बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एकैदिन दुई प्रहरी संगठनका आईजीपी नियुक्त, गठबन्धनप्रति ओलीको हमला

आइतबार, १८ वैशाख २०७९, २१ : १८
आइतबार, १८ वैशाख २०७९

आज २०७९ वैशाख १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रहरीमा धिरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल भए महानिरीक्षक, सत्तारुढ गठबन्धनप्रति ओलीको हमला, आचारसंहिताबारे निर्वाचन आयोगको कडा चेतावनी, सत्तारुढ गठबन्धनका नेताहरु कार्यकर्तालाई ढाडस दिँदै, भरतपुरमा माओवादी र दमकमा एमालेलाई तनाव, भ्रष्टाचारविरुद्ध राप्रपा कठोर लगायतका छन् ।

१.प्रहरीमा धिरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल भए महानिरीक्षक
सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्त गरेको हो । 

​२. सत्तारुढ गठबन्धनप्रति ओलीको हमला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनप्रति हमला गर्दै जस्तोसूकै गठबन्धन बनाए पनि एमालेलाई हराउन नसक्ने दाबी गरेका छन् । उनले हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु मोर्चा कसेर आए पनि एमाले एक्लै लड्ने बताए ।

​३. आचारसंहिताबारे निर्वाचन आयोगको कडा चेतावनी
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा झुटा सूचना तथा आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरे कारवाही गर्ने आयोगको चेतावनी छ । यसका लागि विभिन्न सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने आयोगको भनाइ छ ।

४. सत्तारुढ गठबन्धनका नेताहरु कार्यकर्तालाई ढाडस दिँदै
चुनावी तालमेल तथा उम्मेदवारको विषय बल्लतल्ल छिनोफानो गरेका सत्तारुढ गठबन्धनका नेताहरु आ–आफ्ना दलका कार्यकर्तालाई ढाडस दिन थालेका छन् । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले गठबन्धनमा चुनावी तालमेल सफल भएको जनाएको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।

५. भरतपुरमा माओवादी र दमकमा एमालेलाई तनाव
स्थानीय तहको निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसका बाबजुद भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र दमक नगरपालिकामा एमालेलाई तनाब देखिएको छ । भरतपुर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर हो भने दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो ।

आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन् । सरोकारवालाहरुले भने समान काममा समान ज्याला नभएको गुनासो गरेका छन् ।

७. भ्रष्टाचारविरुद्ध राप्रपा कठोर
राष्ट्रिय प्रजातन्त्र पार्टी पछिल्लो समय भ्रष्टाचारविरुद्ध कठोर देखिएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरी कमाउँछु भन्ने सोच राखेकालाई पार्टीबाट बिदाइ गरिने चेतावनी दिएका छन् । उनले राजनीतिलाई सेवाको भावले हेर्नुपर्नेमा जोडसमेत दिएका छन् । राप्रपाबाटै अलग भएर राप्रपा नेपालको नेतृत्व गरेका कमल थापाले भने सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने अवधारणा अघि सारेका छन् ।

८. देशभक्त तथा जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न विप्लवको उर्दी
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण केही पालिकामा उनका कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेबारे विवाद हुँदा सो पार्टी नै अहिले विभाजनको मुखमा पुगेको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको ‘जिम्बावे ए’ले १८ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

१०. र यो पनि,
राजनीतिक पार्टीदेखि सरोकारवाला निकाय, उद्योगी व्यवसायी तथा व्यापारीहरु समेत यतिखेर चुनाव केन्द्रित गतिविधिमा होमिएका छन् । जसले गर्दा यतिखेर पालिकाहरुमा निर्वाचनको मत परिणाम जोड–घटाउको मात्र हिसावकिताव भइरहेको छैन, निर्वाचनले ल्याउन सक्ने समग्र आर्थिक प्रभावलाई समेत लिएर बहस हुन थालेको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसदको बर्खे अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ ।

कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप