बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्याल र गधाले किन ज्यान गुमाउनुपर्‍यो ?

आइतबार, १८ वैशाख २०७९, १७ : ०३
आइतबार, १८ वैशाख २०७९

धेरै पहिलेको कुरा हो, एउटा वनमा धूर्त स्याल बस्थ्यो । धुत्याईँमा उसलाई कसैले जित्न सक्दैनथ्यो । अनेक बहाना पारी सिधासादा जनावरलाई जालमा फसाएर स्वार्थ पूरा गर्ने उसको बानी थियो । निमुखा जनावरहरू उसको चिल्लो कुरामा फसेर कति बेला आहार बन्न पुग्थे पत्तै पाउँदैन थिए । एक दिन ऊ यस्तै मूर्ख बनाउने प्राणी खोज्दै गाउँको छेउछाउमा घुम्दै थियो केही पर खोला किनारमा एउटा गधा चरिरहेको देख्यो । गधालाई देख्ने बित्तिकै उसको खुराफाती दिमाग नयाँ जुक्ति फु¥यो र नजिकै गएर भन्यो–

‘गधा भाइ ! कति राम्रा छौ हगि ? लाग्छ भगवान्ले हातैले कुँदेर नै बनाएका रहेछन् ।’

‘हो र ? प्रशंसा सुन्नासाथ गधाले मक्ख पर्दै ‘हिहि’ ग¥यो ।

‘अहो ! क्या राम्रो स्वर । रूप त्यस्तै स्वर झन् त्यस्तै ।’ गाधा हाँसेको देखेर थप उक्साउने प्रयास गर्दै स्यालले भन्यो–

‘भाइ ! तिमीले भगवान्का त्यस्ता वरदान पाएका छौ, जुन तिमी बिना अरू कसैले पाउन सकेका छैनन् । तिमी जस्तै भाग्यमानी सबै भइदिए संसारै कस्तो हुन्थ्यो होला ।’

यस अघि गधालाई कसैले वास्ता गर्दैनथे, प्रशंसाको त कुरै छाडौँ । भारी बोक्नुपर्दा बाहेक सम्झनासम्म गर्ने कोही थिएनन् । सबैले हेप्थे, हेपेर बोल्थे । कसैलाई गाली गर्नुपर्दा वा गएगुज्रेकोसँग तुलनामा गर्नुपर्दा समेत उसैको नाम लिने गर्थे । उसले आफ्नो प्रशंसा पहिलो पटक सुनेको थियो । त्यसैले खुसीले गदगद हुँदै भन्यो–

‘स्याल भाइ ! मैले पनि तिमी जस्ता असल प्राणी अहिलेसम्म देखेको थिइन । सबैले हेप्थे र नराम्रोसँग तुलना गर्नुपर्दा मेरो नाम लिने गर्थे । जीवनमा पहिलो पटक आफ्नो प्रशंसा सुन्दैछु, जुन तिमी गर्दैछौ, त्यो पनि यति मीठो बोलीमा ।’

‘एऽऽ ?’ स्यालले थप उक्साउँदै भन्यो–

‘त्यसो हो भने ती सबै मूर्ख हुन्, जसले तिम्रो स्वर र सौन्दर्य चिनेकै छैनन् ।’

‘खोइ, भगवान् जाने ।’

‘के खोइ नि ? हो नै त्यही । बरु एउटा कुरा भन्छु मान्छौ ?’

‘के कुरा हो भनन ।’

‘मलाई तिमी जस्ता असल र भाग्यमानी अरू कोही लागेको छैन । तिमीलाई मजस्तो असल र गुणी अर्को लागिरहेको छैन भने हामी दुवै उत्तिकै भाग्यमानी र असल हुनुपर्छ । दुवै उस्तै भेटियो भने के गर्नुपर्छ थाहा छ ?’

‘अहँ छैन, भन मित्र ! के कुरा हो ।’

‘मीत लाउनुपर्छ भन्छन् नि ।’

‘के हो त्यो भनेको ?’

‘आगो र पानीलाई साक्षी राखी अङ्कमाल गरेर असल दोस्ती बन्ने कसम खाने ।’

‘ए ! हो र ?’

‘हो तनि, के तिमी राजी छौ ?’

‘किन नहुने, यति राम्रो कुरामा पनि ।’

त्यसपछि स्याल र गधाले मीत लगाई सँगै हिँड्ने सँगै खाने गर्न थाले । स्याल खोला किनारमा मरेको सिनु खोजेर खान्थ्यो । गधा घाँस, दुवोमा चर्थ्यो । एक दिन खोलातिर डुल्दै गरेको बेला स्यालले नजिकै जङ्गलको छेउमा एउटा सिंहलाई देख्यो र गधाको आँखा छल्दै उसको छेउमा गएर भन्यो–

‘वनराज ! तपार्ईँका लागि एउटा खुसीको खबर लिएर आएको छु सुन्न चाहनुहुन्छ ?’

स्यालको कुरा सुनेर सिंहले गर्जिँदै भन्यो–

‘के कुरा हो भनन, खुसीको कुरा सुन्न नचाहने पनि कोही हुन्छ ?’

‘यतैकतै एउटा मोटो गधा छ । तपाईँलाई आहार खोज्न सात दिनसम्म कतै जानै पर्दैन ।’

आहाराको कुरा सुन्ने बित्तिकै भोको सिंहको मुख रसायो र खुसी हुँदै भन्यो–

‘अहा अति राम्रो कुरा ग¥यौ भाइ ! खोइ कहाँ छ त्यो ?’

‘अहिले नै देखाउन सक्छु तर एउटा शर्त छ ।’

‘कस्तो शर्त चाँडै भन, नत्र...।’

‘नत्र ? नत्र के वनराज !’

‘के भन्ने, सात दिनदेखि भोको छु, बाँकी आफैँ बुझ ।’

‘होइन, होइन त्यसो नभन्नुस् ।’ स्यालले झस्किँदै भन्यो–

‘तत्कालै देखाउनेछु, मात्र शर्त मान्नुपर्छ ।’

‘त्यही त भनेको नि, शर्त के हो चाँडो भन ।’

‘यही कि गधाको मासु अलिकति मलाई पनि दिनुपर्छ ।’

‘ठीकै छ, दिउँला ।’

‘अनि ...।’

‘अनि ? अनि के ?’

‘आइन्दा मलाई दुःख दिनुहुने छैन ।’

‘ल ल पहिले गधा त देखाऊ ।’

त्यसपछि स्याल सिंहलाई एकैछिन यतै लुकेर बस्नुस् है भन्दै गधालाई लिन गयो । विचरा गधालाई स्यालको चलाखी थाहा थिएन । उसको चिप्लो कुरा सुन्दै पछि लाग्यो तर स्यालले कुरामा भुलाउँदै यस्तो बाटो लिएर गयो कि, जहाँ ढुङ्गा र खाल्टाखुल्टी बाहेक केही थिएन । स्यालको कुरा सुन्दै हिँडेकाले गधाले बाटाको खाल्टो देखेन र नजिकैको ढुङ्गामा ठेस लागेर खाल्टोमा प¥यो । गधाले निस्कन निकै प्रयास ग¥यो तर सकेन र स्यालसित हारगुहार लगायो तर स्यालले सुन्यानसुन्यै गरी सिंहको नजिक गएर गधालाई देखाइदियो । सिंहले हे¥यो गधा तत्काल निस्कन सक्ने अवस्थामा थिएन । त्यसैले पहिले स्यासलाई समातेर चपायो र गधालाई मारेर घिसार्दै लिएर गयो । 

‘यसरी स्यालले अर्कालाई धोका दिन खोज्दा आफैँले धोका पायो भने चिप्लो कुरामा विश्वास गर्दा गधाले पनि अकालमा ज्यान गुमाउनुप¥यो । समयमै जहाँ अति प्रशंसा हुन्छ त्यहाँ केही न केही गडबडी हुन्छ भन्ने कुरा बुझ्न सकेको भए उसले यसरी ज्यान गुमाउनुपर्ने थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप