बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा एमालेको घरदैलो : कौसी र झ्यालका मतदातालाई सडकबाटै व्यञ्जनकारको नमस्ते (फोटो/भिडियो)

ललितपुरमा २१ वर्ष मेयर चलाएका बुद्धरत्नसँग आशीर्वाद लिए व्यञ्जनकारले
मङ्गलबार, २० वैशाख २०७९, १६ : ३०
मङ्गलबार, २० वैशाख २०७९

मंगलबार बिहान ललितपुर महानगरपालिकाको नटोल, गावाहाल क्षेत्रका टोल टोलमा यो नारा गुञ्जिरहेको थियो...

वल वल–सूर्जे वल...

वल वल–सूर्जे वल...

अघिल्लो पटकको चुनावमा झिनो मतान्तरले ललितपुर महानगर प्रमुखमा पराजित भएका हरिकृष्ण व्यञ्जनकार हात जोड्दै यो पटकको चुनावमा आफूलाई जिताउन स्थानीयसँग भोट मागिरहेका थिए ।

नटोलका ८५ वर्षका टेकबहादुर रायमाझीसँग व्यञ्जनकारले हात जोडेर भोट मागे–

‘म पहिले तपाईको घरमा आएको थिएँ नि । तपाईले बिर्सनुभए जस्तो छ । यसपालिको चुनावमा पनि मेयरमा उठेको छु, सहयोग गर्नुस् है ।’​ टेकबहादुरले भने व्यञ्जनकारलाई पहिले नै चिनेजस्तो व्यवहार देखाएनन् ।  भोट मागेर जुलुस अघि बढेपछि रातोपाटीसँग रायमाझीले भने, ‘चुनावको बेलामा करोडौं रुपैयाँ खर्च गर्छन् तर अरु बेला वास्ता गर्दैनन् । पहिलेदेखि नै जनतासँग रुझ्ने–भिज्ने काम ग-यो भने हामी नै नेताहरुलाई हात जोड्दै तपाई नै चुनावमा उठिदिनुप-यो, तपाईले काम गर्नुभएको छ भन्छौँ नि ! नेताहरु कस्तो भए भने कुर्सीमा बसेर खाने काममात्र गरे ।’

५ वर्ष अघि थोरै मतान्तरले पराजित भएका हरिकृष्ण व्यञ्जनकारलाई त्यो चुनावी परिणामले अझैसम्म झस्काइरहन्छ । ललितपुर महानगरपालिका प्रमुखमा उनी काँग्रेसका चिरिबाबु महर्जनसँग ३ सय २६ मतान्तरले पराजित भएका थिए । त्यसको बदला लिने तयारीमा रहेका उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । सोमबार ललितपुर नगरपालिकाको वडा नम्बर १९ र १६ मा घरदैलो कार्यक्रम गरेका उनले मंगलबार ललितपुरको गावाहाल, नटोल क्षेत्रका टोलटोलमा पुगेर भोग मागे ।

घरदैलो कार्यक्रमका क्रममा रातोपाटीसँग उनले भने, ‘जनताहरु उत्साहित भइरहेका छन् । घरदैलो कार्यक्रममा दैनिक सय–दुई सय जना खटिरहनुभएको छ । यो पटक जनताले भारी मतले जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

नटोलका भित्री बस्तीमा एमालेको पक्षमा भोट माग्न नाराजुलुश सहित पुगेका व्यञ्जनकारले केही मतदातासँग अंकमाल गरे, कतिपयलाई नमस्कार गरे । अग्ला घरका झ्याल र कौसीमा रहेका मतदातालाई माथितिर फर्किएर कसैलाई हात हल्लाएर, कसैलाई नमस्ते गर्दै उनले भोट मागे ।

मेयरका उम्मेदवार व्यञ्जनकारसँगै ललितपुर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवार भएकी मञ्जली शाक्य, वडा नम्बर २० का वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनी शाक्य, वडा सदस्यमा महिला उम्मेदवार मणि महर्जन, वडा सदस्यका दलित उम्मेदवार प्रमिला परियार, वडा सदस्यकै उम्मेदवारहरू काजीलाल महर्जन र बाबुराजा शाक्य लगायत कार्यकर्ताहरु थिए । उनीहरु घर, पसल तथा बाटो, चोकमा भेटिएका मानिससँग भोट माग्न व्यस्त थिए ।

ज्येष्ठ नागरिकलाई आश्वासन : भोट दिनुस्, वृद्ध भत्ता बढाइदिन्छौँ

नटोलका प्रत्येक टोल बस्तीमा भोट माग्न पुगेका व्यञ्जनकारको प्यानलका उम्मेदवारको टोलीले बाटो तथा घर अगाडि भेटिएका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता बढाइदिने आश्वासन दिए ।

नेवारी भाषामा कुरा गर्दै उनीहरुले वृद्ध भत्ता अझै थपिदिने बताउँदै भोट दिन आग्रह गरिरहेका थिए । उम्मेदवारको जुलुस अगाडि गइसकेपछि नोटलकी ज्येष्ठ नागरिक  हिराकुमारी शाहीले एमालेलाई भोट हाले वृद्धभत्ता बढाइदिन्छु भनेको उल्लेख गरिन् । उनले भनिन्, ‘वृद्ध भत्ता बढाइदिने रे । दिएको त हामीलाई थाहा पनि छ । बढाउँछ कि के गर्छ, हेर्दै जानुपर्छ ।’

मेयरका उम्मेदवार व्यञ्जनकारले पनि ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता बढाइदिने आफ्नो नीति रहेको बताए । रातोपाटीसँगको कुराकानीमा उनले चुनाव जितेमा महानगरपालिकाको तर्फबाट सरकारले दिँदै आएको ज्येष्ठ नागरिक भत्तामा थप रकम उपलब्ध गराउने उल्लेख गरे ।

उनले भने, ‘सरकारले २०७५ सालमा वृद्ध भत्ता नबढाउँदा महानगरपालिकालाई वृद्ध भत्ता बढाउन दबाव दिएका थियौँ । अब हामी फेरि बढाउँछौँ । ज्येष्ठ नागरिकलाई सुविधा दिने सवालमा नगरपालिकाको तर्फबाट पहल गर्छौँ । वृद्ध भत्ता बढाउन नहुने भनेको छ तर हामी अर्कै तरिकाले बढाउछौं ।’

पदमावती महाविहारको प्राङ्गणमा गएर घरदैलो कार्यक्रम सक्नुअघि उनले ललितपुरमा ४ पटक मेयर भई २१ वर्षसम्म नगरपालिका चलाएका वुद्धिराज बज्राचार्यसँग आर्शिवाद मागे । साथै उपमेयरका उम्मेदवार, वडाध्यक्षका उम्मेदवारले पनि उनीसँग आर्शिवाद मागे । बज्राचार्यले सबैलाई चुनावमा विजयी हुनका लागि टाउको हात राखेर आर्शिवाद दिए ।

हरिकृष्ण व्यञ्जनकार भन्छन् : खानेपानी सुविधा र फोहोर व्यवस्थापनलाई मुख्य ध्यान दिन्छु

चुनावी घरदैलोमा रहेका व्यञ्जनकारले आफूले चुनाव जितेमा खानेपानी, सरसफाई र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिने बताए । भोट माग्ने क्रममा जनताले सुशासन, भ्रष्टाचारबिहीन काम, खानेपानी, सरसफाई, स्वास्थ्य, शिक्षाको माग गरिरहेको उनको भनाइ छ ।  

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिला खानेपानीको सहज वितरणको काम गर्नेछु । ललितपुर महानगरका सम्पूर्ण जनतालाई खानेपानीको सुविधा दिन पहिलो निर्णय गर्नेछौँ । दोश्रो, फोहोरमैला सरसफाइलाई ध्यान दिनेछु । तेश्रो, भौतिक पूर्वाधार निर्माण, बाटोघाटो निर्माणको कामलाई प्राथमिकता दिनेछु । स्वास्थ्य शिक्षा र पर्यटन विकासका लागि काम गर्छु । पर्यटन प्रवर्द्धनका लागि संस्कृति संरक्षणका लागि सम्पदा र संस्कृति संरक्षणको काम गर्नेछु  । जनताका यी माग पूरा गर्न सकिन्छ ।’ उनले विभिन्न प्रविधिहरू प्रयोग गर्दै जनताको जीवनस्तर सहज बनाउने काम गर्ने दाबी गरे ।

यस्तो छ व्यञ्जनकारले देखेका चुनाव जित्ने आधार :

अघिल्लो पटक झिनो मतले चुनाव हारेका उनी ५ वर्ष ललितपुर महानगर चलाएका चिरिबाबु महर्जनसँग जनता खुसी नभएको बताउँछन् । साथै एमालेको संगठन विस्तार भएको र पार्टी अध्यक्ष केपी ओलीको विचारबाट पनि जनता प्रभावित भएका विषयलाई उनले चुनाव जित्ने आधार मानेका छन् ।

उनले भने, ‘मैले चुनाव जित्ने पहिलो आधार हाम्रो संगठन बिस्तार भएको छ । दोश्रो आधार जनताले को राम्रोसँग काम गर्ने, को काम नगर्ने व्यक्ति हो भन्नेबारेमा राम्रोसँग चिनेका छन् । तेश्रो, हामीप्रति जनताको आकर्षण धेरै छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीप्रति धेरै आकर्षण धेरै छ । हामीप्रति जनताको धेरै आकर्षण बढिरहेको छ । हामीले समृद्ध नेपालको आवाज उठाइरहेका छौँ । अहिले हामीले समृद्ध ललितपुर महानगरको आवाज उठाइरहेका छौँ ।’

जनताको अपेक्षा : खानेपानी र फोहोरमैला व्यवस्थापन

ललितपुर महानगरपालिका वडा नम्बर २० मा किराना पसल सञ्चालन गर्दै आएकी सुनिता श्रेष्ठले पसल व्यवसाय गर्नेहरुका लागि फोहोरमैलाका कारण समस्या भएकाले फोहोर मैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् । पाटन मंगलबजारका बासिन्दा गोपाल बज्रार्चायले नियमित खानेपानी दिन सक्नुपर्ने, सडकका खाल्टाखुल्टी पुर्नुपर्ने र यस्ता काम गर्नेलाई मात्र भोट दिने बताए ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी रहेका ज्येष्ठ नागरिक टेकबहादुर रायमाझीले चुनावको बेलामा करोडौं रुपैयाँ खर्च गर्ने तर अरु बेला जनताको वास्ता नगर्ने नेताहरुको बानी ठीक नभएको बताए । उनले अघिपछि पनि राम्रो काम गर्ने नेतालाई तपाई चुनावमा उठिदिनुप-यो भनेर जनताले  नेताहरुलाई हात जोड्दै खोज्नुपर्ने अवस्था हुन नसकेको बताए ।

उनले भने, ‘नेताहरु कस्तो भए भने कुुर्सीमा बसेर खाने काममात्र गरे । विकासको काम गर्न पक्ष विपक्ष जे भए पनि मिलेर काम गरे त हुन्थ्यो नि । विकासको काम भनेको त जनताका लागि हो। कुनै पार्टीका लागि त हैन नि ! तपाईले राम्रो काम गर्नुभयो तर म तपाईको विरोधी हो भने यत्तिकै विरोध गर्न भएन नि । यस्तो नराम्रो प्रवृत्ति आएको छ । कमसे कम नेताहरुले यस्तो प्रवृत्तिलाई त बुझिदिनुपर्ने हो ।’

ललितपुर महानगरमा एमालेका साथै नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा तथा स्वतन्त्र उम्मेदवारले तीव्र गतिमा चुनाव प्रचार प्रसारको काम गरिरहेका छन् । निर्वाचन आयोगले भित्तामा चुनाव प्रचारका सामग्री टाँस गर्न र एउटाभन्दा बढी झण्डा प्रयोग गर्नेबारे आचारसंहिता बनाए पनि एमाले सहितका विभिन्न दलले महानगरका विभिन्न क्षेत्रमा सडक तथा घरका भित्तामा उम्मेदवारको परिचय भएको फ्लेक्स बोर्ड समेत टाँसेका छन् ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप