बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल, समाजवादी आउट

सोमबार, १९ वैशाख २०७९, ०९ : ५९
सोमबार, १९ वैशाख २०७९

जाजरकोटमा सुरुमा गठबन्धनको निर्णय अनुसार जाने सहमति भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म आइपुग्दा गठबन्धन भाँडिने खतरा देखिएको थियो । तर गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णय विरुद्ध उम्मेदवारी दिएकाहरूलाई धमाधम उम्मेदवारी रद्द गराउँदै नयाँ शिराबाट तालमेललाई अघि बढाएका छन्  ।  

आइतबार जाजरकोटका तीन पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ तरिकाबाट चुनावी तालमेल गर्ने सहमति भएको छ ।  दुई पार्टीबीच भेरी, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो काँग्रेस जिल्ला सभापति वेदराज सिंहले बताए । 

यसभन्दा पहिले भएको सत्ता गठबन्धन दलहरूको निर्णयले भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) मेयर, काँग्रेस उपमेयर भन्ने थियो । तर सहमति जुट्न नसकेपछि बाँकी रहेका स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ भने एकीकृत समाजवादीलाई ब्याक गराइएको छ  । 

अब भेरी नगरपालिकामा माओवादी केन्द्रको मेयर, नेपाली काँग्रेसको उपमेयर, नलगाड नगरपालिकामा माओवादी केन्द्रको मेयर र नेपाली काँग्रेसको उपमेयर र शिवालय गाउँपालिकामा नेपाली काँग्रेसको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष बनाउने भएको छ । 

नलगाडको मेयरका लागि माओवादीका डम्बर रावत र उपमेयरका लागि काँग्रेसका सरिता सिंह आधिकारिक उम्मेदवार भएका छन् भने काँग्रेसबाट मेयरका उम्मेदवार छवि पन्तको उम्मेदवारी प्राविधिक रूपमा फिर्ता नभएता पनि राजनीतिक रूपमा फिर्ता गरी पार्टीको तर्फबाट रद्द गरिएको सिंहले बताए  । भेरी नगरपालिकामा पनि यसअघि काँग्रेसबाट मेयरका उम्मेदवार कृष्ण शर्माको उम्मेदवारी रद्द गरिएको छ भने दुई दलका साझा उम्मेदवारको रूपमा माओवादीका गगनबहादुर खड्का र उपप्रमुखमा काँग्रेसकी सीता जैशी अधिकारी आधिकारिक उम्मेदवार बनेका छन्  ।

शिवालय गाउँपालिकामा अब गठबन्धनबाट काँग्रेसका शेरबहादुर शाही अध्यक्ष र माओवादीका गीता शाही उपाध्यक्षका आधिकारिक उम्मेदवार बनेका छन् भने यसअघि माओवादीबाट अध्यक्षका उम्मेदवार गोपाल घर्ती र उपाध्यक्षका उम्मेदवार धनरूपी थापा मगरको उम्मेदवारी रद्द गरिएको छ । 

यसअघि सत्तागठबन्धनको निर्णयले बारेकोट गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष, जुनीचाँदे गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र नेपाली काँग्रेस उपाध्यक्ष, छेडागाड नगरपालिकामा नेपाली काँग्रेस मेयर र नेकपा माओवादी केन्द्र उपमेयरमा भागबण्डा मिलाइएको छ ।

कुशे गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । एकीकृत समाजवादी अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष पाउने गरी निर्णय गरिएको छ । उता भेरी नगरपालिकामा केन्द्र र प्रदेशले गरेको निर्णय उल्ट्याउँदै काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् भने एकीकृत समाजवादी आउट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप