बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने

सोमबार, १२ वैशाख २०७९, १७ : ४४
सोमबार, १२ वैशाख २०७९

नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।  उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ । 

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रूपमा हाल भाडा दर समेत केही महँगो हुन गएको निगमको भनाइ छ । काठमाडौँ–नारिता सेक्टरमा करसहित बिजनेस क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार ७०० रुपैयाँ भाडा दर कायम गरिएको छ ।

तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरू बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने निगमले चेतावनीसमेत दिएको छ । नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप