शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धिरजप्रताप सिंह : फुटबल खेल्दाखेल्दै प्रहरीमा प्रवेश

२९ वर्षपछि आईजीपीको कुर्सीमा
आइतबार, १८ वैशाख २०७९, १४ : ३४
आइतबार, १८ वैशाख २०७९

नेपाल प्रहरीमा २९ औं महानिरीक्षक नियुक्त भएका धिरजप्रताप सिंह दैलेखका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको छ । दैलेखबाट उनको परिवार बाँकेको नेपालगञ्जमा बसाईं सरेको थियो । धिरजको बाल्यकाल नेपालगञ्जमा बित्यो । स्थानीय नारायण माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका सिंह खेलकुदमा रुची राख्थे ।

‘फुटवल खेल्दाखेल्दै प्रहरीमा आकर्षित भएँ’ रातोपाटीसँग कुरा गर्दै सिंहले भने–‘नेपालगञ्जमा प्रहरी व्यायामशाला थियो, त्यहाँ खेल्दाखेल्दै मेरो आकर्ष प्रहरीमा बढ्यो ।’ खेलप्रति लगाव र नेपालगञ्जमा स्कुल नजिकै रहेको प्रहरी व्यायामशालाले उनलाई प्रहरीको बर्दीले तान्यो । फुटबलमा प्रहरीको टिमसँगको प्रतिस्पर्धाले पनि उनी प्रहरीको बर्दीमा आकर्षित भएका हुन् ।

सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका हुन् । डिएसपी हुँदा उनले गोरखा, नुवाकोट र दोलखा जिल्ला कमाण्ड गरेका गिए । प्रहरी उपरीक्षक एसपी भएपछि पर्सा र दाङ जिल्लाको कमाण्ड गरे । उनीसँग लागुऔषध नियन्त्रण ब्यूरोमा दुई वर्ष काम गरेको अनुभव छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा उनले संघीय प्रहरी इकाई कार्यालय बागमती र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए ।

डिआईजीमा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो कमाण्ड गरेका सिंह २०७८ चैत १७ मा एआईजीमा बढुवा भएका थिए । २०५८ मा उनले गोरखा दक्षिणबाहु पाएका थिए । सिंहले प्रवल जनसेवाश्री चतुर्थ र  सुप्रवल जनसेवाश्री तृतीय पदक पाएका छन् ।

तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा भक्तपुरमा प्रहरीले ‘इन्काउन्टर’ गरेको थियो । २०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यसेबला सिंह महाशाखाको प्रमुख थिए ।

यी हुन् आगामी चुनौती
प्रहरी महानिरीक्षक बनेका सिंहका लागि आगामी दिन चुनौतीपूर्ण छन् । उनको पहिलो चुनौती हो, २०७९ वैशाख ३० मा हुन लागेको स्थानिय तह निर्वाचन । सिंहको कार्यकाल करिब १० महिना २१ दिन मात्रै छ ।

संघीय संरचनाअनुसार संघ र प्रदेशमा प्रहरी समायोजन गर्नुपर्ने चुनौती उनको काँधमा छ । सरुवा–बढुवामा देखिएको भनसुन र चाकरी प्रथाका कारण प्रहरीको व्यवसायिक चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । सरुवा बढुवामा चरम राजनीतिक हस्तक्षेप हुने गरेको छ । प्रहरी महानिरीक्षकको रुपमा सो हस्तक्षेपलाई रोक्ने चुनौती उनको सामु छ ।

प्रहरी ऐन र नियमावलीअनुसार एसपी सम्मको सरुवा बढुवा गर्ने अधिकार आईजीपीको हुन्छ । तर, सरुवा–बढुवामा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट सूची पठाउने प्रथा छ । सो प्रथालाई तोड्ने चुनौती उनको काँधमा छ । प्रहरी अधिकृतहरु नै जघन्य अपराध र भ्रष्टाचारमा संलग्न हुँदै आएका छन् । यसलाई नियन्त्रण गरेर नेपाल प्रहरी संगठनको व्यवसायिक चरित्रको विकास र नागरिकमैत्री सेवा नवनियुक्त आईजीपी सिंहका मुख्य चुनौती हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप