शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झलनाथ भर्सेस सुवास : इलाममा कसको प्रभाव कति ?

आइतबार, २५ वैशाख २०७९, १४ : ५०
आइतबार, २५ वैशाख २०७९

पूर्वी पहाडी जिल्ला एमालेको गढ मानिन्छ । त्यसमध्ये इलाम पनि एउटा जिल्ला हो । कृषि उत्पादनको उर्वर, सुन्दर र पर्यटकीय जिल्ला इलाम एमालेको गढ हुनुको इतिहास केलाउँदा झलनाथ खनाल र सुवास नेम्वाङको पनि मुख्य भूमिका रहँदै आएको छ ।

तर, स्थानीय तहको आसन्न निर्वाचन यी दुवै पात्रको समेत अग्निपरीक्षा बनेको छ । किनकि, एमाले विभाजन भएर अहिले यी दुवै नेता फरकफरक दलमा छन् । नेम्वाङ एमालेमै छन् भने खनाल नेकपा एकीकृत समाजवादी पार्टीको सम्मानित नेताका रूपमा छन् ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार चुनाव जित्दै आएका झलनाथ खनाल, क्षेत्र नम्बर २ बाट जित्दै आएका सुवास नेम्वाङकै बलबुतामा विगतमा इलाममा एमालेले आफ्नो प्रभाव बढाएको हो ।

तर, एमाले विभाजन भएपछि दुवै जनालाई अहिले सङ्कट रहेको इलामका स्थानीय बासिन्दा बताउँछन् । यसअघि एमालेसँग कडा प्रतिस्पर्धाका बीच पराजित हुँदै आएको नेपाली काँग्रेस अहिले एमाले विभाजन भएर नेम्वाङ र खनाल अलग अलग पार्टीमा रहेका कारण लाभ लिने दाउमा छ । स्थानीय निर्वाचनमा गठबन्धनको भावना अनुसार अगाडि बढ्ने हो भने काँग्रेसले यस पटक ठूलो लाभ लिने अवस्था पनि देखिन्छ ।

०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेका पालिकाहरुमा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाउ नगरपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका छन् । काँग्रेसले भने माङसेबुङ गाउँपालिका, फकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकामा जितेको थियो ।

अहिले एमालेले जितेका दुई पालिका सूर्योदय नगरपालिका र माइ जोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएको छ । माइ नगरपालिकामा माओवादी केन्द्रले प्रमुख पद पाएको छ । यसअघि ३ पालिका जितेको काँग्रेसका लागि भने अहिले गठबन्धन दलहरुले ७ वटा पालिकामा सघाउँदैछन् । नतिजा सोही अनुसार आयो भने एमालेका लागि अर्थात् सुवास नेम्वाङको लागि ठूलो धक्का हुने निश्चित छ ।

खनालको प्रभाव कति ?

खनालका क्षेत्रका अधिकांश जनप्रतिनिधिले एमाले छोडेरे नेकपा एकीकृत समाजवादी रोजेका छन् । यसरी एमाले छोड्नेमा सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईसहित ५७ जना जनप्रतिनिधि छन् ।

सूर्याेदय नगरपालिकामा उपप्रमुख र एक वडा अध्यक्ष बाहेक एमालेबाट चुनाव जितेका सबैले एकीकृत समाजवादी रोजेका थिए । १४ वटा वडा रहेको सूर्योदयमा एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडा जितेको थियो । जसमध्ये ९ वडाध्यक्षले एकीकृत समाजवादी रोजे । त्यस्तै ४ जना कार्यपालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका थिए ।

त्यस्तै खनालकै निर्वाचन क्षेत्रमा पर्ने माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जनाले एकीकृत समाजवादी रोजेका थिए । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालीन एमालेले अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिधि एमालेमै छन् । सूर्योदय नगरपालिकाको तुलनामा माइ जोगमाइका कमै जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा गएका हुन् ।

त्यस्तै खनालकै निर्वाचन क्षेत्रमा पर्ने सन्दकपुर र रोङ गाउँपालिकाबाट १÷१ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका थिए । यता सुवास नेम्वाङको क्षेत्रमा पर्ने इलाम नगरपालिका, देउमाई नगरपालिकाबाट भने २ जना वडा सदस्य मात्रै समाजवादीमा गएका छन् ।

इलामको क्षेत्र विभाजन यस प्रकार छ

संगठनात्मक हिसावले भने नेकपा एमालेलाई २ नम्बर क्षेत्रमा ठूलो क्षति पुगेको छैन । एमालेका तत्कालीन उपाध्यक्ष भक्त केसी अहिले नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । यस्तै एमालेका तत्कालीन सचिवालय सदस्य आरबी राई, टेकबहादुर राई नेकपा एकीकृत समाजवादीमा गएका छन् । एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेता मणिकुमार लिम्बू फेरि एमालेमै फर्किसकेका छन् । जिल्ला समन्वय समितिको उपप्रमुख चित्रकला बराइली पनि नेकपा एकीकृत समाजवादीमा गएकी छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक रामचन्द्र पराजुलीको भनाइमा पार्टी विभाजन भएपछि दुवै नेतालाई असर गर्ने बताउँछन् । ‘पार्टी विभाजित भएपछि असर त हुन्छ नै, यहाँ त कम्युनिस्ट आन्दोलनमै धक्का खाएको अवस्था हो,’ पराजुलीले भने, ‘दुई जना नेताको कुराभन्दा पनि पार्टी बलियो हुँदा उहाँहरु पनि बलियो हुने हो, कमजोर हुँदा उहाँहरूको पनि अवस्था कमजोर हुन्छ, इलामको स्थिति हेर्दा एमालेले जित्ने यही पालिका हो भन्ने कुनै पनि देखिँदैन ।’

अबको स्थानीय निर्वाचनमा काँग्रेस बलियो हुने अवस्था देखिएको र एमालेलाई सङ्कट आइलागेको उनले बताए । झलनाथ खनाललाई भने गठबन्धनको कारण केही राहत भए पनि सुवास नेम्वाङलाई भने चुनौती बढेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप