शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२५ सम्ममा मानसिक स्वास्थ्य सेवा सबै जिल्लामा पुर्‍याइँदै

नसर्ने रोगबाट हुने अल्पायु मृत्यु दरलाई एक तिहाइले घटाइने
शनिबार, १७ वैशाख २०७९, ०५ : ५२
शनिबार, १७ वैशाख २०७९

सरकारले नसर्ने रोगको भारलाई सम्बोधन गर्ने रणनीति ल्याएको छ । नसर्ने रोगमध्ये सन् २०२५ सम्ममा सबै जिल्लामा मानसिक सेवालाई प्राथमिकतामा पारिएको हो । नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि  बहुक्षेत्रीय कार्य योजना रणनीति ल्याइएको छ । यस क्रममा नसर्ने रोग अन्तर्गतको मानसिक स्वास्थ्य सेवा समेतलाई समावेश गरिएको छ ।

मानसिक स्वास्थ्य रणनीति २०७७–२०८१ को मार्गदर्शन अनुसार नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै, रणनीतिअन्तर्गत प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूबाट सुरु गरी स्वास्थ्य संरचनाका तीनवटै तहमा नसर्ने रोगको  सुधार गरिने भएको छ । यस उपचार पद्धतिले केस व्यवस्थापन, प्रेषण र फिर्ता प्रेषण, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन संयन्त्रमा सुधार गर्न सहयोग गर्नेछ । 

यस्तै, खरिद तथा आपूर्ति शृङ्खलाका सवाल र एकीकृत स्वास्थ्य सूचना प्रणाली, बजेट तथा योजना तर्जुमामा सुधार गरिनेछ । स्वास्थ्य संस्थामा उपचार गराउने तर फलोअपको लागि नजाने प्रवृत्तिलाई अन्त्य गर्ने उल्लेख छ । स्वास्थ्य केन्द्रहरूमा बिरामीलाई फलोअप स्मरण गराउने प्रणाली सुदृढ बनाउन र उपचारको निरन्तरता सुनिश्चित गर्न सूचना प्रविधिमूलक कार्यहरू सुरु गरिने भएको छ । 

टेलीमेडिसिन सुरु गरी प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्ने र प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूमा स्वास्थ्य जनशक्तिलाई टिकाइ राख्ने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासलाई प्राथमिकता दिइने भएको छ ।  

औसत आयुमा भएको वृद्धि र ज्येष्ठ नागरिकहरूको अनुपातमा भएको वृद्धिसँगै पुनर्स्थापनात्मक र उपचारलाई समावेश गर्दै थप एकीकृत मेडिकल तथा सामाजिक पद्धतिको विकास समेत गरिने भएको छ । यस्तै, मुटु रोग, मिर्गौला सम्बन्धी दीर्घ रोग, मुखको क्यान्सर, स्तन र पाठेघरको क्यान्सर, बाल्यावस्थाको क्यान्सर उपचारलाई प्राथमिकतामा राख्दै उपचारलाई सहज बनाइने उल्लेख छ । 

नसर्ने रोगहरूबाट अचानक हुने हृदयाघात र मस्तिष्कघात जस्ता आपत्कालीन अवस्थाहरूको व्यवस्थापन गर्ने र नसर्ने रोगहरूको बृहत् उपचारका संवेदनशीलतालाई सम्बोधन गर्न राष्ट्रिय सिकाइ र सेवा केन्द्रको रूपमा कार्य गर्ने उच्च मापदण्डको केन्द्र निर्धारण समेत गर्ने भएको छ ।

महामारीको प्रतिकार्य एक्लै हुँदैन  

सरकारले सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अल्पायु मृत्यु दरलाई एक तिहाइले घटाउने लक्ष्य परिलक्ष्य  राखेको छ । यस्तै सबै उमेर समूहका नागरिक स्वस्थ जीवनको सुनिश्चित गर्न र आरोग्यता प्रवर्द्धन गर्न अल्पायु मृत्यु दरलाई घटाउने रणनीति बताएको हो । 

यस्तै, महामारीको रूपमा वर्तमान समयमा रहेको नसर्ने रोगसँग प्रतिकार्य गर्नका लागि  धेरै क्षेत्रको आवश्यकता र संलग्नता पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नसर्ने रोगका कारकहरूको सम्बोधनका साथै स्वास्थ्य क्षेत्रका उद्देश्य हासिल गर्न अत्यावश्यक गतिविधि गर्न स्वास्थ्य क्षेत्रभन्दा बाहिरको जिम्मेवारी हुने बताइएको छ । 

सबै सम्बन्धित निकायसँग संलग्नता, समान उद्देश्यहरू निर्धारण गरी गतिविधि गर्दा श्रोतको सुनिश्चितताका साथै समन्वयको आवश्यकता पर्ने नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण तथा बहुक्षेत्रीय कार्य योजनामा उल्लेख गरिएको छ ।  

यसरी दिइयो नसर्ने रोगलाई प्राथमिकता

नेपालले  विश्व स्वास्थ्य संगठनको ५३ औँ महासभाले सन् २००० ‘नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणसम्बन्धी विश्व रणनीति’ लाई समर्थन गरेको छ । यस्तै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको परिलक्ष्य ३.४ प्राप्तिको लागि राष्ट्रिय कार्यसूचीमा नसर्ने रोगहरूलाई समावेश गरिएको छ । 

यसभन्दा अघि पनि जनस्वास्थ्य सेवा ऐन–२०७५, स्वास्थ्य सेवा नियमावली–२०७७, राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनीति २०७२–७७, बहुक्षेत्रीय पोषण योजना– दोस्रो (०७५/७६– ०७९/८०, पन्ध्रौँ योजना (आर्थिक वर्ष ०७६/७७– ०८०/८१) र राष्ट्रिय स्वास्थ्य नीति–२०७६ मा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखिएको थियो । 

सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०१४–२०२०’ को मूल्याङ्कन प्रतिवेदनले समेत नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय समन्वय र सहकार्य थप निरन्तरता दिनुपर्ने तर्फ जोड दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप