शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालेन शाह : वैशाख ३० गते काठमाडौँमा मधेसको परीक्षा

मङ्गलबार, २० वैशाख २०७९, १३ : २३
मङ्गलबार, २० वैशाख २०७९

र्‍यापर तथा इन्जिनियरका रुपमा चिनिएका बालेन शाहले राजनीतिक क्षेत्रमा पाइला टेक्दै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीमध्येका एक केशव स्थापितले उनीमाथि ‘अन्तर्राष्ट्रिय ठग’ को आरोप लगाएका छन् । केशव स्थापित आफैमा पनि आरोपमुक्त भने छैनन् । उनीमाथि ‘मी टु’ को आरोप छ । मेयरकै उम्मेदवार काँग्रेसकी सिर्जना सिंहमाथि पनि ‘परिवारवाद’ को आरोप छ ।

यिनै आरोपका बीच वैशाख ३० गते हुने निर्वाचनमा काठमाडौंवासीले जनप्रतिनिधि चयन गर्नेछन् । काठमाडौं महानगर प्रमुखका लागि बालेन शाहका साथै राजनीतिक दलबाट एमालेका केशव स्थापित, काँग्रेसकी सिर्जना सिंह लगायतका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । खासगरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने शाह, एमालेको प्रतिनिधित्व गर्ने स्थापित र काँग्रेसका साथै महिलाको प्रतिनिधित्व गर्ने सिंहमध्ये एकलाई काठमाडौंबासीले नगर प्रमुखका रुपमा छनौट गर्नेछन् ।

एमालेका स्थापित यसअघि २ पटक काठमाडौं महानगरका मेयर भइसकेका व्यक्ति हुन् । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री तथा सांसद भइसकेका थिए । उनीसँग लामो राजनीतिक अनुभव छ । यस्तै काँग्रेसकी उम्मेदवार सिंह गणेशमान सिंहकी बुहारी तथा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । यसअघि प्रत्यक्ष र सशक्त ढंगले राजनीतिमा नआए पनि उनले राजनीतिलाई बुझेकी छन् । साथै उनलाई आफ्ना पति प्रकाशमानको पनि साथ, सहयोग छ । उनका श्रीमान् यतिबेला पत्नीलाई जिताउनका लागि मतदाताका घरघर पुगेर हात जोडिरहेका छन् ।

तर राजनीतिक दलको कुनै पारिवारिक बिरासतबिना चर्चाको शिखरमा पुगेका बालेन शाहको पृष्ठभूमि भने फरक छ । उनका बाबुबाजे मधेसी भए पनि उनी काठमाडांैवासी हुन् । काठमाठौंमै जन्मे–हुर्केका शाह नेवारी भाषा बोल्न जान्दछन् भने यहाँको संस्कार र संस्कृतिसँग परिचित छन् ।

को हुन् बालेन शाह

बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । उनको जन्म काठमाडौंको नरदेवीमा भएको थियो । ३१ वर्षीय उनी काठमाडौंको नरदेवीमा जन्मे–हुर्केका हुन् भने हाल उनी काठमाडौं तीनकुने, गैरीगाउँका बासिन्दा हुन् । उनका बुबा डा.रामनारायण आयुर्वेदिक चिकित्सक हुन् । बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो । उनका बुबाआमा बसाई सरेर काठमाडौंका स्थायी बासिन्दा भएका हुन् ।

बालेन मधेसको तेली समुदायका युवा हुन् । उनका हजुरबुबा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्‍याएको मानिन्छ । बालेनका पिता डा. रामनारायण साहको पनि नेविसंघ र नेपाली काँग्रेसमा आवद्ध रहेर काम गरेका थिए ।

बालेन खासगरी र्‍याप गीत गाउने र त्यसमा पनि राजनीतिक विसंगतिहरुलाई उठाउने काम गर्छन् । संगीत सिर्जना गर्ने, गीत, कविता लेख्ने  प्रतिभाका धनी उनी पेसाले स्ट्रकचरल इन्जिनियर हुन् ।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र भारतको बैङ्लोरबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

बालेन शाह किन लगाउँछन् कालो चस्मा ?

बालेन आफ्नो बारेका कुराहरु खासै बताउन रुचाउँदैनन् । हरबखत उनी कालो चस्मामा देखिन्छन् । मानिसहरुसँग आँखामा आँखा जुधाएर विश्वास आर्जन गर्नुपर्ने बेला बालेन किन कालो चस्मामा प्रस्तुत भइरहेका छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । के उनमा आफूलाई तिलस्मी रुपमा प्रस्तुत गर्ने मनोविज्ञान हावी भइरहेको त हैन भन्ने कुरा पनि उठ्ने गरेको छ ।

स्थानीय चुनावमा उम्मेदवार बन्ने घोषणा गरेपछि चर्चामा आएका शाहलाई आम मानिसहरुले बिरलै कालो चस्माबिना देख्न पाएका छन् । सामान्यतया चर्को घाम वा हिउँबाट परावर्तन भएर आउने प्रकाश वा धुवाँ, धुलोबाट आँखालाई बचाउनका कालो चस्मा लगाउने प्रचलन रहे पनि शाहले अन्र्तवार्ताका लागि स्टुडियो प्रयोग गर्दा पनि कालो चस्मा लगाउने गरेका छन् ।

उनी कालो चस्मा खोल्न र आफ्नो पुर्ख्यौली प्रस्ट खुलाउन त्यति रुचाउँदैनन् । कुनै पनि सार्वजनिक ब्यक्ति वा सार्वजनिक भलाईका लागि काम गर्ने ब्यक्तिका बारेमा आम मानिसको चासो हुनु सामान्य मानिन्छ ।

भारतको नीटी मीनाक्षी इन्स्टिट्यूट अफ टेक्नोलोजी प्राविधिक विद्यालयमा अध्ययनका बेला उनले कहिल्यै कालो चस्मा नलगाएको सोही संस्थामा अध्ययन गरेका एक विद्यार्थीले बताए । तर चस्मा लगाउने वा नलगाउने कुरा उनको व्यक्तिगत स्वतन्त्रता हो ।

यतिबेला बालेनमाथि विभिन्न चासोका चस्माले चारैतिरबाट हेर्न थालिएको छ । एकजना मधेसी समुदायको युवा जसले काठमाडौंमा कसरी दलका उम्मेदवारहरुलाई कडा टक्कर दिइरहेको छ ? कुनै सिद्धान्तबिनाको सेलिब्रेटी उम्मेदवार राजनीतिमा कतिको बलियो हुनसक्छ ? बालेन शाह लोकप्रिय सेलिबे्रटी भएर मात्र अघि बढेका हुन् वा उनको पछाडि कुनै शक्ति छ ? सदियौंदेखि पछि पारिएको भनिएको मधेसी समुदायबाट प्रतिनिधित्व गरे पनि किन उनी आफ्नो पहिचान लुकाउन खोज्छन् ? उनको नीति प्रगतिशील हुन्छ वा दक्षिणपन्थी ? यस्ता प्रश्न पनि उठ्ने गरेका छन् । काठमाडौं महानगरपालिकामा करिव १० हजार भोट मधेसी समुदायको रहेको अनुमान गरिए पनि बालेन आफ्नो समुदायबारे प्रस्ट खुलाउन तयार छैनन् ।

मधेसी समुदायका युवाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका रुपमा यति ठूलो चर्चा पाएको नेपालको इतिहासमै पहिलो घटना हो । गत स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शनाले जुन ठाउँ ओगटेकी थिइन्, त्यो ठाउँ बालेनले ओगट्ने अड्कलबाजी धेरैले गरेका छन् ।

कुनै मधेसी समुदायबाट काठमाडौंको महानगर प्रमुखमा चुनाव जिते इतिहास नै रचिने निश्चित छ र नजिते पनि सम्मानित भोट ल्याउनु भनेको सिङ्गो मधेसी समुदायका लागि सानो उपलब्धि हुँदैन । यसले राष्ट्रिय एकतामा सघाउ पुग्ने निश्चित छ । जस्तो पहाडी मुलका धेरै नेताहरु तराई मधेसबाट चुनिएका छन् तर मधेसी मुलका मानिस पहाडी क्षेत्रबाट चुनिएको पाइँदैन ।

बालेन भन्छन् : म पनि नेवाः हुँ  

स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू पनि नेवाः भएको बताएका छन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले काठमाडौंको महानगरको चुनाव जित्न नेवार उम्मेदवार चाहिएला नि भन्ने प्रश्नमा उनले आफू पनि सोही समुदाय अन्तर्गतको बताएका हुन् । बालेनले भनेका छन्, ‘म पनि नेवाः हुँ । नेवाः भनेको जात हैन समुदाय हो । काठमाडौं उपत्यकामा बसेर, यहाँको कला संस्कृतिलाई अपनाएर, यहाँको जात्रामा रमाएर, यहाँको पर्व चाड मनाएर, यहाँको भावनालाई बुझेर यहाँको संस्कृति बुझ्ने जति पनि उपत्यकावासी छन्, ती सबै नेवा हुन् । तपाईहरु भित्री नेवाः समुदायमा जानुभयो भने यो कुरा उहाँहरुले पनि भन्नुहुन्छ । म पनि नेवाः हो र नेवाःको बारेमा सोच्ने ब्यक्ति नै यहाँको मेयर हुनुपर्छ जस्तो लाग्छ ।’

पक्कै पनि बालेन नेवाः समुदायसँग भिजेका छन्, उनी नेवारी भाषा पनि जान्दछन् । नेवारी जात्रा, परम्परामा सहभागी भइरहेका पनि देखिन्छन् ।

‘आफ्नो सिद्धान्त के हो त्यसमा बालेन प्रस्ट हुनुपर्छ’

(विश्लेषक चन्द्रकिशोरको शब्दमा)

काठमाडौं खाल्डोको राजनीतिलाई सिमान्त ठाउँबाट हेर्दा, काठमाडौं हिजोको पनि, आजको पनि सबैको राजधानीको रुपमा रहेको छ । यो नेपालको राजनीतिको मुटु पनि हो । महानगर भनेको राष्ट्रिय राजनीतिको केन्द्र पनि हो । त्यो ठाउँमा बालेन शाह आउन सक्नु र उनलाई मिडियाले ठाउँ दिनु त्यो सवल पक्ष हो । मधेसले हिजोका दिनमा गरेको आन्दोलनको उद्देश्यले मधेसका नागरिकले पहाडमा पनि चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्छ, मधेसीले पनि नेपालको नेतृत्व गर्न पाउनुपर्छ भन्ने नै थियो ।

बालेनजीको काठमाडौं महानगरमा उपस्थिति हुनु त्यो अर्थमा सकारात्मक हो । सँगसँगै जोडिएको गम्भीर सवाल के हो भने कोही व्यक्ति मधेसी हुँदैमा, कोही व्यक्ति महिला हुँदैमा उनीहरु अधिकारका प्रति, सामाजिक न्यायका प्रति, संघीयताका प्रति कति संवेदनशीदल छन् भन्ने मुख्य कुरा हो । अहिले हामी संविधान कार्यान्वयनको दोश्रो चरणमा प्रवेश गरेका छौँ, दक्षिणपन्थी शक्तिहरु नानीमैया दाहाल जस्तै पूरै संविधानलाई, अहिलेको उपलब्धिलाई खुम्च्याउने गरी विभिन्न स्वतन्त्र उम्मेदवारलाई खडा गर्दैछन् । यस्तो जोखिम रहेको बेला हामीले यस्तो पनि हेर्नुपर्ने हुन्छ कि मधेसी भएकै आधारमा हामीले सराहना गर्नुपर्ने अवस्था रहँदैन । महिला भएकै कारण पनि हामी सराहना गर्ने स्थितिमा रहँदैनौँ, जबसम्म उनीहरु गणतन्त्रका प्रति प्रतिबद्ध रहँदैनन् । हामीले बालेन शाहको उम्मेदवारीलाई पनि यो प्रश्नको चौघेरामा हेर्नुपर्ने हुन्छ ।

बालेन शाह गायन क्षेत्रमा र काठमाडौंको युवा जमातका बीच परिचित हुनुहुन्छ, राजनीतिक दलहरुको कमीकमजोरीलाई देखाउने एउटा चेहराका रुपमा उहाँलाई प्रस्तुत गरिँदैछ । बहुदलीय व्यवस्थामा दलहरु खडा हुन सक्छन र यसको विकल्प भनेको बहुदलीय व्यवस्था नै हो । कोही व्यक्ति विशेष आफूमा असल हुन सक्छ । पञ्चायतको बेलामा पञ्चायत विरुद्धको असन्तुष्टिलाई मथ्थर गर्न नानीमैयाँ दाहालमार्फत प्रकट गरिएको थियो । यो त्यहीँ काठमाडौं हो । २०४६ सालदेखि ४ दशक बितिसक्दा पनि काठमाडौं त्यही मनोविज्ञानबाट गुज्रिरहेको छ भन्ने प्रश्न पनि छ ।

बालेनजीले आफ्नो लोकप्रियतालाई म लोकतन्त्र, संविधान, गणतन्त्रप्रति प्रतिबद्ध छु भनेर देखाउन सक्नुपर्छ । प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक शक्तिको आवश्यकता पर्दछ । राजनीतिक व्यवस्था भनेको वैधानिक व्यवस्था हो । दलभित्र आन्तरिक लोकतन्त्रलाई कसरी गुणात्मक रुपमा अगाडि बढाइरहेका छन् ? त्यो प्रश्नहरु पनि उठ्नुपर्छ । दलीय व्यवस्थामा कोही व्यक्ति स्वतन्त्र रुपमा उठ्नुपर्ने व्यवस्था छ । राजनीतिक दललाई दक्षिणपन्थी शक्तिले अस्वीकार गर्ने र कसैलाई कठपुतलीका रुपमा लिएको छ भने त्यसलाई पनि हामीले ध्यान दिन आवश्यक छ । बालेनजी दक्षिणपन्थी अनुहार हुन् भनेर मैले भनिरहेको छैन । तर उनलाई प्रश्न भने छ ।

बालेन शाह काठमाडौँको मात्र प्रतिनिधि नभई सिंगो मुलुककै प्रतिनिधित्व गरी देश हाक्न चाहन्छन् । अढाई सय वर्षदेखि खस आर्यहरुले मधेसलाई शासन गरे । अब मधेसका सन्ततिहरुको इच्छा छ, नेपालको नवनिर्माणमा मधेसी समुदायहरु असफल भइरहेको समयमा मधेसले नेपालको मुहार फेर्न चाहन्छ भन्ने कुराको काठमाडौंको नेतृत्वबाट पनि हुन सक्छ ।

तर राजनीति भनेको गीत संगीतमात्र हैन, राजनीतिक भनेको केही निष्ठा हो, प्रतिबद्धता हो, व्यवस्थापन हो र यो चुनावलाई त्यो रुपमा पनि हेर्नुपर्ने हुन्छ । बालेनका कारणले अब भोलिका चुनावहरुमा काठमाडौंमा मधेसको पनि ठूलो उपस्थिति छ, जो बसाई सरेर काठमाडौंकै मतदाता बनेका छन्, मधेसका मानिसहरुलाई अब काठमाडौंको राजनीतिमा अवसर दिनका लागि दबाब पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप