शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

उम्मेदवारलाई प्रश्न, ‘मुसहर बस्तीमा कहिले छाइएला छानो ?’

चुनावको मुखमा गाउँ छाड्नु पर्ने बाध्यता
विहीबार, २२ बैशाख २०७९, ०७ : १२
विहीबार, २२ बैशाख २०७९

स्थानीय चुनावले सहर बजारदेखि गाउँघरसम्म उम्मेदवारहरूको ताँती लागेको छ । ओझेलमा रहेको जनकपुरधाम–२०, बसहियाको मुसहर बस्तीमा पनि अहिले भोट माग्ने नेताहरूको लर्को लागिरहेको छ । स्थानीय सुबोध माझीका अनुसार घर मूली नभेटिए नेताहरूले बालबालिकाको हातमा पम्पलेटहरु थमाएर जाने गरेका छन् । मुसहर बालबालिकाले ती पोस्टर, पम्पलेट पढ्दैनन् । बरु झण्डासँगै पोस्टर, पम्पलेट टाँगेर बस्ती झकिझकाउ पारेका छन् । 

सुबोध माझी विगत सम्झिन्छन्, ‘यस अघिको चुनावको बेला पनि नेताहरूले झुपडी हटाएर घर बनाइदिन्छु भने । तर प्रदेश सरकारले बनाउन लागेको घर पनि अधुरै रहँदा घरमा रहन बस्न नै कठिन छ ।’ वर्षात याम आउनै लागिसक्यो तर मुसहर बस्तीको घरमा छाना छैन । काम सुरु भएको तीन वर्ष वित्दा पनि घर निर्माण अधुरो छ । छडसहितको भित्ता उठाएकै ठाउँमा झुपडी बनाएर जेनतेन बसोबास गरेका छन् । उनले अगाडि भने, ‘अहिले फेरि नेताहरूको लर्को लागेको छ । घर बनाउने आश्वासन पनि छ । तर हामीलाई झुक्याएर ठग्लान् कि भन्ने आशंका कायमै छ ।’

विगतको चुनावमा घर बनाइदिने, सेवा सुविधा दिने, बाटोघाटो बनाईदिने भनेर मुसहर बस्तीका वासीहरूलाई निर्वाचित जनप्रतिनिधिहरूले आश्वासन दिएका थिए तर अर्को चुनाव आउँदा पनि पुरा वाचा पुरा गरेनन् । स्थानीय सेवक सदा विगतमा नेताहरूले घर घरमा चापाकल, पक्की ढलान सडक बनाइदिने, घर बनाइ दिने आश्वासन दिएको वचन पुरा गर्दिएर विश्वासको वातावरण बनाइ दिए राम्रो हुने बताउँछन् । उनले भने, ‘हाम्रो घर बनाइदिने, बालबालिकालाई शिक्षा दीक्षा, खाद्यान्न तथा रोजगारीको व्यवस्था गरिदिने नेतालाई भोट दिनेछौं ।’

हामी भोट बैंक मात्र हौं र ?

प्रत्येक चुनावमा मुसहर समुदायको बस्ती केवल भोट बैंकको रूपमा मात्र सीमित छ । चुनावको केही दिन मात्रै बाँकी छँदा धनुषाको लक्ष्मिनिया गाउँपालिकाका युवाहरूको एक हुल वैदेशिक रोजगारीमा जाने तर्खरमा छन् । विदेश जाने तर्खरमा रहेका ती युवाहरूलाई स्थानीय तहको चुनावमा कुनै चासो र उत्साह छैन । 

‘ऋणको भारले परिवार च्यापिएको छ, पहिला परिवार हेरौँ कि चुनाव ?’ भारतको पञ्जाब जान तम्सिएका स्थानीय अर्जुन सदा भन्छन्, ‘जति पटक निर्वाचन भएपनि हामी जस्तो परिवारका लागि कुनै परिवर्तन हुनेवाला छैन । परिवारका सदस्यहरूको अनुहारमा मुस्कान ल्याउन विदेशिनु पर्ने बाध्यता छ ।’ 

सदाले अगाडि भने, ‘गाउँघरमा रोजगारी छैन, ऋण तिर्न साहु महाजनको दबाब छ । घर खर्च पनि चलाउने आम्दानी छैन । अहिले कसैले पाँच हजार रुपैयाँ दिन पनि पत्याउँदैनन् । त्यसैले पनि बाध्य भएर देशबाहिर जान लागेको छु । नेताले हाम्रो पेट पाल्ने होइनन् ।’

मुसहर बस्तीका धेरै युवाहरु परिवारको आवश्यकता पूरा गर्न वर्षेनी भारतको पञ्जाब, हरियाणा, मद्रास, दिल्ली लगायतको सहरमा रोजगारीका लागि जाने गर्छन् । सुरेन्द्र सदा पनि पञ्जाब जाने तयारीमा छन् । उनले भने, ‘ज्याला मजदुरी नगरे हातमुख जोड्न समस्या हुन्छ, गाउँ नछाडेर के गर्नु ?’

यता धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पनि चुनावी रौनक देखिएको छ । मुख्यिापट्टी मुसहरनिया–३ स्थित तुलसियाहीका ७० वर्षीय ज्ञानचन्द सदाका अनुसार उनको टोलमा दिनहुँ उम्मेदवारसहित नेताहरूको ओइरो छ । नेताहरूले उनीसँग निकै आश्वस्त पार्दै चुनावी प्रतिवद्धताहरु पनि सुनाउँछन् । तर ती सबै प्रतिवद्धता उनलाई झुठा लाग्छन् । किनभने  सदाको ३ धुर ऐलानी जग्गामा दुई कोठे घर छ । त्यो जग्गाको लालपुर्जा कुनै नेताले नबनाइ दिंदा उनी रुष्ट छन् ।

मुसहर बस्तीमा खानेपानी, नाला र सडक बनाउनु पर्ने वर्षौं देखिको माग यथावतै छ । सोही आशमा मतदान पनि गर्छौँ तर चुनाव सकिए लगत्तै सबै वाचाहरु झुठा साबित हुने गरेको सदाले गुनासो गरे । निर्वाचित भएपछि फोन पनि उठाउन छाड्छन् भन्दै उनले नेतालाई कसरी भोट हाल्ने ? भन्दै प्रतिप्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप