

महिलामैत्री पार्टी भनेकै नेपाली काँग्रेस हो । महिला आयोगहरू खोलेको पनि काँग्रेस नेतृत्वको सरकारले नै हो । नेपाली काँग्रेस सधैँ महिलाको पक्षमा छ । यसपटक काठमाडौँ महानगरपालिकामा महिलालाई मेयरको उम्मेदवार अगाडि सारेको छ । यसले महिलालाई एकदमै उत्साही बनाएको छ ।

अहिले काठमाडौँमा विकृति, फोहोर, प्रदूषण व्याप्त छ । पिएल सिंह दाइ मेयर हुँदा केही परिवर्तन हुन खोजेको थियो । त्यो २५ वर्षपछि त्यही काठमाडौँ छ । ठूला घर बनेका भए पनि काठमाडौँ अस्तव्यस्त भएको छ । अब काठमाडौँलाई महिलाले व्यवस्थित गरेर देखाउँछन् भनेर म मैदानमा आएकी छु । म त्यो देखाउन चाहन्छु । काठमाडौँको महिला दिदीबहिनीहरू म मेयरको उम्मेदवार भएपछि हर्षित पनि हुनुहुन्छ । काठमाडौँका कतिपय महिला दिदीबहिनीहरू घरमै खुम्चिनु परेको छ । उहाँहरूका लागि विशेष कार्यक्रम ल्याउँछु । काठमाडौँमा गृहिणी महिलाको अवस्था कस्तो छ भन्ने कुरामा म एकदमै परिचित छु । प्याकेजमै एउटा कार्यक्रम ल्याएर उहाँहरूको आर्थिक उन्नतिका लागि काम गर्ने मेरो चाहना छ ।

लामो समय तपाईं काँग्रेसको राजनीतिमा निष्क्रिय जस्तै हुनुहुन्थ्यो । पछिल्लो समय सक्रिय भएर आउनुभयो । मेयरको टिकट पनि पाउनुभयो । विगतको निष्क्रियता अहिले चुनौती हुने ठान्नु भएको छ कि छैन ?

मान्छेले मलाई निष्क्रिय भनिरहेको छ । म पार्टीको कुनै पदमा नबसेका कारण निष्क्रिय भएजस्तो देखिएको हो । तर म कहिले पनि निष्क्रिय थिइनँ । पार्टीका साथीभाइ माझ म सधैँ सक्रिय थिएँ । यो कुरा पार्टीका सबै साथीभाइलाई थाहा छ । यत्ति हो कि परिवार नै राजनीति मय भएका कारण एक जनाले घर सम्हाल्नुपर्छ भनेर म आफैले निर्णय लिएर पार्टीको जिम्मेवारी नलिएकी हुँ । तर पद नलिए पनि म निष्क्रिय भने थिइनँ ।

म नेपाल महिला संघको प्रमुख सल्लाहकार भएरमात्र बसिरहेकी थिएँ । तर मैले सामाजिक रूपमा सबै कार्य गरिरहेकी थिएँ । नेपाल महिला संघ भनेको पार्टीको भ्रातृ संगठन हो । मैले नेपाल महिला संघको कुनै पनि कार्यक्रम छुटाएको छैन । पद नलिएका कारण मलाई निष्क्रिय थिएँ भन्नु कुरा गलत हो ।

प्रकाशमान सिंहकी श्रीमती भएका कारण तपाईंले काठमाडौँको मेयरको उम्मेदवार हुने अवसर पाउनु भयो भन्ने आरोप छ । यसलाई कसरी चिरेर चुनावी प्रतिस्पर्धामा जानुहुन्छ ?

मलाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनुपर्छ भनेर महिला संघले निर्णय गरेको कुरा मलाई र प्रकाशमानलाई थाहा थिएन ।  महिला संघको सल्लाहकारका रूपमा मैले महिला संघले गर्ने कुनै पनि कार्यक्रम छुटाएकी छैन । मैले पदमात्र नलिएको हो ।

मैले पद नलिएर पार्टीको उत्थानका लागि गरेको काम देखेर नै मलाई मेयरको उम्मेदवार बनाउनुपर्ने महिला संघले निर्णय लिएको थियो । मैले प्रकाशमानको श्रीमती भएर टिकट पाएको भनेर लगाइएको आरोपमा कुनै तुक छैन ।

म गणेशमान र मंगलादेवीको बुहारी पनि हो । म प्रकाशमान सिंहको श्रीमती हो । तर सिर्जना सिंहको योगदान पनि कदर गरिदिनुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । काँग्रेसमा मेरो आफ्नै योगदान छ । मलाई सिर्जना सिंहका रूपमै हेरिदिनुस् । म लडेर, भिडेर काँग्रेसमा निरन्तर काम गरिरहेकी छु । मैलै सामाजिक सेवामा पनि काम गरेकी छु । म कुनै कुरामा चुकेकी छैन । पार्टीको सबै कार्यक्रममा म सहभागी भएकी छु । सबैजसो चुनावमा म पार्टीका उम्मेदवारलाई जिताउन हिँडेकी छु ।

काठमाडौँ महानगरमा नेकपा एमालेका उम्मेदवारसँगको प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ? एमालेको विरासत भत्काउन सक्नुहुन्छ ?

एमालेलाई काठमाडौँमा पराजित गर्न कुनै गाह्रो छैन । अहिले काठमाडौँमा एमालेकै मेयर हुनुहुन्छ । एमालेका मेयरको के के गर्नुभयो भन्ने कुरा ऐनाजस्तै छर्लङ्ग नै छ । काठमाडौँको प्रदूषण केही कम भएको छैन । फोहोर व्यवस्थापन भएको छैन । खोला–नाला दुर्गन्धित छन् । ०७४ को चुनावमा एमालेले घोषणा गरेको कुरा ५ प्रतिशत पनि पूरा भएको छैन ।

फेरि काठमाडौँमा एमालेलाई जिताएर काठमाडौँबासीले थप सास्ती रोज्नुहुन्न भन्नेमा म विश्वस्त छु । म एउटा राजनीतिक संस्कार बोकेको महिला हुँ । म राजनीतिक परिवारमा हुर्केको र काठमाडौँको संस्कृतिमा भिजेको छु । सबैले मलाई जिताउनुहुन्छ । एमालेकै कार्यकर्ताले पनि मलाई भोट दिनुहुन्छ । एमालेको गफबाट सबै आजित भइसकेका छन् । यसपटक काठमाडौंबाट एमालेले सजाय पाउँछ । म चुनाव जित्छु ।

एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

एमालेले गुठी, विहार लगायतमा काम गरेको हावा फिँजाइएको छ । यहाँको संस्कृतिका लागि हामीले तिरेको करबाट आएको पैसाले काम भएको हो । भोलि म आए पनि यी सबै काम गर्छु । मैले यहाँको सम्पदा, संस्कृति बचाउनु पर्छ भन्ने कुरामा सचेत छु । यो पाँच वर्ष काठमाडौँका सम्पदा भत्काउने काम भएको छ । म त्यो हुन दिन्न । त्यसैले मेरा लागि एमाले कुनै चुनौती छैन ।

तपाईं सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । गठबन्धनभित्रको मन र मत जोड्न सक्नुहुन्छ त ?

केन्द्रमा गठबन्धनको सरकार नै छ । सरकारमा भएका दलबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भइरहेको छ । महानगर र उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट पनि गरिसकिएको छ । यस्तो अवस्थामा हामीले गठबन्धनको दललाई मत हाल्छौँ । गठबन्धन दलले हामीलाई पनि मत हाल्नुहुन्छ भन्ने मलाई विश्वास छ । गठबन्धन भनेकै टीम जित्ने कुरा हुन्छ । यो गठबन्धन सफल पनि हुन्छ ।

काठमाडौँ महानगरले तपाईंको नेतृत्व पाउँदा के नयाँ हुन्छ ?

महिलाले नेतृत्व गरेको ठाउँमा राम्रोसँग काम भएको छ । भरतपुर महानगरमा महिला नेतृत्व हुँदा अन्यको तुलनामा राम्रो काम भएको सुनिन्छ । महिलाको नेतृत्व भएको पालिकामा सुशासन हुने, भ्रष्टाचार नहुने सबै ठाउँमा छ । म काठमाडौँ महागरपालिकामा आएपछि त्यो नहुने भन्ने कुरा नै छैन । पहिला मलाई जिताउनुस् । त्यसपछि मलाई मूल्याङ्कन गर्नु होला । म कुरा होइन, काम गर्न आउन लागेको छु । महिलाले जसरी घर व्यवस्थित रूपमा सम्हाल्छन्, त्यसरी नै म महानगर सम्हाल्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप