शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा फेरि बढ्न सक्छ कोरोना संक्रमण, यी हुन् कारण

शनिबार, २४ वैशाख २०७९, ०९ : ४८
शनिबार, २४ वैशाख २०७९

नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।

नेपालमा पछिल्ला दिनमा दैनिक सरदर १५ जनासम्म संक्रमित पाइएका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढिरहँदा सहरदेखि गाउँसम्म सामूहिक भेटघाट, सभा, सम्मेलन, घरदैलो कार्यक्रम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ३० वटा जिल्लामा संक्रिय संक्रमित शून्य छ । ‘सक्रिय संक्रमित उपत्यकामा बढी देखिन्छ,’ उनी भन्छन्, ‘धेरै जनघनत्व भएका ठाउँमा संक्रमित देखिन्छ ।’ नेपालमा संक्रमण दर निकै कम भए पनि जोखिमको त्रास भने कायम रहेको उनी बताउँछन् ।

उनले भने, ‘छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेको छ । तर नेपालमा अहिले संक्रमण हुने दर कम भए पनि जोखिम उच्च छ ।’

नेपालमा जोखिम बढ्नुका कारण

नेपालमा लामो समयदेखि संक्रमण दर स्थिर भए पनि दैनिक १० देखि १५ जनामा संक्रमण पुष्टि हुने गरेको छ । भारतमा संक्रमण बढ्दै गएको अवस्था एकातिर छ भने भारतमै रोजगारीका लागि रहेका नेपालीहरु स्थानीय तह निर्वाचनमा मतदान गर्न आउनेक्रम बढ्दै जाँदा संक्रमणको जोखिम हुने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।

नेपालमा चुनावको प्रचारप्रसार र आमसभा लगायतका गतिविधिमा जनस्वास्थ्य मापदण्ड पालना नहुँदा पनि संक्रमणको जोखिम बढेको उनले बताए । आम सर्वसाधारणले कोरोना संक्रमण दर कम भएको अवस्थालाई जोखिम नभएको ठानेर चुनावी माहोलमा मास्कको प्रयोगसमेत नगरेको देखिन्छ । जसले गर्दा संक्रमणको जोखिम रहेको उनले बताए ।

‘जहाँ मान्छेको भेला हुन्छ, त्यहाँ संक्रमणको जोखिम हुन्छ,’ उनले भने, ‘कोरोनाविरुद्धको खोप नलगाएको ठाउँमा झन् संक्रमणको जोखिम उच्च हुन्छ ।’

नागरिकलाई जिम्मेवार बन्न आग्रह

स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी जिम्मेवार र समवेदनशील बन्न आग्रह गरेको छ । खोप नलगाएकाहरुलाई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाहरुको हकमा तीन महिना पुगेको खण्डमा बुस्टर डोज लगाउन पनि सहप्रवक्ता डा. अधिकारीले आग्रह गरे । अहिले संक्रमण दर घटेको भन्दै हेलचक्य्राइँ गरेको अवस्थामा आगामी दिन संक्रमण बढेर असहज हुनेतर्फ उनले सचेत तुल्याए ।

स्वास्थ्य मन्त्रालयले निर्वाचन आयोगसँगको समन्वयमा यही वैशाख ३० गते मतदानस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गराउने विषयमा पनि योजना बनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै चुनाव केन्द्रमा जनस्वास्थ्यका नियम पालना गर्न र गराउनका लागि पत्राचार गरिसकिएको बताए । सबै मतदानस्थलमा मास्क, सेनिटाइजर पठाइसकिएको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा पूर्ण रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न र स्थानीय तहका सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन पनि प्रवक्ता शर्माले आग्रह गरे ।

खोप केन्द्र राख्नेबारे अन्योल

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौसल मिश्राले मतदान गर्न जाने मतदातालाई आवश्यकताको आधारमा कोरोना विरुद्धको खोप दिइने बताइन् । १८ वर्षमाथिको उमेर समूहका नागरिक मतदान गर्न जाने भएकाले खोप लगाउन छुटेकालाई लगाइदिने व्यवस्था गरिएको उनले बताइन् । मन्त्रालयले पहिलो, दोस्रो मात्रा खोप लगाउन छुटेका र पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकालाई मतदान स्थल नजिकै बुस्टर डोज लगाउने व्यवस्था गरेको बताइएको छ ।

तर निर्वाचन आयोगले भने यसबारे जानकारी नभएको बताएको छ । कोरोना संक्रमण बढ्न नदिनका लागि कसरी सावधानी अपनाउने भनेर स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भए पनि मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गर्नेबारे छलफल नभएको र हाल यसबारे जानकारी भएको आयोगका प्रवक्ता शर्माले बताए । स्वास्थ्य मन्त्रालयले भने खोप केन्द्र सञ्चालनका लागि आयोगसँग अनुमतिका लागि पत्राचार गरिएको जनाएको छ ।

३३ प्रतिशत नागरिक खोप लगाउन बाँकी

नेपालमा कुल जनसङ्ख्याको ३३ प्रतिशत नागरिक कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन बाँकी छन् । ६७.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ७४.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, १२ वर्षदेखि माथि उमेर समूहका ८४.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कम्तीमा एक मात्रा खोप ९५.६ प्रतिशतले लगाइसकेका छन् । त्यस्तै, बुस्टर डोज खोप ३५ लाख ५९ हजार ३७२ जनाले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप