बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको सहमति किन उल्टियो पालुङटारमा ?

शुक्रबार, २३ वैशाख २०७९, १८ : ४१
शुक्रबार, २३ वैशाख २०७९

गोरखामा वैशाख १२ गते सत्ता गठबन्धनसहितका सबै पार्टीले आ–आफ्नो ढङ्गले स्थानीय तहका लागि उम्मेदवारी दर्ता गराएका थिए । सिट बाँडफाँटमा सहमति नजुटेपछि गठबन्धनको जिल्ला संयन्त्रले मैत्रीपूर्ण प्रतिस्पर्धाको नीति लिएको थियो । सोही अनुसार गठबन्धन सम्बद्ध काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिए ।

यसका बाबजुद जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका तर्फबाट वैशाख १६ गतेसम्म पालुङटार नगरपालिकामा काँग्रेससँग तालमेलका लागि जोडबल भयो । यसका लागि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र भट्टराईबीच छलफल भयो । उनीहरुबीच पालुङटार र गोरखा नगरपालिकामा काँग्रेस र जसपाबीच तालमेल गर्ने सहमति भयो ।

सहमति अनुसार बाबुरामको गृहनगर पालुङटारमा जसपाले मेयर र काँग्रेसले उपमेयर लिने गरी सहमति थियो । यस्तै, गोरखा नगरपालिकामा काँग्रेसले मेयर र जसपाले उपमेयर पाउने गरी चुनावी मैदानमा उत्रिने सहमति थियो । काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेका अनुसार त्यसपछि देउवा र जसपाका वरिष्ठ नेता अशोक राईबाट काँग्रेसलाई पालुङटार र जसपालाई गोरखाको मेयरको उम्मेदवारी फिर्ता लिन निर्देशन आयो ।

केन्द्रको निर्देशन कार्यान्वयन गर्न काँग्रेस र जसपाको जिल्ला नेतृत्व तयार भयो । त्यही अनुसार वैशाख १६ गते जसपाले गोरखा नगरपालिको मेयरको उम्मेदवारी फिर्ता पनि लियो । यता, पालुङटारमा काँग्रेसका मेयरको उम्मेदवार दीपकबाबु कँडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरे । कँडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि सभापति देउवाले उम्मेदवारी खारेजीको पत्र प्रमुख निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए ।

सभापति देउवाले पठाएको पत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) बमोजिम उम्मेदवारी फिर्ता लिएको र कँडेलको नाम उम्मेदवारी सूचीबाट हटाउन अनुरोध गरेको व्यहोरा उल्लेख थियो । तर वैशाख १६ गते अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय भए पनि देउवाको पत्र ५ः५० मामात्र इमेलमार्फत निर्वाचन अधिकृतको कार्यालयमा पुग्यो । अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेकाले उम्मेदवारी फिर्ता भएन । तर सभापति देउवाले सहमति कार्यान्वयनका लागि पालुङटारमा काँग्रेसका मेयरका उम्मेदवार दीपकबाबु कँडेललाई काठमाडौं बोलाए ।

जिल्ला सभापति न्यौपानेका अनुसार कँडेललाई बोलाएर पार्टीको निर्णयअनुसार उम्मेदवारी निष्क्रिय पार्न देउवाले सुझाएका थिए । सोही अनुसार कँडेलले पार्टीको निर्णय मानेर जाने भन्दै उम्मेदवारी निष्क्रिय पारेको घोषणा विज्ञप्तिमार्फत गरेका थिए । तर जसपाले गोरखा नगरपालिकाको मेयर–उपमेयरमा वैशाख १७ गते माओवादी केन्द्रसँग तालमेल गर्‍यो ।

जसपाले आफूसँगको सहमति तोडेको भन्दै काँग्रेस पालुङटारमा तालमेल गर्न तयार भएन । ‘केन्द्रले पालुङटार र गोरखा नगरपालिकामा तालमेल गर भनेको हो । तर जसपाले गोरखा नगरपालिकामा माओवादीसँग तालमेल गरेपछि हामीसँग पालुङटारमा तालमेलको वातावरण बिग्रियो,’ न्यौपानेले भने । जसपाको उपमेयर उम्मेदवारले माओवादीसँग तालमेल गरेर संयुक्त ब्यानरसहित प्रचार थालिसकेपछि थप समस्या भएको न्यौपानेको भनाइ छ । उक्त समस्या समाधानका लागि जसपाबाट पहलकदमी नभएको न्यौपानेको दाबी छ ।

उनका अनुसार जसपाका कारण पालुङटार र गोरखा नगरपालिकाका वडासम्मै तालमेल गर्ने तयारी बिचमै तुहिएको हो । तर जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले काँग्रेसले प्रचारमा तीव्रता र वडामा अस्वाभाविक व्यवहार प्रदर्शन गर्दा तालमेल हुन नसकेको बताए ।

‘उहाँहरूले प्रचारलाई निरन्तरता दिनुभयो,’ भट्टले भने, ‘तल्लो तहमा काँग्रेसका कार्यकर्तालाई उत्तेजित बनाउनु भयो । त्यसले परिस्थिति असहज बन्यो ।’

कँडेलले उम्मेदवारी निष्क्रिय नगरेपछि गोरखा नगरपालिकामा माओवादीसँगको तालमेल भङ्ग गर्न नसकिएको उनको जिकिर छ । भट्टका अनुसार काँग्रेसका उम्मेदवार कँडेलले उम्मेदवारी फिर्ता लिएपछि गोरखा नगरपालिकामा काँग्रेसका मेयरको उम्मेदवारलाई सहयोग गर्न जसपालाई समस्या थिएन ।

पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि कँडेलले मिडियामा उम्मेदवारी फिर्ता नहुने गरी गतिविधि अगाडि बढाएको उनको भनाइ छ । भट्टले भने, ‘पार्टीको निर्णय मान्छु भन्नुभयो तर उम्मेदवारी फिर्ता लिएको छैन पनि भन्नुभयो ।’

कँडेलले जसपालाई मत दिनेभन्दा पनि भौतिक आक्रमण हुने परिस्थिति निर्माण गर्दा केन्द्रका सहमति कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ  । ‘बाबुरामका अगाडि शेरबहादुर लम्पसार परेर सौदाबाजी गर्नुभयो । तर यता जसपालाई मत दिनेभन्दा पनि भौतिक आक्रमण हुने गरी कार्यकर्ता उचाल्ने काम भएपछि असहज भयो,’ भट्टले रातोपाटीसँग भने ।

पालुङटार र गोरखा नगरपालिकामा वडासम्मै तालमेल गरेर जाने कुरामा काँग्रेसले जसपाको अस्तित्व स्वीकार नगरेको पनि उनको आरोप छ । उनले भने, ‘काँग्रेसका साथीहरुले अस्वाभाविक माग राख्नुभयो । त्यसैले केन्द्रका भएको सहमति कार्यान्वयन गर्न सकिएन । १० वटा वडामा उहाँहरूले २ वटा वडा अध्यक्षमात्र छोड्न सकिने अडान राख्नुभयो ।’

यस्तो अवस्थामा तालमेलले अर्थ नराख्ने भएपछि आफूहरूले मित्रवत् प्रतिस्पर्धाको बाटो रोजेको भट्टको भनाइ छ । उनका अनुसार अब पालुङटारमा काँग्रेस, माओवादी, जसपा र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, गोरखा नगरपालिकामा काँग्रेस, माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । काँग्रेससँगको तालमेल असफल भएपछि जसपा गोरखा नगरपालिकामा उम्मेदवारविहीन भएको छ ।

काँग्रेसका लागि उम्मेदवारी फिर्ता लिएको जसपाले गोरखमा माओवादीसँग तालमेल गरेको छ । त्यहाँ माओवादीले मेयर र जसपाले उपमेयरमा प्रतिस्पर्धा गर्दै छन् । माओवादी–जसपाको विपक्षमा काँग्रेस र एमालेका उम्मेदवारले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । जसपाले गण्डकी गाउँपालिकामा पनि माओवादीसँग तालमेल गरेको छ । काँग्रेसले भने गोरखाको ११ वटै पालिकामा तालमेल गरेको छैन । यद्यपि वडा तहमा स्थानीय अवस्था अनुसार काँग्रेसले माओवादी, जसपा र एकीकृत समाजवादीसँग तालमेल गरेको सभापति न्यौपानेले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप