शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधामः काँग्रेस–एमालेका बागी भन्छन्, ‘फिर्ता लिन दबाब आएन, भोलिदेखि प्रचारप्रसारमा जुट्छौँ’

शनिबार, १७ वैशाख २०७९, १४ : ०४
शनिबार, १७ वैशाख २०७९

यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा भाग लिन मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये मेयर सहित १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाले दिएको जानकारी अनुसार मेयर पदमा दुई जना, उपमेयर पदमा १ जना, वडाध्यक्ष पदमा ११ जना र सदस्य पदमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

तर जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका बागी उम्मेदवार रहेका मनोज साहले भने उम्मेदवारी फिर्ता लिएनन् । उनले आफूलाई कतैबाट पनि कुनै किसिमको उम्मेदवार फिर्ता लिनका लागि दबाब नआएको दाबी गरे । उनले आफूलाई पूर्व गृहमन्त्री समेत रहेका नेता विमलेन्द्र निधि र मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवसँग कुराकानी भए पनि उम्मेदवारी फिर्ता लिने सवालमा कुराकानी नभएको बताए ।

अब आफूले चुनाव चिन्ह पाउने भन्दै उनले भने, ‘चुनाव चिन्ह पाएपछि प्रचारप्रसारका लागि छापसहितको पर्चा, पम्पलेट, चुनाव चिन्हसहितको झन्डाहरू बनाएर नेता तथा कार्यकर्ताहरूको साथमा जनताको घरदैलोमा पुगेर मत माग्ने योजना रहेको छ ।’

त्यस्तै नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका उमेश चौधरीले पनि आफूलाई कुनै पनि नेताले उम्मेदवारी फिर्ता लिनका लागि दबाब नदिएको बताउँछन् । उनले आफू जनकपुरधाम स्थित राराब क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएदेखि लामो समय सम्म एमालेबाट राजनीतिक गरे पनि इमानदारलाई पाखा लगाएर पुँजीपति वर्गका व्यक्तिलाई नेताकै आसेपासे भएकालाई टिकट दिएकाले सोको विरुद्धमा आफूले उम्मेदवारी दिएको दाबी गरे । उनले आफूले चुनाव चिन्ह पाएपछि प्रचारप्रसारलाई तीव्रता दिने भन्दै उनले साथी भाइ र नगरवासीको साथ, सहयोग र समर्थन रहेको बताए ।

मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथप्रसाद साह र नन्दन कुमार भगत सहित ११ जना वडाध्यक्ष र एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । धनुषाको मिथिला नगरपालिका मेयरमा एमालेबाट बागी बनेर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतोले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उम्मेदवारी फिर्ता लिएका थिए ।   

राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा नाम रहेका उपमेयरका स्वतन्त्र उम्मेदवार सरोजकुमार मिश्र, जनकपुरधाम वडा नम्बर १ बाट वडाध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोध उजुरीको छानबिन पश्चात् रद्द भएको थियो । धनुषामा १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप