शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको निर्णय तोडेर मन्त्रीका छोरा बने उम्मेदवार !

मङ्गलबार, १३ वैशाख २०७९, २१ : ३०
मङ्गलबार, १३ वैशाख २०७९

सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रको आइतबार बसेको बैठकले चार दिन लगाएर धौ–धौ पालिकाहरुको सिट बाँडफाँट ग¥यो । तर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा भने उक्त निर्णय काँग्रेसले उलंघन गरेको छ । 

प्रदेश संयन्त्रको निर्णयको केही समय पश्चात नै एक विज्ञप्ति जारी गर्दै गठबन्धनको निर्णय अस्वीकार गर्दै काँग्रेसले एक्लै चुनाव लड्ने घोषणा गर्यो  ।  सिट बाँडफाँट गर्दा त्यहाँ प्रमुख नेकपा एकीकृत समाजवादीलाई र उपप्रमुख काँग्रेसलाई भाग परेको थियो । तर, नगरकार्य समितिले जारी गरेको विज्ञप्तिमा भनियो,  ‘गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश कार्यसमितिको मिति २०७९ वैशाख ११ गते गरेको निर्णयप्रति चामुण्डाविन्द्रासैनी नगरकार्य समिति घोर आपत्ति गर्दछौ ।’ चामुण्डामा काँग्रेसको सांगठनिक अवस्था माओवादी र  समाजवादी भन्दा बलियो भएकैले निर्णय नमानेको बताइएको छ । 

 सोही अनुसार सोमबार काँग्रेसबाट गणेश कुमार शाहीले मेयर पदका उम्मेदवारी दर्ता गराए । उनी कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् भने ०७४ को निर्वाचनमा पनि मेयरमै पराजित भएका थिए । स्मरणीय के छ भने मन्त्री शाही समाजवादी र माओवादीकै सहयोगमा प्रदेशमा मन्त्री बनेका थिए । ‘यदि प्रदेशमा तीन दलीय गठबन्धन नभएको भए उनले मन्त्री बन्ने अवसर पाउँथेनन्,’ एकीकृत समाजवादीका एक नेताले भने ,‘उहाँ (मन्त्री) हामीले साथ दिएर मन्त्री बनेको बिर्सनुभयो । उल्टै कार्यकर्तालाई उचालेर एकल उम्मेदवारी दिन सहयोग गर्नुभयो।’

ठाटीकाँध गाउँपालिकाको अध्यक्ष माओवादीलाई भाग परेको थियो भने उपाध्यक्ष  काँग्रेसलाई । तर ठाटीकाँध काँग्रेसले पनि उक्त निर्णय स्वीकार गरेन । सोमबार काँग्रेस–माओवादीले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराए । दैलेखमा नारायण नगरपालिका बाहेकका पालिकाहरुमा गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराइएको छ । यति मात्र होइन दैलेखको नौमुलेमा काँग्रेसका सभापति गंगबहादुर शाही पार्टी परित्याग गरी एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार बने  । पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन भएकाले काँग्रेस छाड्नु परेको उनको भनाइ छ । 

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाला सिमित दलाल, ठेकेदार तथा भ्रष्टहरुलाई टिकट बिक्री गर्ने पार्टीका केहि दलाल नेताहरुका विरुद्ध घोर आपत्ती प्रकट गर्दछु।’ माओवादी केन्द्रका जिल्ला तहका एक नेताले गठबन्धनमा काँग्रेसले इमानदारिता नदेखाएको गुनासो गरे । उनले भने,‘ गठबन्धनको निर्णय अनुसार काँग्रेसका नेता, कार्यकर्ताले इमानदारिता देखाएनन् । जसले गर्दा उम्मेदवारी दर्तामा गडबड भयो । उहाँहरु (काँग्रेस)ले आफ्नो संगठन संरचना भएको ठाउँमा अन्य दललाई स्वीकार गर्न राजी हुनुभएन । यो उहाँहरुको अहमता हो ।’ 

भागबण्डा अनुसार उम्मेदवार कायम गर्न निर्देशन
दलहरुले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएपछि नेपाली काँग्रेसले गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार आफ्नो उम्मेदवारहरू कायम गर्न निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रदेशले जिल्ला कार्य समितिलाई सो निर्देशन दिएको हो । प्रदेश महामन्त्री कृष्णबहादुर रोकायाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ,‘पाँच दलीय गठबन्धन कर्णाली प्रदेश स्तरीय संयन्त्रको बैठकको निर्णयअनुसार पालिकाको सीट बाँडफाँड गरी गठबन्धनका साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी नै छ, सोही अनुसार काँग्रेसले प्राप्त गरेको पदमा मात्र उम्मेदवार कायम गराउन हुन निर्देशन गरिएको छ ।’

निर्देशनपछि मिलाउने प्रयासमा छौं : सभापति रेग्मी 
प्रदेशको समितिको निर्देशनपछि उम्मेदवारी दर्ता गराएका नेताहरु झस्किएका छन् । काँग्रेसका दैलेख सभापति मणिराम रेग्मीले मिलाउने प्रयास भइरहेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने,‘ अब साथीहरुले गराइहालेछन् । प्रदेशबाट निर्देशन आएपछि मिलाउने प्रयत्न गरिरहेको छु ।’ रेग्मीले मंगलबार पनि गठबन्धन दलहरुबीच छलफल गरिएको बताए । उनले भने ,‘कार्यान्वयन गर्न भनिरहेको छौं । कति सफल हुन्छौं । अहिले पनि बैठक बसेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप