शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी उत्पादनले पाउँदैन बजार

मूल्यदेखि भान्सासम्म भारतीय तरकारीको एकछत्र राज
बुधबार, १४ वैशाख २०७९, १३ : २९
बुधबार, १४ वैशाख २०७९

बजारमा स्वदेशी उत्पादनले बजार नपाइरहँदा आयातित तरकारीले भने मूल्यदेखि भान्सासम्म रजगज चलाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार स्वदेशमा उत्पादित तरकारीले लागतअनुसारको मूल्य नपाउँदा आयातित तरकारीको मूल्यले भने धेरै दाम पाइरहेको हो ।

नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा स्वदेशी उत्पादनले बजार नपाएको बताउँछन् । ‘नेपालका किसानले उत्पादन गरिरहेको तरकारी मूल्य पाइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘भारतीय तरकारीले उच्च दाम पाइरहेका छन् ।’ उनले नेपाली उपभोक्ताहरू नै बजार भाउ सस्तो हुँदा नखाने र त्यही तरकारीको मूल्य बढेपछि खोजिखोजी खाने गरेको खतिवडा बताउँछन् ।

खतिवडाले हाल तिते करेलाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ, भिण्डीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ, लोकल काँक्रो ३० रुपैयाँ र हाइब्रिड काँक्रो १५ रुपैयाँ छ । यस्तै, भारतीय आलुको थोक मूल्य २५ रुपैयाँ रातो आलुको थोक मूल्य प्रतिकिलो २९ रुपैयाँ छ । यसका साथै, तराई गाजरको मूल्य ३७ रुपैयाँ रहेको खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

‘यी तरकारीको उत्पादन यतिबेला स्वदेशमै हुन्छ । जसले गर्दा मूल्य सस्तो छ,’ खतिवडाले भने, ‘तर, यी तरकारीको बिक्री न्यून छ । किनकि मूल्य सस्तो छ ।’ उनका अनुसार तरकारी बजारसम्म पुग्ने उपभोक्ता सस्तो तरकारीमा आँखै लाउँदैनन् । ‘बजारमा स्वदेशी तरकारी आउनसाथ मूल्य सस्तिन्छ । सस्तो तरकारीमा उपभोक्ताले आँखै लाउँदैनन्,’ खतिवडाले भने ।

उनका अनुसार नेपालमा अफसिजन हुने बित्तिकै जुनसुकै तरकारीको आयात भारतबाट सुरु हुन्छ । आयात हुने बित्तिकै मूल्य उच्च हुन्छ र माग समेत ह्वात्तै बढ्छ । अहिले बजारमा अन्य तरकारीको तुलनामा सस्तो मूल्यमा पाइने तरकारी स्वदेशी उत्पादन हो । ‘यी तरकारी छाडेर आयातित तरकारीको लाइनमा उपभोक्ता लाग्नाले समस्या भएको हो,’ खतिवडाले भने ।

हाल बजारमा काउलीको थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । राजमाको मूल्य ७५ रुपैयाँ प्रतिकिलो, घिउ सिमी हाइब्रिड ७५ रुपैयाँ प्रतिकिलो, बोडी प्रतिकिलो ६५ रुपैयाँ छ भने ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ । यतिबेला नेपालमा यी तरकारीको अफसिजन चलिरहेको छ । सोही कारण, भारतबाट आयात भइरहेको छ । यसै गरी, दुई साता अघि दोलखामा उत्पादित रायोको साग नबिकेर किसानले अहिलेसम्म भुक्तानी पाएका छैनन् । तर, अहिले भारतबाट आइरहेको रायोको सागको थोक मूल्य नै ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, हाल चितवन तथा देशका विभिन्न स्थानमा उत्पादित गाजरको बिक्री समेत न्यून रहेको छ । नेपालमा उत्पादन सिजन सुरु भएपछि धेरै परिमाण एकैपटक आउँदा समेत बजारमा मूल्य घटेको र बिक्री नभएको जस्तो देखिने नभइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति बताउँछ । समितिका निर्देशक विनय श्रेष्ठले नेपालमा उत्पादित तरकारीको तुलनामा भारतबाट आयात हुने तरकारीले उच्च मूल्य पाउने स्वीकारे । उनले भारतदेखि आउने तरकारीमा धेरै तहका लागत जोडिने र त्यो लागत जोड्दा उपभोक्तासम्म पुग्दा मूल्य महँगिने बताए ।

भारतका विभिन्न राज्यमा उत्पादित तरकारी नेपालसम्म ल्याउँदा भन्सारमा ५ प्रतिशतसम्म सेवा शुल्क बुझाउनुपर्छ । यस्तै, ढुवानी लागत, आयातकर्ताको नाफा र व्यवसायीको मुनाफा जोड्दा महँगो पर्छ । तर, नेपालमा कुनै तरकारीको मूल्य बढ्नसाथ माग ह्वात्तै बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष नेपालमा हुने कुल तरकारी खपतको ६० प्रतिशत भारतबाट आयात हुने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘काठमाडौँ उपत्यकाका विभिन्न तरकारी बजारबाट दैनिक १ हजार टन तरकारी खपत हुन्छ । त्यसमध्ये ६०० टन तरकारी भारतबाट आउँछ ।’ यसै गरी, देशभर दैनिक ४० हजार टन तरकारी र २० हजार टन फलफूल खपत हुने गरेको अनुमान महासंघको छ । जसको ६० प्रतिशत आयात भारतबाटै हुन्छ ।

कुन तरकारीको मूल्य कति ?

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप