शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेत काँग्रेस : गुटगत संघर्षका बीच माओवादीसँग तालमेल

माओवादीका स्थानीय नेता भन्छन्– काँग्रेसको स्वार्थ अनुकुल हामी चल्न सक्दैनौं
शनिबार, १७ वैशाख २०७९, १७ : ४९
शनिबार, १७ वैशाख २०७९

गुटगत संघर्षका बीच सुर्खेतमा नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग स्थानीय तह निर्वाचनमा तालमेल गरेको छ । अन्तिम समयमा आएर काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो । त्यसो त, सत्तारुढ गठबन्धनबीच तालमेलको प्रयास भए पनि भागबण्डामा कुरा नमिलेपछि गठबन्धन घटककै दुई प्रमुख दल काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको हो ।

दुई दलबीच भएको सहमति अनुसार काँग्रेसले वीरेन्द्रनगर, भेरीगंगा नगरपालिकाको उपप्रमुख, चौकुने गाउँपालिकाको अध्यक्ष, सिम्ता र बराहताल गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । सहमति अनुसार ती पदमा काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने छ ।

त्यस्तै माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी, लेकवेशीमा नगरप्रमुख तथा चिंगाड, सिम्ता र बराहताल गाउँपालिका अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने सहमति भएको काँग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

माओवादी केन्द्रका सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले भने, ‘पार्टी केन्द्रको निर्देशन अनुरुप नै तालमेल गरेर जाने सहमति भएको हो ।’ तर बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका नेताहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

पञ्चपुरी नगरपालिकामा माओवादीबाट मेयर पदका उम्मेदवार केशव शाहीले भने, ‘स्थानीय पार्टी कमिटी, जनता र कार्यकर्ताको भावना विपरीत काँग्रेसको स्वार्थ अनुकुल हुने गरी गरिएको निर्णय कार्यान्वयन गर्न हामी बाध्य छैनौँ ।’ केन्द्रको  नीति अनुसार नै माओवादी–समाजवादीबीच गठबन्धन गरेर चुनावी मैदानमा एकताबद्ध भएर होमिने निर्णयमा आफूहरु पुगेको उनको भनाइ छ ।

उनले आफ्नो उम्मेदवारी फिर्ता नभएको जिकिरसमेत गरे । उनले भने, ‘सुरुवातदेखि नै कुनै चासो नदिने अनि अन्तिममा आफू पराजित हुने देखेपछि आफ्नो स्वार्थ अनुकुल तालमेल गरेर जाने भए गए हुन्छ । हामीले गरेको निर्णय पनि स्थानीय पार्टी कमिटीको निर्णय नै हो । त्यसमा हामी अडिग छौं ।’

बराहताल गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ईश्वरभक्त सुनारले उम्मेदवारी फिर्ता लिएको कुप्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘गठबन्धनको निर्णय अनुसार मैले उम्मेदवारी फिर्ता लिएको भन्ने कपोकल्पित र भ्रामक समाचार फैलाइएको छ । मेरो उम्मेदवारी हालसम्म फिर्ता नभएको र हामी बराहतालमा मैत्रीपूर्ण तरिकाले प्रतिस्पर्धा गर्न तयार भएको जानकारी गराउँछु ।’

यी दुई दलबीच प्रमुख÷उपप्रमुख पदमा भागबण्डा मिले पनि वडा तहमा भने सहमति कायम हुन सकेको छैन । सहमति अनुसार वीरेन्द्रनगरमा काँग्रेस–माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरू नगर प्रमुख पदमा उपेन्द्र खड्का र उपप्रमुखमा शान्ति ढकाल भएका छन् । प्रमुखमा काँग्रेसलाई सघाउन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रदेव गिरी र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति ढकाललाई सघाउन काँग्रेसका उपप्रमुखका उम्मेदवार रामकुमारी थापाले  उम्मेदवारी फिर्ता लिएका छन् ।

गुटगत संघर्षमा जेलिएको काँग्रेसभित्र पनि काँग्रेस र माओवादी केन्द्रबीच भएको तालमेलबारे आफूलाई जानकारी नभएको संस्थापन इतर पक्षका नेता बताउँछन् । काँग्रेसका पूर्व सभापति कमलराज रेग्मीले माओवादी–काँग्रेसबीच तालमेल भएको कुरामा संस्थापन पक्षले कुनै जानकारी नगराएको बताए । उनले भने, ‘हामीले मिडियाबाटै सुनेको हो ।’

यसअघि के के भयो ?

चैत २४ गते सुर्खेतमा पाँच दलीय गठबन्धनको बैठकले नौ वटै पालिकामा तालमेल गरी जाने निर्णय भरेको थियो । तर ०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनेको नेपाली काँग्रेसले तालमेलका बारेमा लचकता नदेखाएको भन्दै गठबन्धनका अन्य घटकहरु तालमेलका लागि सकारात्मक हुन सकेनन् ।

वैशाख ९ गतेसम्म पनि काँग्रेसले भागवण्डा मिलाउन चासो नदिएपछि माओवादी र एकीकृत समाजवादीले आफ्ना उम्मेदवार छनोट गर्न थाले । सुर्खेत र रुकुममा भागवण्डा मिलाउन प्रदेशस्तरीय गठबन्धन संयन्त्रले पनि नसकेपछि काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्मालाई सहमति जुटाउने जिम्मा दिइयो ।

तर सुर्खेतमा काँग्रेस र रुकुममा माओवादी बलियो राजनीतिक दल भएका कारण सहमति हुन सकेन । अन्ततः ११ गते उम्मेदवार छनोट गरेर १२ गते सबै दलले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराए । तर शुक्रबार एकाएक काँग्रेस र माओवादीबीच तालमेल गरेर जाने सहमति भयो ।

कुनै जानकारीबिना नै तालमेल गरेर जाने भएपछि माओवादीबाट उम्मेदवारी दर्ता गराएका नेताहरु अचम्मित भएका छन् । काँग्रेसको इतर पक्षले नै संस्थापन पक्षलाई साथ नदिने देखिएपछि अन्तिम समयमा आएर काँग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्नु परेको माओवादी केन्द्रका स्थानीय कार्यकर्ताको बुझाइ छ ।

सुर्खेतमा काँग्रेसको इतर पक्षले पार्टीबाट दिइने उम्मेदवारीमा ४० प्रतिशत हिस्सा मागेको थियो । तर, संस्थापन पक्षले जिल्लाका कुनै पनि स्थानीय तहमा इतर पक्षलाई उम्मेदवार बनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप