विप्लवको पार्टीमा फरक दृश्य : केन्द्रमा भाँडभैलो, जिल्लामा चुनावी घरदैलो
चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा भाँडभैलो भएको छ । तर जिल्ला तहमा भने सोही पार्टीका कार्यकर्तालाई चुनाव प्रचारका लागि घरदैलो कार्यक्रममा भ्याइ–नभ्याइ देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा सहभागिताका विषयलाई लिएर नेकपामा दुई पक्षीय संघर्ष चलिरहेको छ । सोही क्रममा एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने होड चलेको छ । तर, जिल्लामा भने सोही पार्टीका संगठित कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरी घरदैलो कार्यक्रममार्फत भोट मागिरहेको दृश्य देखिन्छ ।
निर्वाचन आयोगमा दर्ता नभएका कारण सो पार्टीका कतिपय नेता–कार्यकर्ताले विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन्, जसमध्ये कपिलवस्तुको शिवराज नगरपालिका पनि एक हो । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को गृह नगरसमेत रहेको यहाँ विप्लवकै घर भएको वडा नम्बर ९ को अध्यक्षमा पनि सो पार्टीका कार्यकर्ताको उम्मेदवारी छ ।
शिवराज नगरपालिकामा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले नगर प्रमुखमा र पार्टीका कार्यकर्ता मालबहादुर घर्तीले शिवराज नगरपालिका–९, शिवगढीमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो वडामा नेकपाका कार्यकर्ताले वडा सदस्य पदमा पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पार्टीको केन्द्रमा बढ्दो विवादका बीच पार्टी नै विभाजन हुने अवस्था सिर्जना हुँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेकपाका उम्मेदवारहरू अहिले भोट माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन् ।
मेयरका उम्मेदवार भुसालले बिहीबार दिउँसो रातोपाटीसँग भने, ‘वडा अध्यक्षका उम्मेदवारसहित सबै अहिले हामी प्रचारप्रसारमा छौं, भोट माग्नका लागि घर घरमा पुगेका छौं ।’
अर्घाखाँची जिल्लाको तत्कालीन ढिकुरा गाविसका जन्मेका भुसालले भारतमा प्रवास एकता समाजबाट राजनीति सुरु गरेका हुन् । २०३२ सालदेखि राजनीतिक यात्रा थालेका उनी भूमिगत भएर माओवादी जनयुद्धमा पनि सामेल भएका थिए ।

पार्टीकै सल्लाहमा २०५३ सालमा फेरि खुला राजनीतिमा आएर उनी कपिलवस्तुको नेपाल आदर्श स्कुलमा पढाउन थालेका थिए । अध्यापनसँगै माओवादीको राजनीति गरेका भुसाल नेकपा माओवादी निकट शिक्षक संगठनको केन्द्रीय महासचिव समेत बन्न सफल भएका थिए ।
जनयुद्धकै समयमा पटकपटक गिरफ्तारमा परेपछि २०५७ सालमा उनी भूमिगत बनेका थिए । ६५ वर्षका भुसाल अहिले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य छन् ।

के छन् एजेन्डा ?
विप्लवको गृहनगर शिवराजलाई ‘मिनी रोल्पा’ उपनामले पनि चिनिन्छ । नेकपाको केन्द्रीय कार्यालय पनि यहीँ छ । पार्टीभित्र चर्को मतभेदका बीच पनि किन उम्मेदवारी भन्ने रातोपाटीको प्रश्नमा भुसालले अहिले व्यवस्थामा रहेर जति सुधार गर्न सकिन्छ, त्यसैलाई प्रयोग गरेर जाने रणनीति अनुसार आफूले उम्मेदवारी दिएको बताए ।
पार्टीका महासचिव विप्लवको संकेत अनुसार नै आफूले उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा सामेल भएको उनको भनाइ छ । उनले एमसीसीको विरोध तथा राष्ट्रघाती सम्झौता खारेजसहितका एजेण्डा लिएर आफूहरु निर्वाचनमा गएको बताए ।

विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएको र पैसाको बलमै चुनाव जित्ने परम्परा बनेको भन्दै उनले आफ्नो उम्मेदवारी त्यसका विरुद्ध पनि रहेको प्रस्ट पारे । ‘अहिलेको चुनावमा लाखौं, करोडौं खर्च हुन्छ, कम पैसा भएका उम्मेदवारहरू बाइपास हुने अवस्था छ,’ उनले भने, ‘स्थानीय स्तरमा चुनावमा ठेकेदार, धेरै पैसा भएको व्यक्तिमात्र उम्मेदवार हुने हुँदा उनीहरुले भोलि चुनाव जितेर भ्रष्टाचार नै गर्दछन्, सामान्य व्यक्तिले चुनाव लडेर पनि जित्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो पहिलो उद्देश्य हो ।’
शिवराज नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो । त्यो बेला एमालेले नगर प्रमुखमा ६ हजार १५५ मत ल्याउँदा संघीय समाजवादीले ४ हजार ७६२, राप्रपाले २ हजार ६७१ मत ल्याएका थिए । यो पालिकामा अहिले सबै दल आ–आफ्नो ढंगबाट चुनावी मैदानमा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण