शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

शुक्रबार, २३ वैशाख २०७९, १९ : ४९
शुक्रबार, २३ वैशाख २०७९

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका हुन् । 

सो अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपेली पर्यटक आएका हुन् । युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के पास गर्दै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । केही समय यता यहाँ दैनिक ७७  जना विदेशी पर्यटकहरु अन्नपूर्ण पदयात्राका लागि आउने गरेको उनले बताए । 

नेपालमा पहिलो पटक आएको र हिमश्रृङ्खलाहरुको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफुहरु निकै खुसी भएको पर्यटकहरु बताउँछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभइ आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएर बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउनेहरु क्रमशः बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप