बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

तपाईं राजनीति बुझ्नु हुन्न माइला दाइ

शनिबार, १७ वैशाख २०७९, १४ : २९
शनिबार, १७ वैशाख २०७९

आज छोरो चाँडै स्कूलबाट घर आयो । “बाबु के भयो ? छिटै घर आईस् त । सन्चो भएन कि के हो ?” माइला दाइले दैलामुनिको गरोमा मकै गोड्दै सोधे । 

“खोइ, पाले बा बाहेक कोइ छैनन् स्कूलमा । एक घण्टीसम्म त दश  कक्षाको दाई र दिदीले पढाउनु भयो । त्यसपछि पाले बाले घर जानु भन्नु भयो,” भन्दै छोरो  किताब पालीमा सिउरेर खेल्न दौडियो । “ए जेठा तेरो छोरो पनि आइसक्यो स्कूलबाट ?” खोल्सा पारीको बुढाघरे जेठाले सुन्ने गरी माइला दाइले  चिच्याउदै सोधे । 

“आयो आयो, चुनाव लाग्यो रे नि, अब त ।” उताबाट त्यसै गरी ठुलो स्वरमा जवाफ आयो । भोट हाल्ने दिनसम्म त यी मकै पनि दोहोर्याउने योजनामा थिए माइला दाई । “कति छिटै आयो, यो चुनाव पनि ।” सोच्दै आफ्नै काममा व्यस्त भइरहे । दिनभरको घामले आत्तिएको उनी घाम पहेँलिएपछि किस्नेको चिया पसलतिर निस्कए । त्यहाँ स्कूलको गोपाल सर भेटिए ।  

“सर आज त स्कूलमा कोही मास्टर पनि जानु भएन रे । चुनाव  त अर्को महिनाको छेउतिर भन्ने सुनेको अगाडि आयो कि कसो हो ?” गोपाल सरलाई माइला दाइले  सोधे । “पार्टीहरु भित्र कसलाई उठाउने भनेर छलफल हुनु परेन ? अरु सरहरु पनि आफ्ना् आफ्नो पार्टीमा जानु भयो । म पनि गठबन्धनको बैठकमा जानु थियो ।” गोपाल सरले बेलीबिस्तार लगाए । 

“त्यसको लागि पनि हाम्रा केटाकेटीहरुलाई पढाउने मास्टर नै जानु पर्छ र ?” माइला दाइले फेरि सोधे । “ह्या माइला दाइ, तपाईं राजनीति बुझ्नु हुन्न नि ।”  गोपाल सरले बोल्न झर्को मान्दै जवाफ फर्काए । 

माइला दाइ पनि  मनमनै “यस्तो राजनीति के बुझ्नु छ र हामलाई । बरु छोराछोरीहरुलाई पनि नसिकाए हुने ।” सोच्दै घरतर्फ लागे ।

पोखरा–७, मासबार, कास्की                                                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप