शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरीजलका मतदाता : यहीँबाट सहरमा पानी लान्छन्, हामीले चाहिँ जारको किनेर खानुपर्ने ? (भिडियोसहित)

यस्तो छ काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा चुनावी सरगर्मी
शनिबार, २४ वैशाख २०७९, १० : ३१
शनिबार, २४ वैशाख २०७९

कृष्णबहादुर खड्का : धारामा पानी आउँदैन, हावामात्र आउँछ, पैसा तिरेको तिर्‍यै गर्नुपर्छ ।  
रामप्रसाद दंगाल : मेलम्ची आउँछ–आउँछ भने, यहीँबाट काठमाडौंमा पानी लगे तर यहाँ दिएको छैन । 
खड्का : पानीको स्रोत यहीँ भएपनि हाम्रो लागि छोडिएको छैन । पाइप हालेर सिधै काठमाडौं लगेको छ । यहाँ खै त, हप्ताको दुई दिनमात्र पानी आउँछ ।
दंगाल : हाम्रै जग्गा काटेर पाइप हालेर पानी लगेको छ, हामीलाई नै पानी दिएको छैन् ।
खड्का : धारामा हावा मात्र आउँछ पैसामात्र तिर्नु परेको छ । हाम्रै जग्गा चिरेर पानी लिएर गए हामीलाई पानी छैन । 
दंगाल : यहाँकै पानी काठमाडौं जान्छ तर हामीले खान पाएका छैनौँ के भन्ने ? 
खड्का : हप्ता दिनमा पनि डेढ, दुई घण्टा मात्र पानी छोड्छ । ढलको पनि उस्तै समस्या छ । 

शुक्रबार दिउँसो काठमाडौंको नयाँपाटी सुन्दरीजलस्थित एक चिया पसलमा त्यहीँका स्थानीयबासी कृष्णबहादुर खड्का र रामप्रसाद दंगालले सो क्षेत्रको समस्या के छ भन्ने प्रश्नका क्रममा भनेका कुरा हुन् यी । सुन्दरीजल काठमाडौं गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्दछ ।

काठमाडौं सहरमा आइपुग्ने पानीको एउटा महत्त्वपूर्ण स्रोत मध्ये बागमतीको मुहानबाट वितरण हुने सुन्दरीजलको पानी हो । सुन्दरीजलमा बागमती र श्यालमती खोलाको पानीको स्रोत मात्र छैन अहिले त मेलम्चीपनि थपिएको छ । दैनिक ३५ करोड लिटर हाराहारी मेलम्चीको पानी संकलन तथा प्रशोधन हुने पानीको भण्डार पनि सुन्दरीजलमै छ । तर त्यहाँका बासिन्दा नै पानीको सुविधा नपाएको गुनासो गरिरहेका छन् ।

उनीहरुले यो गुनासो हामीलाई मात्र नभई स्थानीय तह चुनावका भोट माग्न घर घरमा आउने उम्मेदवारलाई पनि सुनाएका छन् । नेताहरुले यसो गर्छु र उसो गर्छु भनेर भोट माग्ने गरेपनि स्थानीयको समस्या समाधान गर्नतिर नलागेको उनीहरुको गुनासो छ ।

मेलम्ची खानेपानी आयोजनाले सडक विस्तार गर्ने भनेपनि काम सम्पन्न गरिनसकेको उनीहरुले बताए । बस्तीभित्रका भित्री सडकहरुको अवस्थापनि फेरिन नसकेको तर कतैकतै भने नगरपालिकाले पैसा दिएर भित्री केही सडक मर्मत तथा ढल निकासको काम भएको उनीहरुको भनाइ छ ।

यस्तै फोहोर मैला व्यवस्थापन तथा ढल निकास व्यवस्थापन पनि सो क्षेत्रको समस्या रहेको स्थानीयको भनाइ छ । खड्काले भने, ‘ढल निकासको पनि समस्या छ । समयमा फोहोर उठाउने गरेका छैनन् । पानीपनि यताबाट शहरमा लाने र हामीलाई बोतलको पानी खाउ भन्न लागिसके ।

सुन्दरीजलमै पानी उद्योग खोल्न दिएको तर स्थानीयले जारको पानी खानुपर्ने अवस्था आउन लागेको उनीहरुको गुनासो थियो । सातामा दिन बिराएर पानी आएपनि पहिले पहिले प्रशोधन गरेर पठाउने गरेकोमा अहिले विना प्रशोधन पानी पठाउँदा लेदो आउने गरेको उनीहरुको भनाइ छ ।

सुन्दरीजलकै स्थानीय लक्ष्मी चालिसेले पानीको मुहानमै बसेर पनि पानीको समस्या भोगेको बताइन् ।

उनले भनिन्, ‘पानीको मुलमा बसेरपनि समस्या भोगेका छौँ । बाटो छेउका घरहरुमा पानीको लाइन छ तर यहाँको भित्री बस्तीमा भने पानीको अभाव रहेको छ । यस्तो मुहानमा बसेरपनि हामीलाई पानीको दुःख छ । घर घरमा पानीको धारा होस भन्ने हाम्रो चाहना रहेको छ ।

अब चुनाव जितेर आउनेहरुलाई खानेपानी र ढल निकासको व्यवस्था गर्न उनको आग्रह छ । बस्ती बढ्दै गएकोले ढलको व्यवस्था भयो भने सहज हुन्थ्यो भन्ने अपेक्षा रहेको उनले बताइन् ।

उनले भनिन्, ‘भोट माग्न आएका दुई तीन समूहलाई, पुराना वडाध्यक्षलाई पनि पनि भनिरहेको छु, हाम्रो यस्तो यस्तो समस्या छ, जितेर आएपछि त्यसलाई सल्टाइदिनुपर्छ भनेर कुराहरु राखेको छु ।

काठमाडौंबासीका लागि बागमती खोलाको पानी वितरण गर्ने गरिएको छ भने सुन्दरीजल, नयाँपाटीका स्थानीयलाई भने श्यालमती खोलाको पानी वितरण गर्ने गरिएको छ । पानी वितरणको पुरानो प्रणाली, पानी प्रशोधन नहुने, पाइप टुटफुटका कारण चुहावट लगाएका समस्या रहेको स्थानीयको भनाइ छ । सुन्दरीजलमा मेलम्चीको पानी आएपनि त्यसको स्वाद स्थानीयले पाएका छैनन् ।

चालिसेले भनिन्, ‘मान्छे भन्नलाई त आहा सुन्दरीजल भन्छन्, तर हामीलाई चाँही पानीको समस्या नै छ । मेलम्चीको पानी पनि हामीले पाएका छैनौँ । सुन्दरीजलकै पानीपनि भित्री बस्तिहरुमा पुगेको छैन् । उनले पनि धारामा पानी आउँदा पनि लेदो सहितको पानी आउने गरेको गुनासो गरिन् ।

नियमित पानी नआउँदा ड्रममा पानी भरेर राख्नुपर्ने बाध्यता रहेको सुन्दरीजल नयाँपाटीकी अस्मिता तामाङले बताइन् । बागमतीको पानी काठमाडौं शहरमा जाने र स्थानीयलाई श्यालमती खोलाको पानी विना प्रशोधन धारामा पठाउने गरेको उनीहरुको गुनासो छ ।

खानेपानीका साथै ढल निकासको पनि समस्या भएको उनीहरुको गुनासो छ । बस्ति बढ्दै गएकोले ढल निकासको समस्या रहेको र सडक बिस्तार गर्ने क्रममा ढल राख्न माग गरेपनि सुनुवाई नभएको स्थानीय केशव आर्चायले बताए । ढलको व्यवस्था नहुँदा स्थानीय घर घरमा सेफ्टी ट्याङ्कीको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अस्ति सडक पिच गर्दा ढलको पनि व्यवस्था गरौँ, पछि फेरि बाटो भत्काउनुपर्छ अहिले नै गरौं भनेँ तर पिच गरे । पिच गरेको पनि आँखामा छारो हालेको जस्तो छ । उनले २०३५ सालमा बनाएको बाटोमा अझै सुधार हुन नसकेको गुनासो गरे ।

एमालेबाट प्रमुखका उम्मेदवार विष्ट भन्छन्, ‘पानी र ढल निकासलाई मुख्य प्राथमिकता दिन्छु’

खानेपानीको स्रोतमा बसेर पनि पानी खान नपाएको अवस्था भएकोले त्यसलाई आफू निर्वाचित भएमा पहिलो प्राथमिकता दिने एमालेबाट गोकर्णेश्वर नगरपालिका प्रमुखका उम्मेदवार उद्धव विष्टले रातोपाटीलाई बताए ।

उनले भने, ‘खानेपानीका लागि जुनसुकै मूल्य चुकाएर भएपनि सबै घरमा पानी आउने धाराको व्यवस्था गर्नेछौँ । माथिका अरु स्रोतहरुलाई समेत मिलाएर मेलम्ची तथा सुन्दरीजलको पानीको धारा छुटेको ठाउँमा पनि व्यवस्था गर्नेछौँ । धारा छुटेको ठाउँमा मेलम्ची खानेपानी आयोजना र केयूकेयलसँग समन्वय गरेर यहाँका बासिन्दाले नियमति रुपमा दैनिक पानी पाउने व्यवस्था गर्नेछु ।

उनले थोरै बस्ती भएका बेला ढल हालेको र अहिले बस्ती बढेका कारण ओभर फ्लो भएकोले त्यसलाई परिवर्तन गरेर दीर्घकालीन रुपमा हुनेगरी नयाँ प्रणालीको विकास गर्ने विष्टले बताए । उनले भने–‘अब २५३० बर्षसम्म परिवर्तन गर्न नपर्नेगरी ढल प्रणालीको विकास गर्नेछौँ ।

काठमाडौंलाई मेलम्ची आएकोले सुन्दरीजलको सबै पानी गोकर्णेश्वर बासीलाई दिन्छौँ : काँग्रेसका उम्मेदवार रिसाल

गोकर्णेश्वर नगरपालिका प्रमुखका लागि काँग्रेसका उम्मेदवार दीपक कुमार रिसालले सुन्दरीजलबाट काठमाडौंमा वितरण गरिएको पानी स्थानीयलाई २४ सै घण्टा वितरण गरिने बताए । आठदश करोडको योजनामा बालुवा भन्ने ठाउँ माथिको क्षेत्रको लागि पानी पुगिरहेको र गोकर्णेश्वरमा अन्य क्षेत्रमा केही समस्या रहेको बताए ।

उनले भने–‘अब हामी केयुकेयलाई के भन्छौँ भने, मेलम्चीको पानी महाँकाल वितरण केन्द्रबाट काठमाडौबासीलाई वितरण गर्नुस्, अब सुन्दरीजलको पानी यहाँका जनताका लागि दिनुस् भनेर डेलिगेसन पनि गरेका छौँ । त्यो काम अब हुन्छ । सुन्दरीजलको पानी गोकर्णेश्वरको ८ वटा वडालाई छोएर महानगरपालिकामा गएको छ । हाम्रो क्षेत्रको पानीमा हाम्रो अधिकार भनेको कुरालाई केयूकेयलले पनि हुन्छ भनेको छ ।

रिसालले वडा नंबर १ देखि ४ सम्म खानेपानीको ठूलो समस्या नभएपनि जोरपाटीको वडा नंबर ५ देखि ९ सम्म विकराल समस्या रहेको बताए । ती क्षेत्रमा पानी अभाव भएपछि दुई तीन करोड रुपैयाँका डिप बोरिङ आयोजना समेत चलाइएको उनले बताए । उनले मेलम्ची आइसकेकोले स्थानीय पानी स्थानीय स्तरमै वितरण गर्ने उनले बताए ।

उनले ढल निकास व्यवस्थापनका लागि नयाँ घर बनाउँदा अनिवार्य सेफ्टी ट्याङ्की बनाउन लगाउने अन्यथा नक्सा पास नगर्ने व्यवस्था गर्ने बताए । सुन्दरीजल, बालुवा, नयाँपाटी लगायत नयाँ बस्ती बढिरहेको क्षेत्रमा सेफ्टी ट्याङ्की अनिवार्य गर्ने बताए । फेरी नयाँ ढल प्रणाली बनाएर बागमतीमा मिसाउने हो भने त्यसले प्रदूषण बढाउने भएको सेफ्टी ट्याङ्की भरपर्दो उपाय भएको उल्लेख गरे । उनले जग्गा प्लटिङ रोक्न कसैले तरकारी खेतीका लागि जग्गा भाडामा दिन्छ भने त्यसका लागि कर नलिने बताए ।

कुन दलबाट को–को छन् गोकर्णेश्वरमा उम्मेदवार ?

यो नगरपालिकामा नगर प्रमुखका लागि १० जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उद्धव विष्ट, काँग्रेसबाट दिपक कुमार रिसाल, नेकपा एकीकृत समाजवादीबाट गोपाल प्रसाद बराल, राप्रपाबाट कुमार घिमिरे, मंगल नेशनल अर्गनाइजेशनबाट बुद्धिमान थिङ नगरप्रमुखमा उठेका छन् । यस्तै आमुल परिवर्तन मसिहा पार्टीबाट ओम कुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण दुवाल, स्वतन्त्रबाट कुल प्रसाद गौतम, विनय सिंखडा, र श्रीकृष्ण बरालले नगर प्रमुखका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । एमालेबाट सान्नानी लामा, काँग्रेसबाट शान्ति नेपाल, माओवादी केन्द्रबाट पेमा छिरि शेर्पा, राप्रपाबाट शर्मिला थापा, आमुल परिवर्तन मसिहा पार्टीबाट  मुरली गिरीको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुखका लागि लक्ष्मी पुडासैनी लामिछाने स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

यहाँ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्र चुनावी तालमेल गरेका छन् । समाजवादीको तर्फबाट मेयर र माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार उठाइएको छ ।

दलहरुले गोकर्णेश्वरमा चुनाव प्रचारका लागि घरदैलो कार्यक्रमलाई अन्तिमतिर पु-याएका छन् । एमालेले तारेभिर, ओख्रेनी, बालुवा लगायतका क्षेत्रमा घरदैलो गरिसकेको छ भने अब जोरपाटी नयाँ बस्ती लगायतका क्षेत्रमा घरदैलो गर्न बाँकी छ । अब ३ वटा वडामा मात्र घरदैलो गर्न बाँकी रहेको एमाले मेयरमा उम्मेदवार विष्टले बताए ।

यता काँग्रेसले पनि घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु-याएको छ । शुक्रबार काँग्रेसले सुन्दरीजल माथिको ओख्रेनी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । अब केही वडामा मात्र घरदैलो गर्न बाँकी रहेको काँग्रेसले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका नेता सन्तोष चालिसे यो नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । अहिलेको चुनावमा भने काँग्रेस, एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी २ दलको गठबन्धन गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप