शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्थापितको उम्मेदवारी उत्पीडनविरुद्ध बोल्न आँट गर्नेहरुको अनुहारमा झापड’

केशव स्थापितको उम्मेदवारीले सामाजिक सञ्जालमा आक्रोश
मङ्गलबार, १३ वैशाख २०७९, १० : ५३
मङ्गलबार, १३ वैशाख २०७९

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेपछि केशव स्थापित लगातार निशानामा परिरहेका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । ‘मी टु’ प्रकरणमा मुछिएका उनलाई फेरि उम्मेदवार बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

पूर्व मेयर स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई युवतीमध्ये एक जना महानगरपालिकाकै पूर्व कर्मचारी र अर्की युवती भने पत्रकार थिइन् । यी दुईले स्थापितले आफूहरुलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए ।

सोमबार उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुगेका स्थापितले यौन दुर्व्यवहारको प्रश्नमा निकै हल्का टिप्पणी गर्दै आफूमाथि आरोप लगाउने महिलालाई ‘पागल’को संज्ञासमेत दिए । उनले ‘विवादमा आएन भने त केशव स्थापित नै हुँदैन’समेत भनेका थिए ।

​स्थापित काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएको खबर सार्वजनिक भएलगत्तै धेरैले यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसमाथि स्थापितले आफूमाथि लागेको यौन उत्पीडनको आरोपलाई निकै हल्का रुपमा लिएपछि सामाजिक सञ्जालमा धेरैले आक्रोश व्यक्त गरेका छन् ।

ट्वीटरमा हिमा लेख्छिन्, ‘एमालेका महिला नेतृहरु कता लाग्नु भयो नि ? केशव स्थापितलाई अगाडि सारेको तमासा कसरी हेर्न सक्नुहुन्छ ?’

यस्तै नेहा लेख्छिन्, ‘एक राजनीतिज्ञ जसमाथि सार्वजनिक रुपमा यौन उत्पीडनको आरोप लागेको छ, उनी नेपालको राजधानी काठमाडौँको मेयर पदको उम्मेदवारको रुपमा कसरी उठ्न सक्छन् ? एक महिलावादी अभियानकर्ताले आरोपित उम्मेदवारलाई कसरी समर्थन गर्न सक्छिन् र कसरी उनी अन्तर्गत काम गर्छिन् ?’

यस्तै आकृति नामको ट्वीटर ह्यान्डलबाट लेखिन्छ, ‘राजनीतिज्ञद्वारा गरिएको यस्तो गम्भीर विषयलाई साधारण ठानिएकोमा अधिकारकर्मी र पीडितहरु अन्योलमा परेका छन् ।’

यस्तै सेमन्त दाहालले कटाक्ष गर्दै लेख्छन्, ‘केशव स्थापित : कृपया मलाई भोट गर्नुहोस् । सुनिता डंगोल : मि टु ?’

यसका साथै अर्की ट्वीटर प्रयोगकर्ता भन्छिन्, ‘मिटुका आरोपित अनुभवीलाई साथ कहिल्यै दिन्नँ मचाहिँ सुनिता डंगोलजी । तपाईं स्वतन्त्र उठ्न लाग्दा गज्जब भनेकी थिएँ । मिटुका आरोपितको साथ लिएर राजनीति सुरु गर्नुभयो । युवाबाट मैलेचाहिँ यो अपेक्षा राखेकी थिइनँ । दुःखद् ।’

यस्तै, स्थापितमाथि यौन उत्पीडनको आरोप लगाउने रश्मिला प्रजापतिले फेसबुकमा निकै लामो स्टेटस लेखेर विरोध गरेकी छन् । ‘नेपालमा पनि सत्ता र शक्तिको दुरुपयोग गर्ने धेरै छन् । उनीहरुलाई नङ्ग्याउने यो नै सही समय हो : राजनीतिज्ञ, अभिनेता, मिडियाकर्मी, लेखक, व्यापारी.... तिनीहरु जताततै छन्,’ उनले लेखेकी छन्, ‘मैले गत वर्ष रातोपाटी र वर्ल्डपल्समा काठमाडौंका पूर्व मेयरले ममाथिको यौन उत्पीडनको प्रयासबारे एउटा लेख लेखेकी थिएँ । ती व्यक्तिले ममाथि यौन उत्पीडन गर्न नपाएपछि मलाई जागिरबाट निकालियो । तिनै व्यक्तिले एक महिला पत्रकारलाई पनि यौन उत्पीडन गरेको खबर सुनेँ । ममाथि यो घटना घटित भएको १५ वर्षभन्दा बढी भइसकेको छ र उनले अझै महिलामाथि यौनहिंसा गर्न छोडेका छैनन् ।’

स्थापितद्वारा उत्पीडनमा परेका लगभग दर्जनभन्दा बढी महिलालाई आफूले चिनेको दाबी पनि उनले गरेकी छन् । ‘तीमध्ये कोही त मसँग फेसबुकमा साथी पनि छन् । हामी आवाजबिहीन होइनौँ । हामीले अब हाम्रो आवाज बुलन्द र स्पष्ट रुपमा प्रस्तुत गर्न सक्छौँ,’ उनले लेखेकी छन्, ‘हामीले अब यसलाई रोक्न सक्छौँ र पूर्व मेयर तथा प्रदेश ३ का तत्कालीन भौतिक पूर्वाधार मन्त्री एक यौन दुराचारी हुन् भनेर संसारलाई जानकारी दिनुपर्छ ।’

उनले अर्को पोस्टमा लेखेकी छिन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ र पद पाउने भएपछि खुबै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए । छि, कति दुर्गन्धित राजनीति !’

यस्तै उनले अर्को पोस्टमा स्पष्टीकरण दिँदै आफू एमाले पार्टीको विरोधी नभएको पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘म एमाले पार्टीको विरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा व्यक्तिहरु पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दुराचारीमात्र होइन, हालसम्मकै भ्रष्टलाई उम्मेदवारी दिएकोमा विरोध हो ! गलत व्यक्ति र गलत प्रवृत्तिको विरोध हो !!’

यस्तै, दीपिका नामकी ट्वीटर प्रयोगकर्ताले लेख्छिन्, ‘केशव स्थापितको यौन उत्पीडनविरुद्ध बोल्न आँट गर्नेहरुको मुखमा अर्को एउटा थप्पड । यदि तपाईंसँग शक्ति र सामाजिक पुँजी छ भने तिमी जस्तोसुकै कुराबाट पनि पन्छिन सक्नेछौ ।’

प्लुटो नामबाट यस्तो लेखिएको छ, ‘नेपालमा कानुन बनाउनेहरुले नै मी टु अभियानलाई यसरी हल्का रुपमा लिने गर्छन् । यस्तै, सुनिता डंगोल योभन्दा पनि योग्य छिन् । स्थापितलाई निष्कासन गरियोस् र मिस डंगोललाई मेयर पदको उम्मेदवारको रुपमा अघि सारियोस् । हामीलाई उत्कृष्ट नेताहरु चाहिएको छ ।’

यस्तै अंकित खड्गी लेख्छन्, ‘हो, युवाहरु देशको राजनीतिमा होमिनुपर्छ तर यौनहिंसाको आरोप लागेका केशव स्थापितजस्ता व्यक्तिलाई राजनीतिमा लाग्नकै लागिमात्रै समर्थन गर्नुहुन्छ भने तिमी अहिले नेताभन्दा फरक छैनौं ।’

यस्तै निर्मला लेख्छिन्, ‘अरुबेला यौन दुराचारको आरोप लागेका व्यक्तिसँग मञ्चसमेत सेयर गर्दिन भनेर एटेन्सन खोज्ने हाम्रा कम्रेड दिदीबहिनी, अभियन्तादेखि नेतिनी दिदीबहिनीहरु ‘स्थापित जिन्दाबाद’ भन्दै हिँडेको देख्न पर्छ होला कि नाई ? महिलालाई साथ दिउँ भन्नेले फरक पार्टी भए पनि भोट हाल्छन् नि नाई ?’

यस्तै जुना श्रेष्ठ लेख्छिन्, ‘बितेको २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरु कुनै नेता–कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ ।’

यस्तै मनु लेख्छन्, ‘गेम इज ओभर भन्दै उम्मेदवारी दर्ता गराएका कामपा. नेकपा उम्मेदवार अझ यसोभन्दा प्रस्ट होला पूर्व मेयर–बलात्कारका आरोपित विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै कङ्कार ठोक्दै हिँड्ने लाज पचाएका जिते भोलिका जनप्रतिनिधि कसरी मान्ने जनताले ?’

भौतिक पूर्वाधार मन्त्री पदमा रहेकै बेला स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदीय जिम्मेवारी नसम्हाली अमर्यादित ढंगले संसद र मन्त्रिपरिषदको बैठकमा प्रस्तुत हुने गरेको, मन्त्री तथा माननीय सांसदहरुलाई मर्यादित व्यवहार नगरेको र अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार गरेको भन्दै पदबाट बर्खास्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप