शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसको बीच बाटोमै चुनाव लड्न पाएको टिकट खोसियो

बुधबार, १४ वैशाख २०७९, २० : ४४
बुधबार, १४ वैशाख २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत सुर्खेतका पालिकामा उम्मेदवारीका लागि टिकट वितरणमा काँग्रेसभित्र बेथिति देखिएको छ । चौकुने गाउँपालिकाको उपाध्यक्षमा आफूलाई टिकट दिएर पनि बीच बाटोमै खोसिएको काँग्रेसकी स्थानीय नेतृ रेनु रानाले बताएकी छन् ।

काँग्रेसको संस्थापन पक्षको कार्यकर्ता बताउने उनले आफूले पाएको टिकट जिल्लाका केही नेताका कारण खोसिएको बताइन् । आफू उम्मेदवारी दर्ता गराउन जाँदा आफूले पाएको टिकट खोसेर अरुलाई नै उम्मेदवार बनाइएको उनको जिकिर छ ।

राना ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमै उम्मेदवार थिइन् । त्यतिबेला पार्टीभित्रकै नेताहरुले आफूलाई हराएको उनको आरोप छ ।

‘यो पटक पनि मलाई जिल्लाबाट ठुला (शीर्ष) नेताहरुले तपाईले टिकट पाउनुहुन्छ, जानुस् भनेर पठाए,’ बुधबार सुर्खेतमा पत्रकारसामु पीडा पोख्दै उनले भनिन्, ‘म यहाँदेखि चार घण्टाको लामो बाटो यात्रा गरेर मनोनयन दर्ता गर्नलाई भनेर जाँदै थिएँ । तर टोपबहादुर रावतले टिकट खोसिदिनुभयो ।’

रावत काँग्रेसका सुर्खेत जिल्ला उपसभापति हुन् । रानाले काँग्रेसका क्षेत्रीय सभापति इन्द्र रावल, प्रदेश सहमहामन्त्री उपेन्द्र थापा लगायतले आफ्नो टिकट खोसेको आरोप लगाइन् ।

आफू २०५८ सालदेखि राजनीतिमा रहेको तर पार्टीभित्रको गुटबन्दीका कारण आफूजस्ता सोझा कार्यकर्ताहरूमाथि बारम्बार अन्याय हुने गरेको उनको भनाइ छ । ‘उहाँहरुले टिकट किनबेच गर्नुभएको हो कि, थाहा भएन,’ उनले भनिन्, ‘मलाई चौकुनेवासीले तपाईले पाएको टिकट किन खोसियो भनेर प्रश्न गरिरहेका छन् ।’

सो पालिकामा उपाध्यक्षमा मात्रै नभई अध्यक्ष पदका लागि टिकट वितरणमा पनि काँग्रेसमा यस्तै बेथिति रहेछ । अध्यक्षका लागि सन्तोष खनालले सोमबार बिहान ६ बजे वीरेन्द्रनगरमा रहेको होटेल सुमेरुमा टिकट लिएका रहेछन् । उनी निकट स्रोतका अनुसार टिकट पाएसँगै खनाल सोमबार दिउँसो मनोनयन दर्ताका लागि वीरेन्द्रनगरबाट चौकुनेतिर लागेका थिए । तर, उनी दिउँसो चौकुनेस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाँदा उनको टिकट खोसेर गीता धमलालाई अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गर्न लगाइएको स्रोतले बतायो ।

सो प्रकरणप्रति असन्तुष्टि जनाउँदै काँग्रेसको एउटा समूहले संयुक्त विज्ञप्तिसमेत जारी गरेको छ । अध्यक्षको टिकट गीता धमला र उपाध्यक्षको टिकट नरबहादुर बास्तोलालाई नाटकीय ढंगबाट दिइएको भन्दै विज्ञप्तिमा ‘पार्टीभित्र इमानदारिता, लगनशीलता, निष्ठावान र त्यागको राजनीतिलाई निषेध गर्न खोजिएको’ आरोप लगाइएको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा काँग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेलले खुलेर केही बताएनन् । उनले भने, ‘पार्टीभित्र केही भयो होला । जे भए पनि भइहाल्यो । पत्रकार समक्ष गएपछि मिल्छ भने ठिकै छ । होइन भने अर्को मान्छेले उम्मेदवारी दर्ता गरिसक्यो ।’

सुर्खेतमा अहिले काँग्रेसभित्र पूर्णबहादुर खड्का र हृदयराम थानी पक्षबीच चरम गुटबन्दी छ । काँग्रेसको आन्तरिक द्वन्द्वकै कारण सुर्खेतमा गठबन्धन पनि हुन सकेन ।

थानी पक्षधर मानिएका पूर्व जिल्ला सभापति कमलराज रेग्मी काँग्रेसभित्रको लिडरसिप करेक्सन हुनुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘यो केन्द्रीय उपसभापतिको जिल्ला हो । उहाँका मान्छेहरूलाई उहाँले एकलौटी राख्नुभएको छ । जिल्ला कार्यसमितिमा हाम्रो कुनै सहभागिता गराइएको छैन । यसको परिणाम उहाँहरुले नै लिने हो र भोलिको जवाफदेही पनि उहाँहरु नै हो ।’

उनले संस्थापन इतर पक्षलाई सुर्खेतका कुनै पनि ठाउँमा उम्मेदवारी नदिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप