बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीति ल्याउँदै सरकार, के–के छन् रणनीतिमा ?

सोमबार, १९ वैशाख २०७९, १७ : ०८
सोमबार, १९ वैशाख २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।  मन्त्रालयले सो अवधिका लागि प्रारम्भिक ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ । जसमा आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता, स्वास्थ्यका वृहत निर्धारक सम्बोधन गर्ने, स्वास्थ्य सेवाको उपभोग गर्दा वित्तीय जोखिम कम गर्ने, स्वास्थ्यमा समतामुलक र सहज पहुँचको सुनिश्चितता गर्ने, जनसङ्ख्या, बसाइसराइ र बढ्दो शहरीकरणको व्यवस्थापन गर्ने मस्यौदाको खाकामा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए । उनले संघीय संरचना अनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाउन स्वास्थ्य रणनीति ल्याउन लागेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यमा मात्र आधारित नरहेर जनसंख्या, बसाइसराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने विषयमा समेत रणनीति बनाउने उनले बताए । अब संघीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्तरदायी र जवाफदेही बनाउन रणनीति तयार गर्न लागिएको उनको भनाइ छ ।

यस्तै, पाँच रणनीति अन्तर्गत सरकारले सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना बनाउन लागेको उनले सुनाए । सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने उनको भनाइ छ ।

निजी अस्पतालमा विपन्न नागरिक पनि उल्लेख्य संख्यामा स्वास्थ्य उपचारका लागि पुग्ने गरेको पौडेल बताउँछन् । उनले भने, ‘हामी सबैलाई लाग्न सक्छ, निजी अस्पतालमा धेरैजसो धनी व्यक्ति स्वास्थ्य उपचार गराउन जान्छन् तर नेपालको सन्दर्भमा धनीभन्दा गरिब व्यक्ति निजी अस्पतालमा उपचार गराउन गएको पाइएको छ ।’

स्वास्थ्य मन्त्रालयले सबै उमेर समूहका नागरिकका लागि स्वास्थ्य जीवन सुनिश्चित गर्न, समृद्ध जीवन प्रवर्द्धनका लागिका लागि सन् २०३० सम्ममा यी उदेश्य हासिल गर्ने प्रारम्भिक मस्यौदामा उल्लेख छ । सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ ।

सन् २०३० सम्ममा एड्स, क्षय रोग, मलेरिया तथा अरु उपेक्षित उष्णद्वेशीय रोग सम्बन्धी महामारी अन्त्य गर्ने र हेपाटाइटिस, पानीबाट सर्ने रोगहरु तथा सरुवा रोगहरुको नियन्त्रण गर्ने उद्देश्य पनि सरकारले स्वास्थ्य रणनीतिमा समेटेको छ ।

२०३० सम्मका लागि स्वास्थ्य मन्त्रालयले बनाएको रणनीति अन्तर्गत नसर्ने रोगबाट हुने असामयिक मृत्यु दर रोकथाम र उपचारबाट एक तिहाइले कम गर्ने र मानसिक स्वास्थ्य तथा समृद्ध जीवनको प्रवर्द्धन गर्ने लक्ष्य पनि समेटिएको छ । यस्तै, लागूपदार्थ तथा मादक पदार्थको हानिकारक प्रयोगको रोकथाम तथा उपचार सृदृढ गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु तथा घाइतेहरुको सङ्ख्यालाई आधा घटाउने लक्ष्य राखिएको छ । यौन तथा प्रजनन् सम्बन्धी स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नका साथै परिवार नियोजनको सूचना र शिक्षा तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति र कार्यक्रममा आवद्ध गर्ने प्रारम्भिक मस्यौदामा उल्लेख छ ।

सन् २०३० सम्ममा हानिकारक रसायन र हावापानी तथा माटोको परीक्षण र संक्रमणका कारण हुने मृत्यु एवं बिरामीहरुको सङ्ख्या कम गर्ने भनिएको छ । सबै देशमा विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अधिवेशनले तयार पारेको मापदण्ड कार्यान्वयनमा आवश्कता अनुसार जोड दिने लक्ष्य पनि स्वास्थ्य रणनीतिको प्रारम्भिक मस्यौदामा उल्लेख छ ।

यस्तै, सरकारले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार पार्ने क्रममा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बताइन् । आउँदो श्रावण महिनाबाट लागू गरिने स्वास्थ्य रणनीति निर्माणका लागि प्रारम्भिक मस्यौदाको खाका तयार परिएको भन्दै उनले विभिन्न निकायसँग छलफल गरेर ५ वटा रणनीतिलाई अघि बढाउन सकिने सम्भावना रहेको प्रवक्ता डा. मिश्राको भनाइ छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, संघसंस्था र सम्बन्धित निकायहरुसँग छलफल गर्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप