बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको लाइनले क्रान्ति गर्दैन :  धर्मेन्द्र बास्तोला

‘एकीकृत जनक्रान्तिको बहसलाई ड्रपआउट गर्‍यौँ’
शनिबार, २४ वैशाख २०७९, १८ : ३४
शनिबार, २४ वैशाख २०७९

तत्कालीन माओवादीले जनवादी क्रान्ति गर्न नसेको आरोप लगाउँदै मोहन वैद्यले नेकपा–माओवादी पुनर्गठन गरे । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग छुट्टिएको दुई वर्ष बित्न नपाउँदै नेत्रविक्रम चन्द‘विप्लव’ले वैद्यबाट क्रान्ति नहुने भन्दै नेकपा माओवादी पुनर्गठन गरे। विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेको आठ वर्षपछि त्यही पार्टीमा रहेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पक्षले नेकपा बहुमत गठन गरेका छन्।

विप्लव सैद्धान्तिक रूपमा सारसंग्रहवादी, संशोधनवादी र अराजनीतिक खालको एकीकृत जनक्रान्तिलाई लिएर हिँड्न खोजेको भन्दै उनको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति नहुने बास्तोलाको आरोप छ । संयोजक बास्तोलासँग नेकपा बहुमत पार्टी  विभाजन र पुनर्गठनका विभिन्न पक्षमा रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अशंः

विप्लव नेतृत्वको नेकपा फुटाएर पुनर्गठन गर्नुपर्ने अवस्था किन आयो?

हामीले विप्लवलाई पार्टी महासचिवबाट हटाएर नेपाल कम्युनिस्ट पार्टी बहुमत बनाएका छौँ । विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति गर्न खोजेका थियौ तर उहाँको नेतृत्वमा टिम बन्न सकेन। राजनीतिक वैचारिक रूपमा स्पष्ट भएन । सैद्धान्तिक रूपमा सारसंग्रहवादी देखियो । विप्लवमा व्यक्तिवाद पनि उत्तिकै देखियो। त्यसले पार्टी संगठन फस्टाउने भन्दा पनि झन् खुम्चिँदै गयो।

अन्त्यमा स्थानीय चुनावलाई कार्यनीतिका नाममा सैद्धान्तिक रूपमा गल्ती हुन्छ भन्ने थियो। तर उहाँहरूले उपयोग गर्ने नीति अख्तियार ल्याउनुभयो । पछि त्यो दुई लाइनको रूपमा विकास भयो जसमा संशोधनवादी लाइन लिने की क्रान्तिकारी लाइन भन्ने स्थिति आयो। अन्तिममा उहाँ(विप्लव) संशोधनवादी लाइनतिरै जाने देखियो । त्यसैले अब उहाँको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा पुग्न सम्भव छैन भन्ने भयो । त्यसपछि हामीले पार्टी पुनर्गठन गरेर जानु पर्ने अवस्था आयो।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले आफूहरुले कारबाही गरेकाले बहुमतबाट हटाउने र  पार्टी पुनर्गठन गर्ने कुरा हास्यास्पद हो भनेर टिप्पणी गरेका छन् नि ।

हामीसँग बहुमत भएकाले कारबाही गरेका हौँ । अल्पमतले कारबाही गर्ने कुरा नै हुँदैन। हामीले लिएको लाइन नै पार्टीको आधिकारिक लाइन हो । हामीले प्रतिपादन गरेको लाइन अहिले पार्टीले अख्तियार गरेको छ ।

यसअघि पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य सहित जिल्ला तहका नेताले चुनावमा भाग नलिने निर्णय भयो। एमसीसी विरोधी, राष्ट्रवादी र क्रान्तिकारी शक्ति छन् भने त्यस्तालाई सहयोग गर्न सकिन्छ भन्ने भयो । अर्को कुरा यदि हाम्रो पार्टीबाट कुनै नेता चुनाव लड्न जाने भएमा स्वतन्त्र भएर लड्न जाने भन्ने निर्णय भएको थियो । तर त्यस निर्णयलाई उहाँहरूले उल्लङ्घन गर्नुभयो।

 विप्लवजीहरू खुलेरै चुनावमा जान खोज्नुभयो। उहाँहरू चुनावमा जाने पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र चिन्ने भन्नेतिर लाग्नुभयो । त्यसो भएपछि हामीले क्रान्तिकारी विचारलाई अघि बढाउन थाल्यौ र दुई लाइन सङ्घर्ष हुन थालेपछि पार्टीको बहुमत हामीसँग भयो ।  त्यसैले उहाँहरूले जुन टिप्पणी गर्नु भएको छ त्यसको कुनै अर्थ छैन। 

तपाईंहरू विप्लवसहित संयुक्त पार्टी हुँदाका ११ जना मात्रै केन्द्रीय सदस्य हुनुहुन्छ भन्ने छ । अल्पमतमा भएकाहरूले कसरी बहुमत भन्न मिल्छ? यो त विप्लवबाट चोइटिएको भएन र?

कति जना कसको पक्षमा छन् भन्ने संसदीय गणना हुने कुरा भएन । कम्युनिस्ट पार्टीमा मतको गणना भन्दा विचार र लाइनको महत्त्व हुन्छ। त्यहीँ पनि हामी सङ्ख्यागत रूपमा बहुमत छौँ । अर्को कुरा क्रान्तिकारी नेता कार्यकर्ताको मत हामीसँगै बढी छ। त्यो मत हामीसँग सुरक्षित छ ।

विप्लव समूहले यसअघि सारेका नीति, कार्यक्रम र विचारलाई लिएर जानुहुन्छ कि नयाँ बनाएर जानुहुन्छ?

एकीकृत जनक्रान्तिको कुरा एउटा सैद्धान्तिक बहस र छलफल गर्‍यौँ । त्यसको राजनीतिक र सैद्धान्तिक विषयका विभिन्न पक्ष र पाटाका पक्षमा छलफल गरेर ठिकै दिशातिर लग्न खोजेका पनि थियौँ । विप्लवजीको सोचाइ आफैमा सारसंग्रहवादी भएकाले लिएर जान सकिएन । त्यसैले एकीकृत जनक्रान्तिको बहसलाई ड्रपआउट गर्‍यौँ । अब कार्यदिशाका दृष्टिकोणले वैज्ञानिक समाजवादलाई लिएर अघि बढ्छौ ।

हुनत: पहिला पनि वैज्ञानिक समाजवाद नै कार्यदिशा थियो । पछि एकीकृत जनक्रान्ति भन्दै विज्ञापन गर्न खोज्नु भएको थियो विप्लवजीले । त्यसलाई सैद्धान्तिक रंग दिएर मैले र सुदर्शनजीले लेख रचनाहरू मार्फत पुष्टि गर्न खोज्यौँ । त्यसलाई विकास गर्न मेहनत पनि गर्‍यौँ । तर, त्यो सम्भव भएन । अब हाम्रो कार्यदिशा वैज्ञानिक समाजवाद हुनेछ । त्यसलाई पुरा गर्न त्यही प्रकारको कार्यक्रम लिएर जान्छौँ ।

तपाईंहरूले आर्थिक हिनामिना गरेर पार्टीलाई विभाजन गरी दक्षिणपन्थी बाटोमा जानु भएको भन्ने आरोप छ नि?

उहाँहरूले लगाएको आरोप गलत छ । त्यसमा केही अनैतिक प्रकारको आरोप लगाइएको  छ। त्यसको बारेमा धेरै चर्चा गर्न जरुरी छैन। त्यो बारेमा उहाँहरूसँगै कुरा गर्दा ठिक हुन्छ।

तपाईँहरूको विप्लव स्थानीय चुनावबाट एमालेसँग चुनावी तालमेल गरेर संशोधनको बाटोमा जान लागेका हुन भनेर चित्त दुखाइ हो?

त्यस्तो होइन। उहाँहरू कसको नजिक जानुहुन्छ? एमालेमा जानुहुन्छ कि,काँग्रेसमा जानुहुन्छ कि, माओवादीसँग जानुहुन्छ, त्यो हाम्रो सरोकारको विषय भएन। त्यसमा हाम्रो चित्त दुखेको पनि छैन। हाम्रो असहमति सैद्धान्तिक रूपमा उहाँहरूको बुझाई सारसंग्रहवादी भयो, संशोधनवादी लाइनतिर जान थाल्नुभयो। एक प्रकारले उहाँहरूको लाइन अराजनीतिक प्रकारको भयो। उहाँहरूको विसर्जनवादी लाइन देखिएपछि त्यो लाइनले क्रान्ति गर्दैन भनेर हामीले असहमति जनाएका हौँ।

अन्तिममा तपाईंहरू कसरी पार्टीलाई पुनर्गठन गरेर जानुहुन्छ?

पार्टीले गरेका निर्णय पत्रकार सम्मेलन गरेर हामीले जानकारी दिनेछौँ । पार्टीले लिने विचार,कार्यक्रम र कार्यदिशाका विषयमा त्यहीँ प्रष्ट पार्ने छौ। मलाई लाग्छ वैशाख २६ गते पत्रकार सम्मेलन गरेर सबै विस्तृतमा जानकारी दिनेछौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप