शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा बागीको बिगबिगी

सोमबार, १२ वैशाख २०७९, २१ : १५
सोमबार, १२ वैशाख २०७९

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल भएपछि बागीको बिगबिगी देखिएको छ । महानगर र उपमहानगरमा गठबन्धन सम्बद्ध पार्टीबाटै बागी उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच केन्द्रमा भएको सहमतिलाई कार्यकर्ताले उल्लङ्घन गरेको पाइएको छ । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको हो ।

गठबन्धनभित्रबाट पोखरा, भरतपुर, ललितपुर र विराटनगरमा बागी उम्मेदवारी परेको छ । यस्तै उपमहानगरमा बुटवल, हेटौडा, धनगढी, जनकपुरधाममा गठबन्धन दलबाटै बागी उम्मेदवारी परेको छ ।

पोखरामा काँग्रेसका तीन जनाको विद्रोह

पोखरा महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका ३ जना नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस नेता विमलबहादुर कार्कीले आइतबार नै बागी उम्मेदवारी दिएका थिए । सोमबार काँग्रेसका नेता नन्दूप्रसाद तिवारी र सोमबार ऋषि सापकोटा पनि दाबी उम्मेदवारी दिनेमा थपिएका छन् ।

मेयरमा बागी उम्मेदवारी दिने तिवारी काँग्रेस सभापति शेरबहादुर देउवा निकट कास्कीका पुराना नेता हुन् । उनी देउवा नेतृत्वको तत्कालीन नेपाली काँग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव भएका थिए । यता सापकोटा पूर्व कास्की जिल्ला कोषाध्यक्ष समेत हुन् भने  कार्की काँग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति समेत हुन् । गठबन्धनमा मेयर एकीकृत समाजवादीको भागमा परेपछि उनीहरूले बागी उम्मेदवार दर्ता गरेका छन् ।

एकीकृत समाजवादीका नेता धनराज आचार्यले पोखराको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । आचार्यको उम्मेदवारीलाई अस्वीकार गर्दै काँग्रेसका तिवारी, कार्की र सापकोटाले विद्रोह गरेको अवस्था छ ।

चितवनमा पनि काँग्रेसबाटै बागी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेसबाट पूर्व राष्ट्रिय सभा सदस्य पौडेलले पार्टीका कार्यकर्ताको र्‍यालीसहित उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।

सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेपछि चितवन काँग्रेसको एउटा पक्ष असन्तुष्ट थियो । सोही समूहको प्रतिनिधित्व गर्दै पौडेलले बागी उम्मेदवारी दर्ता गरेका छन् । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी नेतृत्व रेनु दाहालले मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगरमा जसपाका नेताको विद्रोह

सत्ता गठबन्धनभित्र विराटनगर महानगरको मेयरमा पनि विद्रोही उम्मेदवार देखिएका छन् । सत्ता गठबन्धन सम्बद्ध दल जसपाका नेता उमेश यादवले बागी उम्मेदवारी दर्ता गराएका छन् । शनिवार मात्रै जसपाबाट बाहिरिएका यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले गठबन्धनमा भएको सहमति अनुसार विराटनगर काँग्रेसको भागमा परेपछि असन्तुष्टि जनाएका थिए । जसपाबाट गत स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा प्रत्याशी यादव बागी उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

गठबन्धनबाट विराटनगरको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपामा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरमा काँग्रेसको बागी

ललितपुर महानगरपालिको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा माओवादीका बाबुराज बज्राचार्यको उम्मेदवारी परेको छ । माओवादीका उम्मेदवारी बज्राचार्यविरुद्ध नेपाली काँग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबीचको सहमति विपरीत उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनमा ललितपुरको मेयर काँग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । तर शाक्यले माओवादीका उपमेयरका उम्मेदवारलाई अस्वीकार गरी गठबन्धनभित्र बागी उम्मेदवारी दिएका छन् ।

महानगरमा सत्ता गठबन्धन सम्बद्ध पार्टीका कार्यकर्ताबाट बागी उम्मेदवारी परे पनि उपमहानगरमा पार्टी नै विरुद्धमा उभिएको अवस्था छ । जसपाले बुटवल, हेटौडा र धनगढीमा सत्ता गठबन्धनबीच भएको सहमति उल्लङ्घन गरेको छ ।

तीन उपमहानरमा गठबन्धनविरुद्ध जसपा
 
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा जसपाले सत्ता गठबन्धनविरुद्ध उभिएको छ । गठबन्धनबाट बुटवलमा मेयरमा काँग्रेसका खेलप्रसाद पौडेल र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । तर जसपाले आइतबार नै मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेको थियो । ​जसपाबाट प्रमुखमा सुरज हिताङ र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै हेटौँडा उपमहानगरपालिकामा पनि जसपाले गठबन्धनको सहमति लत्याएको छ । सत्तारुढ गठबन्धन तोडेर हेटौँडा उपमहानगरमा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामाले मेयरमा र काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।  त्यसविरुद्ध जसपाका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा पनि जसपाले गठबन्धनभित्र बागी उम्मेदवारी दिएको छ । जसपाबाट उपमहानगरपालिकाको मेयरमा कवीन्द्र ऐर र उपमेयरमा नन्दकली रानाको उम्मेदवारी परेको हो । यहाँ गठबन्धनबाट मेयरमा काँग्रेसका नृप वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरमा काँग्रेसबाट विद्रोह

जसपाले मेयर पाएको जनकपुरधाम उपमहानगरपालिका गठबन्धनभित्र काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । जनकपुरधामको मेयरमा  काँग्रेसबाट नेता मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्  ।

मनोज साहले काँग्रेसको जनकपुरधामको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई  परेपछि उनले नगर सभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यहाँ जसपाका लालकिशोर साहले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् भने काँग्रेसकी किशोरी साहले उपमेयरमा उम्मेदवारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप