शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘देशमा चुनाव छ भनेर भविष्य बन्ने होइन’

चुनावको मुखमा पनि विदेशिनेको लर्काे
मङ्गलबार, २० वैशाख २०७९, १४ : ३४
मङ्गलबार, २० वैशाख २०७९

आइतबार कोरिया उड्ने तरखरमा रहेकी दाङकी कल्पना घर्तीलाई निकै हतार थियो । देश पुरै चुनावी माहोलमा होमिएको बेला तपाईं किन विदेश भन्ने प्रश्न राख्न नपाउँदै उनले उत्तर फर्काइन्, ‘देशमा चुनाव छ भनेर भविष्य बन्ने होइन । भविष्यको चिन्ता गर्दै विदेश जान लागेको हो’ । 

घर्तीले भनिन्, ‘ठुलो मिहिनेत गरेर कोरियाको अवसर हात परेको छ । चुनाव छ भनेर त्यो गुमाउनु पनि त भएन नि ?’ । देशमा अध्ययन, अन्य सरसुविधा र अवसर नभएकाले पनि चुनाव सुनाव नभनी विदेशिन लागेको कल्पनाको भनाइ थियो । 

चुनावको यो माहोलमा पनि आफ्नो र परिवारको चिन्ता गर्दै रोजगारीका लागि विदेश हानिनेको लर्काे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा देखिन्छ । अघिपछि झैं हुने दैनिक भीडभाडमा कुनै कमी छैन । अहिले पनि दैनिक करिब १ हजार ५ सयभन्दा बढी नेपाली विदेशिने गरेको तथ्याङ्कले देखाउँछ । रोजगारी, अध्ययनलगायत विभिन्न बहानामा उनीहरु देश छाडेर विदेश उडिरहेका छन् ।

कल्पनाको जस्तै विचार आइतबारै दुवई उडेका दाङका दीपेश राईको पनि छ । ‘चुनावप्रति ममा उत्साह, रुची केही छैन,’ राईले भने, ‘राजनीतिप्रति मानिसको वितृष्णा छ । राजनीतिकर्मीले राम्रो गरेको भए चुनाव छाडेर कोही विदेश जाँदैन थिए ।’ नेपालको अस्थिर राजनीतिले नै धेरै नेपालीलाई विदेशिनु पर्ने बनाएको उनको आक्रोश थियो ।

आइतबारै साउदी उडेका सुनसरीका दीपक तामाङले पनि आफूलाई चुनावले छुन नसकेको बताए । ‘हामी गरिखानेलाई चुनावले कहिलै छुदैन,’ दीपकले भने, ‘छोएर पनि के गर्नु, मुखमा माड लगाउनै पर्यो ।’ 

जापान उड्दै गरेका दीपेश गिरीले पनि आफूलाई चुनावले नतानेको बताए । ‘भविष्य थाँती राखेर चुनाव मिस नगरौं भन्ने वातावरण पनि त छैन नि ?’ उनले भने ।

नेतालाई भाटे कारबाही 

स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर शिक्षित युवावर्ग विदेशिनबाट रोक्नुपर्नेमा राजनीतिक दल मिलोमतोमा देश लुट्न तल्लिन छन् । बैदेशिक रोजगारीबाट युवाहरुले पठाएको रेमिट्यान्सको भरमा देश चल्दा पनि विदेशबाट फर्किने युवाहरुको रोजगार सुरक्षित छैन । यसो अवस्था आउनुमा राजनीतिक दल र उनीहरुले गरेको गलत क्रियाकलापलाई दोष दिन्छन् सुनसरीका दीपक तामाङ । उनी चुनावमा राजनीतिक दललाई सघाउने भन्दापनि भाटाले लखेट्नु पर्ने बताउँछन् । 

‘अव चुनावमा राजनीतिक दललाई सघाउने होइन, भाटा बोकेर लखेट्न सक्नुपर्छ,’ आइतबार रोजगारीका लागि साउदी उडेका तामाङले भने, ‘सबै एकजुट भएर नलखटेसम्म उनीहरु सुध्रिदैनन् ।’ 

दीपकको विचारसँग सहमत छन् मोरङका खड्गबहादुर तामाङ पनि । उनी पनि राजनीति दलको क्रियाकलापले देशमा गरेर खाने माहोल नरहेकामा चिन्तित छन् । जनताले राजनीतिक दललाई सुधार्ने बेला आएको उनको भनाइ छ । 

‘चुनावको बेला यो गर्छु, त्यो गर्छु भन्दै हात जोडेर आश्वासन दिन्छन् । पछि माखो मार्ने होइनन्’, तामाङ थप्छन् ‘जनताले भाटा बोकेर नलखेटेसम्म अव सुध्रिने अवस्था छैन ।’ खड्गबहादुर पनि आइतबार साँझ रोजगारीका लागि दुवई उडेका छन् ।

झुक्याउने एजेण्डा

निर्वाचनको समय हरेक राजनीतिक दलका उम्मदेवार विभिन्न एजेण्डाका साथ घरदैलोमा छन् । तर दलहरुले विकासका नारा र एजेण्डा झुक्याउन मात्र अगाडि सार्ने गरेको सर्वसाधारणको आरोप रहँदै आएको छ । देखाउने नारा र एजेण्डा जनता झुक्याउने बिषयबस्तु भएको मोरङका खड्गबहादुर तामाङ बताउँछन् । जित्नेले आफ्ना वाचा पूरा नगर्नाले अहिले विश्वास नलाग्ने उनको भनाइ छ ।

‘चुनावमा राम्रो नेता छान्नुपर्छ । राम्रो छान्न सकिएन भने देश नराम्रो अवस्थामा जान्छ । त्यो बुझेको छु’ उनले थपे, ‘तर राम्रै हो भन्ने पत्याउने आधार के ? यस अगाडि पनि यस्ता नारा र एजेण्डा ल्याइएका थिए । के भयो त ?’ एजेण्डा राम्रो ल्याउने तर जितेपछि सबै बिर्सिने प्रबृत्तिले अहिले आफूलाई विश्वास नलागेको उनले सुनाए ।

आइतबार रोजगारीका लागि मलेसिया उडेका भक्तपुरका लक्ष्मण सुनुवार नेताहरुप्रति विश्वास र भरोसा नभएको कारण चुनावको मुखमा पनि विदेश जान लागेको तिक्तता पोखे । ‘चुनावमा उम्मेदवारलाई सघाउनु पर्छ, त्यो मैले पनि बुझेको छु,’ सुनुवारले भने, ‘तर मेरो क्षेत्रमा कुनैपनि दलले उम्मेदवारको रुपमा राम्रो ब्यक्तिलाई अगाडि सार्न सकेनन् ।’ पहिले नै देश बिगारेकालाई फेरि अनुमोदन गर्न किन बस्नु भनेर विदेश उड्न लागेको उनको भनाइ थियो । संविधान सभाको चुनावमा विदेशबाट धेरै आएको स्मरण गर्दै उनले अगाडि भने, ‘दल तथा नेताप्रति विश्वास भए विदेश जाने होइन । विदेशमा भएका पनि आउँथे ।’

विदेशिनु बाध्यता

नेपालमा जे गर्दा पनि परिवार पाल्न नपुगेर कतिपय विदेशिने वर्ग पनि छन् । उदयपुरका दीपेश राईको यो पटकको दुवई यात्रा तेस्रो हो । आफ्नो पटक पटकको विदेश यात्रा रहर नभएर बाध्य भएको उनी बताउँछन् । ‘देशमा रोजगारी छैन, बाध्य छु । के गर्ने भविष्य पनि हेर्नु पर्यो’ दीपेशले दुःखी हुँदै भने, ‘विदेशको जस्तो श्रमको मुल्य र अवसरको ब्यवस्था यहाँ भए आफन्त र देश छोडेर कसलाई पो देश छोड्न मन हुन्छ र ?’ 

दीपेशको जस्तो कमाउने उदेश्यले कोरिया जान लागेकी भने होइनन् दाङकी कल्पना घर्ती । उनी कोरिया उड्नुको मुख्य उदेश्य अध्ययन रहेको बताउँछिन् । ‘हामी नागरिकले चाहेजस्तो पढ्ने सुविधा नेपालमा कहाँ छ र ?’, उनले भनिन्, ‘केही बिषयमा सुविधा त होला तर खर्च ब्यहोर्न सकिन्न ।’ 

विदेशमा अध्ययन सजिलो र पकेट मनीका लागि कामको अवसर भएकोले पनि आफ्नो रोजाई विदेश परेको घर्तीले सुनाइन् । ‘देशमा भनेजस्तो अध्ययन गर्ने ठाउँ र आफै कमाएर पढ्ने अवस्था बन्यो भने विदेशका लागि अध्ययनका गएकाहरु पनि फर्किन्छन्,’ उनले भनिन् ।

आमाबुबाको पीडा बेग्लै

अध्ययन, रोजगारीको अवसर देखेर आफ्नो र परिवारको सुनौलो भविष्यको कल्पना गर्दै विदेशिने ब्यक्तिमा देश र आफन्तसँग छुट्िटनुपर्दा एक किसिमको पीडा र वेदना त हुन्छ नै । त्यो भन्दा बढी पीडा दिन्छ, स्वदेशमा रहेका आफन्तलाई । अझ बुढ्यौलीले छोएका बुबाआमा र जीवनभर साथ दिन्छु भनेर भित्रिएकी श्रीमतीको पीडा व्यक्त गर्न नसकिने हुन्छन् ।

‘बुढेसकालको सहारा बन्छ भनेर आफ्नै छाक काटेर हुर्काएको छोरो विदेशिदा कुन आमाबुबाको मन रुदैन र ?’ दुवई जान लागेको आफ्नो छोरालाई विदा गर्न त्रिभुवन विमानस्थलमा भेटिएका वृद्ध  काभ्रेका लालप्रसाद चौलागाईको मुहारमा पनि त्यो पीडा देखिन्थ्यो । ‘नेपालको समस्या यही हो । देशमा युवाहरुका लागि रोजगारी छैन,’ उनले मधुर स्वरमा भने, ‘विदेश नगएर के गरुन् ।’

‘नेपालमा नेता मात्र मोटाए, जनतालाई हेरेनन्’ चौलागाईले आक्रोश पोखे, ‘अहिले चुनाव आएको छ । घर घर हिँडेर हात जोड्छन् । तर, चुनाव सकिएपछि कोही वास्ता गर्दैनन् ।’ देशमा पढेकाले भन्दा पनि नेताका झोलेले अवसर पाउने संस्कार रहेसम्म युवा विदेशिने क्रम नरोकिने उनको बुझाइ छ ।

कास्कीकी इन्दिरा गिरी छोरा दीपेशलाई अध्ययनका लागि जापान पठाउन त्रिभुवन विमानस्थल आएकी थिइन् । उनी पनि छोरा विदेश पठाउँदा खुसी थिइनन् । ‘छोरा विदेश पठाउन फिटिक्कै मन थिएन, के गर्नु नेपालमा काम छैन,’ उनले पीडा सुनाइन्, ‘बुढेसकालको सहारा, बिदेश पठाउँदा मनै अमिलो भएको छ । त्यो शब्दमा सुनाउन सक्दिन ।’

अहिले आफूले अध्ययनका लागि पठाएपछि छोराले त्यही रोजगारी पनि गर्ने सुनाइन् । ‘त्यहाँ पढेर, नेपाल फर्किएर के काम ? यहाँ रोजगारी पाउने हैन । त्यही रोजगारी गरेर परिवार पाल्छ,’ उनले आँसु पुछ्दै थपिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप